मदन भण्डारी कलेज र स्वास्थ्य भवनबीच मन्दिरको जग्गा व्यक्तिले हडपे


काठमाडौं । मदन भण्डारी मेमोरियल कलेज र वडा स्वास्थ्य भवनबीचको मन्दिरको सरकारी जग्गा व्यक्तिले हडपेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबिखोला करिडोरस्थित झन्डै आधा रोपनी जग्गा व्यक्ति विशेषले हडपेर संरचना बनाएका छन् । उक्त जग्गाको दायाँ तर्फ वडा नम्बर १० ले वडा स्वास्थ्य क्लिनिक भवन बनाउँदै छ भने दायाँ तर्फ मदन भण्डारी मेमोरियल कलेजको संरचना रहेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० र जिल्ला प्रशासन कार्यालय काठमाडौंले राधाकृष्ण मन्दिर सत्संघ समितिलाई मन्दिर बनाउन भोगाधिकारमा सिफारिस गरेको नगर १० सिट नम्बर १०२-११४६-०६ कित्ता नम्बर १६८ को क्षेत्रफल ५ रोपनी ३ आना जग्गा व्यक्ति विशेषको नाममा पुगिसकेको तथ्य खुलेको छ ।

२०६४ सालमै जिल्ला प्रशासन कार्यालयले शान्ति बिनायक नगरको १६८ को क्षेत्रफल ५ रोपनी ३ आना जग्गा सरकारी पर्ती रहेको ठहर गर्दै राधाकृष्ण मन्दिर सत्संघ समितिलाई मन्दिर बनाउन दिन मालपोत कार्यालयलाई सिफारिस गरेको देखिन्छ । तर, अहिले आएर उक्त जग्गामा मन्दिर बनाउन खोज्दा एक व्यक्तिले लालपूर्जा देखाएर संरचना बनाइ ग्यारेजलाई भाडामा लगाएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य नरोज अर्यालका अनुसार यादव थरका एक व्यक्ति लालपूर्जा लिएर आएको सुनाए । वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय र रावल आयोगले सरकारी पर्ती देखाएको र राधाकृष्ण मन्दिरलाई भोगाधिकारमा दिन सिफारिस भएको उक्त जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुनु गम्भीर विषय हो ।

२०६४ साल कार्तिक २७ गते तत्कालीन वडा सचिव निर्माला सुवेदी र २०६४ माघ १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत नारायणप्रसाद मैनालीले सरकारी पर्ती भनेर उक्त जग्गा मन्दिरलाई दिन सिफारिस गरेको स्वास्थ्य लाइभले फेला पारेको छ । अहिले उक्त ठाउँमा व्यक्तिले टहरा निर्माण गरेर भाडा खाइरहेका छन् ।

उक्त जग्गा सरकारी पर्ती हो भनेर वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, लक्ष्मण रेग्मी, शारदा शर्मा, गोमा बराल, सँधियार अनिता चापागाईं, विमल अधिकारी, जानुका तिवारी, शम्भु बराल, स्थानेश्वर बन्जाडे र रेखा भट्टराई नापीको प्रतिवेदनमा सही गरेको देखिन्छ । त्यस्तै चन्द्रबहादुर आले, नरबहादुर खड्का, कृष्णबहादुर थापा, भावना अधिकारी, भरत बहादुर राना र शान्तिराम बरालले समेत उक्त प्रतिवेदनमा हस्ताक्षर गरेका छन् । तर, अहिले व्यक्ति विशेषले दुषित दर्ता गरेर लालपूर्जा निकालिसकेको वडा सदस्य अर्यालको भनाइ छ ।

२०७१ सालमै बिनायक नगर समाजले सिट नम्बर १०२-११४६-०६ कित्ता नम्बर १६८ को क्षेत्रफल ५ रोपनी ३ आना र कित्ता नम्बर ६ को क्षेत्रफल १४ आना १ दामको सरकारी जग्गा संरक्षण गर्न काठमाडौं महानगरपालिकामा निवेदन दिएको पाइन्छ । तर, फिल्डमा कित्ता नम्बर १६८ को क्षेत्रफल ५ रोपनी ३ आना जग्गामा व्यक्ति विशेषले टहरा बनाएर भाडा खाइरहेका छन् ।

बिनायक नगर समाजलाई भोगाधिकारमा दिन खोजेको कित्ता नम्बर ६ को क्षेत्रफल १४ आना १ दाम सरकारी जग्गा पनि संरक्षण हुन सकेको छैन । उक्त जग्गामा अहिले एउटा टहरा रहेको देखिन्छ । स्थानीय चन्द्र बहादुर आलेका अनुसार उक्त जग्गामा लिला देसारलाई टहरा बनाएर बसाउने खेल भइरहेको छ ।

मन्दिरको जग्गा दर्ता गर्ने व्यक्तिले जग्गाको फोटो खिचे साइबर क्राइममा मुद्दा चलाउने धम्कि समेत दिएको स्थानीय गोमा बरालले गुनासो पोखिन ।

मन्दिरको नाममा भोगाधिकारमा सिफारिस भएको नगर १० सिट नम्बर १०२-११४६-०६ कित्ता नम्बर १६८ को क्षेत्रफल ५ रोपनी ३ आना व्यक्ति विशेषको नाममा दर्ता गर्ने मालपोतका कर्मचारीमाथि समेत छानबिन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउन जरूरी छ । मन्दिरको जग्गा नै व्यक्ति विशेषको नाममा पुर्याउन भूमाफिया र कर्मचारीलाई कानुनको कठघरामा उभ्याउन अख्तियार तात्नु पर्ने देखिन्छ । यसमा अख्तियारले तत्काल कदम चालोस् ।

राधाकृष्ण मन्दिर सार्न खोज्दा बदमासी खुल्यो

मन्दिरका कारण साँघुरो बनेको बाटो

काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोरस्थित थापागाउँ र अनामनगर जोड्न पुलसँगै रहेको राधाकृष्ण मन्दिर उक्त ठाउँमा सार्न खोज्दा व्यक्ति विशेषको नाममा दर्ता भएको बदमासी खुलेको हो । मन्दिरका कारण बाटो साँघुरो भएपछि सार्न खोज्दा लालपूर्जा देखाउँदै व्यक्तिले टहरा बनाएका हुन् ।

सरकारी जग्गा व्यक्तिको नाममा जाँदा मन्दिर सार्न नपाएपछि स्थानीयहरूले प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठलाई भेटेर भूमाफियालाई कारबाही गर्न माग गरेका छन् ।

मन्दिरको जग्गा व्यक्तिलाई खान नदिन आफूले सहयोग गर्ने प्रतिबद्धता समेत सांसद श्रेष्ठले बिनायक नगरबासी समक्ष गरेका छन् । उनले उक्त जग्गा पुन: सरकारको नाममा ल्याएर मन्दिर बनाउन लाग्ने उनको भनाइ छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #थापागाउँ, #दुषित दर्ता, #धोबीखोला, #राधाकृष्ण मन्दिर, #विनायक नगर समाज

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com