काठमाडौं-१ का उम्मेदवारसँग के छन् स्वास्थ्यका एजेण्डा ?


काठमाडौं । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ निकै चर्चामा रहेको छ । उक्त क्षेत्रमा अघिल्लोपटकको चुनावमा दुईपक्षीय प्रतिस्पर्धा भएकोमा यसपटक पाँचपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका प्रकाशमानसिंह, राप्रपाका तर्फबाट रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका तर्फबाट रमेशप्रसाद खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पुकार बम र नेकपा एमालेबाट उम्मेदवार बनेका रमेश पौडेलबीच मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ । यीलगायत अन्य उम्मेदवार भएपनि अरूको नाम खासै चर्चामा छैन ।

प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ बाट पटकपटक चुनाव जित्दै आएका प्रकाशमान सिंह यसपटक स्वास्थ्यका एजेण्डा लिएर भोट माग्दै हिँडेका छन् । उनले आफ्नो क्षेत्रमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न आफूलाई निर्वाचित गराउन आग्रह गर्न थालेका छन् ।

प्रकाशमानले भोट माग्ने क्रममा आधारभूत स्वास्थ्यका लागि स्थानीय तहसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।सरकारबाट प्राप्त हुने निःशुल्क औषधि प्राप्त हुने स्थानबारे आम जनतालाई सुसूचित गर्ने र त्यस्ता औषधि निःशुल्क उपलब्ध गराउने उनको अर्को प्रतिबद्धता छ ।

यस क्षेत्रका स्थायी बासिन्दालाई स्वास्थ्य परीक्षणका लागि आवश्यक पर्ने रगत, दिसा, पिसाब एक्स-रे अदिमा क्षेत्रभित्र कै सार्वजनिक अस्पताल, निजी अस्पताल, परीक्षण केन्द्रहरूसँग सल्लाह गरी छुट, अनुदान दिलाउने प्रकाशमानको घोषणा रहेको छ । स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने पनि उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

राप्रपाबाट उम्मेदवार बनेका रवीन्द्र मिश्र स्वास्थ्यलाई निःशुल्क र गुणस्तरीय बनाउने एजेण्डा बोकेर भोट माग्न हिँडेका छन् । उनले एक लाइनमा आफ्नो स्वास्थ्यसम्बन्धी चुनावी प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका पुकार बमको एजेण्डा सर्वसुलभ स्वास्थ्य रहेको छ । नेपाल सुशासन पार्टीका उम्मेदवार खरेलले पनि सर्वसुलभ र गुणस्तरीय स्वास्थ्यमा जोड दिँदै आएका छन् ।

नेकपा एमालेबाट उम्मेदवार बनेका किरण पौडेल स्वास्थ्यसम्बन्धी एजेण्डा पार्टी कै एजेण्डा अनुसार हुने बताउँदै आएका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #पुकार बम, #प्रकाशमान सिंह, #रमेश पौडेल, #रमेशप्रसाद खरेल, #रवीन्द्र मिश्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com