स्वास्थ्यकर्मीको भत्तामा प्रशासनका हाकिमको हालीमुहाली


काठमाडौं । सरकारले अग्रपंती (फ्रन्टलाइन)मा खटिनेलाई दिनेगरी निर्णय भएको कोभिड भत्तामा चरम बेथिती देखिएको छ । मन्त्रालयदेखि स्थानीय तहसम्मका प्रशासनका हाकिमले कोभिड- १९ मा अग्रपंतिमा खटिएको भन्दै ५० प्रतिशत भत्ता खाएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार काठमाडौंका अधिकांश स्थानीय तहमा कार्यरत प्रशासनका कर्मचारी र मेयर/उपमेयरका आसेपासेले फ्रन्टलाइनरका नाममा कोभिड भत्ता बुझेका छन् ।

महालेखाका अधिकारीहरुका अनुसार बरू फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीले पाउनु पर्ने भत्ता पाएका छैनन् तर स्थानीय तहका जनप्रतिनिधि , प्रशासन, लेखा फाँटमा काम गर्ने कर्मचारीले कोभिड भत्ता बुझेका छन् । कतिपय स्थानीय तहले त मेयर/ उपमेयर निकट पार्टीको कार्यकर्तालाई पनि भत्ता बाढेको महालेखाका अधिकारीहरु सुनाउछन् । कोभिड भत्तामा स्थानीय तहको राजनीतिक र प्रशासनिक नेतृत्वले मनपरी गरिरहेका छन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मी भने कोभिड भत्ताबाट बन्चित भएका छन् । तर यसमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । काठमाडौं महानगरपालिका , बुढानिलकण्ठ नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, तार्केश्वर नगरपालिका, शंखरापुर नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिकालगायतमा कोभिड भत्ता दुरूपयोग भएको महालेखाका अधिकारीहरुको भनाई छ ।

काठमाडौँका अधिकांश नगरपालिकामा जनप्रतिनिधि र प्रशासनिक नेतृत्वको मिलेमतोमा कोभिड भत्ताको नाममा ब्रह्मलुट नै भएको ती अधिकारीहरू बताउँछन् । प्रशासनतर्फका अधिकांश कर्मचारीले फ्रन्टलाइनरको नाममा कोभिड भत्ता बुझेको बताउँदै महालेखाका अधिकारीहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गर्ने हो भने धेरै कर्मचारी कानूनी कठघरामा उभिने दाबी गरे । स्थानीय तहले कोभिड भत्तालगायतका अन्य भत्ताको नाममा राज्य कोषको व्यापक दुरूपयोग गरेको ती अधिकारीहरूको भनाई छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com