डब्ल्यूएचओ दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा भारतले नेपाललाई सहयोग गर्ला ? किन बसे भारत र बंगलादेश मौन !


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत बीच रोटीबेटीको सम्बन्ध रहेको बताउँदै आएका छन् । उनले बोल्ने हरेक भाषणमा नेपाल र भारतलाई दाजुभाइको सम्बन्धका रुपमा चित्रण गर्दै आएका छन् । तर, अब भारतीय प्रधानमन्त्री मोदीको बोलीमा विश्वास जाँच्ने समय आएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशक चयन गर्ने समय आएको छ । यसका लागि नेपालले निकै अगाडि आफ्नो देशबाट डा. शम्भु आचार्यलाई प्रस्ताव राखेको छ । हरेक ४ वर्षमा हुने निर्वाचनका लागि नेपालले यसपटक डा. आचार्यको नाम सिफारिस गरेको हो ।

अघिल्लो पटक नेपालले समर्थन गरेर भारतको उम्मेदवार बनेकी डा. पुनम क्षेत्रपाल सिंहले जितेकी थिईन् । सोही कारण यसपटक नेपालले डब्ल्यूएचओको दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा उम्मेदवार खडा गरेको हो ।

डब्ल्यूएचओ जेनेभा स्रोतका अनुसार आगामी जनवरीमा दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशकका लागि नोमिनेसन कल हुँदैछ । गत ०७८ भदौंमा नेपालले डा. आचार्यको नाम सिफारीस गरेपनि अहिलेसम्म सदस्य रहेका देशहरुसँग भोट मागेको छैन ।

नेपालीको अगाडि रोटीबेटीका सम्बन्ध भएको प्रतिक्रिया दिने मोदीले यसपटक नेपाललाई सहयोग गर्लान या नगर्लान त्यो पछिको कुरा हो । तर, भारतले नेपाललाई यस विषयमा सहयोग गर्नेमा धेरैलाई आशंका छ । नेपाल भारतका लागि सती गएपनि भारत नेपालका लागि जाँदैन ।

जेनेभा स्रोत भन्छ, ’भारतको समर्थन कसलाई हुन्छ उसैले क्षेत्रीय निर्देशक जित्ने निश्चित छ । हालसम्म नेपाल र बंगलादेशले मात्रै दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशकका लागि नाम सिफारिस गरेका छन् । सबैदेश नेपाललाई समर्थन गर्ने पक्षमा उभिएका छन् तर, भारत मौन बसेको छ । भारतले बंगलादेशलाई समर्थन गरेको खण्डमा नेपाललाई समर्थन गर्नेहरु पनि उतै लाग्ने छन् ।

किन बंगलादेश चाहन्छ भारत ?

पछिल्लो समय भारतको बंगलादेशसँग राम्रो सम्बन्ध रहेको छ । नेपालमा भारतको सम्बन्ध भनेको उसको व्यक्तिगत स्वार्थका लागि देखाउने एउटा माध्यम मात्रै हो । नक्कली मायामा नेपाल भारतको जालमा फसेको मात्रै हो ।

स्वास्थ्य मन्त्रालयका अधिकारी भन्छन्, ’भारतको सम्बन्ध बंगलादेशसँग राम्रो छ । भारतले बंगलादेशसँग व्यापारिक सम्बन्ध बनाएको छ । शेख हसिनाले सिमा नाका खोलेर व्यापारलाई सहज बनाइदिएकी छन् । जसका कारण भारतीय चामल बंगलादेशमा बिक्री हुन्छ । भारतीय गाडी समेत बंगलादेशमा बिक्री हुन थालेका छन् । भारतको अरबौंको ब्यापार बंगलादेशमा बढेको छ । यसले भारत बंगलादेशको पक्षमा उभिने बलियो सम्भावना छ ।’,

विगतमा बंगलादेशमा जापानीज गाडीहरु मात्रै प्रयोग हुँदै आएका थिए । तर, दुई देशबीच सम्बन्ध राम्रो बनाएर हाल भारतीय गाडीहरु बंगलादेशमा बिक्री सुरु भएको छ । पर्यटन, शिक्षा र स्वास्थ्यका हिसाबले अहिले बंगलादेशका भारत र भारतका बंगलादेश जाने व्यवस्था गरिएको छ । यी र यस्ता कयौं विषयहरुले भारत नेपाल तर्फभन्दा पनि बंगलादेशलाई समर्थन गर्ने पक्षमा देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा ११ बटा देश पदर्छन् । जसमा नेपाल, भारत, भूटान, श्रीलंका, माल्दिव्स, म्यानमार, थाइल्याण्ड, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसीया र टिमोर लिस्टमा पदर्छन् ।

अन्तिममा बंगलादेश, भारत र माल्दिभ्स एक हुन्छन् की भन्ने डर नेपाललाई छ । भारतले बंगलादेशलाई समर्थ गर्दा भुटान पनि उसकै पुछर लाग्न सक्छ । भारत र भुटानले बंगलादेशको पक्षमा वकालत गरे श्रीलंका पनि पछि लाग्न सक्ने स्वास्थ्यका अधिकारीहरु बताउँछन् । यसबाट नेपाललाई बहुमत पुग्ने अवस्था नरहने उनीहरूको तर्क छ ।’ ६ नम्बर ल्याउनेले निर्वाचन जित्छन् ।

भारतले नेपाललाई सहयोग गर्न मानेको खण्डमा बंगलादेशको उमेद्धारलाई यस पटक उप निर्देशकमा बस्न आग्रह गरेर नेपाललाई निर्देशकमा समर्थन गर्न सक्छ भन्ने सरकारलाई सानो आशा जीवित छ । श्रीलंकामा पनि विपत परेकाले भारतको साथ लाग्ने सम्भावना धेरै छ ।

सन् २०१८ मा चुनिएकी थिईन् सिंह

सन् २०१८ मा भएको निर्वाचनमा भारतकी डा. पुनम क्षेत्रपाल सिंह चुनिएकी थिईन् । संगठनको ७१ औं दक्षिणपूर्वी क्षेत्रीय सभा दिल्लीमा भएको थियो । दिल्लीमा आयोजित क्षेत्रीय सभामा पुनमको दोस्रो कार्यकालका लागि नेपालले सहमति दिइएको हो । नेपालको बुई चडेर सिंह निर्देशक भएकी हुन् । यदी भारत सरकार र मोदीमा इमान्दारीता र नैतिकता भए यस पटक आँखा बन्द गरेर नेपाललाई समर्थन गर्नुपर्छ ।

यस क्षेत्रमा ११ राष्ट्र आवद्ध रहेका छन् । अन्य देशले प्रतिनिधि नउठाएकाले नेपाल र बंगलादेशबीच चुनाव हुने देखिएको छ । सन् २०१८ अगाडि सिंह सन् २००० यता विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एशियामा उपनिर्देशककी रुपमा कार्यरत थिइन् ।

अधिकाशं आचार्यको पक्षमा छन्

सरकारले नगरे पनि सम्बन्धत पक्षहरुले भारतको प्रधानमन्त्री, पराराष्ट्रमन्त्री ,स्वास्थ्यमन्त्री सबैसँग कुरा गरेका छन् । थाइल्याण्ड, माल्दिभ्स, इन्डोनेसिया पनि डा. आचार्यको पक्षमा सकारात्मक देखिएका छन् । श्रीलंकालाई संकट पर्दा सबैभन्दा पहिला नेपालले मेडिकल सामग्री सहयोग गरेको थियो । यसमा डा. आचार्यले पनि सहयोग गरेका थिए । जसबाट श्रीलंका हालसम्म नेपालको पक्षमा लागेको छ । जेनेभामा फायल पुग्दा डा आचार्यलेनै फायल तानेर ४ दशमलब २ मिलियन डलरको सहयोग पठाएको बुझिएको छ ।

को हुन् डा. आचार्य ?
आचार्यले डब्ल्यूएचओमा ३० वर्ष देखि काम गर्दै आएका छन् । उनी कपिलबस्तु बाणगंगा नगरपालिकाका निवासी हुन् । सन् १९९२ देखि डब्लुएचओमा आवद्ध भएर काम गरिरहेका छन् आचार्य । डा. आचार्य २०१६ बाट दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशकका मुख्यालयमा निर्देशकको रुपमा कार्यरत छन् । उनी डब्ल्यूएचओको माथिल्लो तहमा पुग्ने पहिलो नेपाली पनि हुन् ।

डा. आचार्यले अमेरिकाको नर्थ क्यारालोनको गिलिंग्स स्कुल अफ ग्लोवल हेल्थ अफ युनिभर्सिटीबाट स्वास्थ्य नीति र व्यवस्थापनमा पिएचडी गरेका छन् । डा. आचार्य १९८५ देखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहेका छन् । उनलाई नेपालको तर्फबाट डब्ल्यूएचओको दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशकको लागि अगाडि सारिएको छ ।

क्याटेगोरी : अन्तर्वार्ता, समाचार
ट्याग : ##डब्लुएचओ, #डब्लुएचओ दक्षिण पूर्वी एसियाको क्षेत्रीय निर्देशक, #नरेन्द्र मोदी, #नेपाल, #बंगलादेश, #शम्भु आचार्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com