डेंगु नियन्त्रणका नाममा ‘फग मेसिन’ लिएर भोट माग्न उम्मेदवार घर-घरमा


काठमाडौं ।  डेंगु नियन्त्रणका नाममा ‘फग मेसिन’ लिएर भोट माग्न काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ (१)का प्रदेशसभा सदस्यका उम्मेदवार सस्मित पोखरेल घरदैलोमा जान थालेका छन् ।

निर्वाचन आचारसंहिताले मतदातालाई प्रभावित गर्ने किसिमका गतिविधि नगर्न उम्मेदवारलाई भनेको छ । तर, जनताले डेंगु नियन्त्रणमा सरकार भूमिका खेल्न नसकेको भनेर पोखरेलको कदमलाई सकारात्मक रुपमा लिएका छन् । उनी पनि चुनावी परिणाम आफ्नो पक्षममा पार्न यो सब गरिरहेका छन् भन्ने कुरा प्रस्टै छ ।

‘डेँगुले महामारीको रूप लिन थाले पनि राज्यबाट खासै केही उल्लेखनीय कार्य नभएपछि हामीले मतदाताहरूसँग भेटघाट गर्न जाँदा आफैं डेँगुको औषधि लिएर गयौँ।’, काठमाडौं प्रदेश सभा-५ (क)का उम्मेदवार सस्मित पोखरेलले लेखेका छन् । उनले लामखुट्टे, भुसुनालगायतका किटाणु नष्ट गर्ने फग मेसिन हान्न लगाएर लालटिनमा भोट माग्ने गरेका छन् ।

पोखरेलले काठमाडौं महानगरपालिका वडा नम्बर २,४,५ मा पर्ने प्रदेश सभा-५(क) मा रहेका घर-घरमा पुगेर फग मेसिन हान्न लगाउने र  #voteForLaltin भन्ने गरेका हुन् ।

 

काठमाडौं क्षेत्र नं. ४ का बासिन्दाको निम्ति नि:शुल्क डेंगी परिक्षण तथा परामर्श सेवा लिएर तपाईंहरुको टोलमा आउँदैछौँ भनेर कांग्रेस उम्मेदवार गगन कुमार थापालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मतदातालाई प्रभावित पार्ने गरी ट्विट गरेको भन्दै आयोगले थापालाई स्पष्टीकरण सोधेको हो ।

ट्वीटरमा ‘फेरी पनि काठमाडौं क्षेत्र नं. ४ का बासिन्दाको निम्ति नि:शुल्क डेंगी परिक्षण तथा परामर्श सेवा लिएर तपाईंहरुको टोलमा आउँदैछौँ । साथै डेंगीको विरामी भइ घरमै बस्नु भएकाहरुका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ ।’, भनेर लेख्दा थापालाई २४ घण्टे स्पष्टीकरण सोध्ने आयोगले ‘डेँगुले महामारीको रूप लिन थाले पनि राज्यबाट खासै केही उल्लेखनीय कार्य नभएपछि हामीले मतदाताहरूसँग भेटघाट गर्न जाँदा आफैं डेँगुको औषधि लिएर गयौँ।’, भनेर लेख्ने पोखरेलको विषयमा भने कुनै एक्सन लिएको छैन ।

निर्वाचनको कारण फग मेसिन प्रयोग हुँदा डेंगु प्रताडित जनतालाई भने केही राहत हुने देखिन्छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ