डा. शेखरले गगनलाई नस्वीकार्दा शेरबहादुरको भाग्य चम्किँदै


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको दाबी रहँदै आएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलमै रोकेर सरकारको नेतृत्व गर्ने उनको योजना र चाहना छ । तर, कांग्रेस महामन्त्री गगन कै टिमबाट पार्टी सभापतिमा चुनाव लडेका डा. शेखर कोइरालाले उनलाई संसदीय दलमा समर्थन गर्ने ‘ग्रिन सिग्नल’ दिइसकेका छैनन् ।

डा. शेखर निकट नेताहरुले गगनका लागि बाटो छोड्नुभन्दा संसदीय दलमा आफैं उठ्न उनलाई सुझाव दिइरहेका छन् । एउटै टिमबाट चुनाव जितेका कांग्रेस उपसभापति धनराज गुरुङ र उपसभापतिमा पराजित चन्द्र भण्डारी समेत गगनको समर्थनमा उभिन खोजेका छैनन् ।

डा. शेखर निकट एक नेताका अनुसार सिनियर नेताहरूले गगनलाई नेता मान्न तयार छैनन् । ‘डा. शेखर पनि गगनलाई संसदीय दलको नेता स्वीकार गर्ने मनस्थितिमा छैनन् । यस्तो अवस्थामा उनी नै संसदीय दलको नेता उठ्नु पर्ने टिमका सिनियर नेताहरूको दवाब आउन सक्छ’, ती नेताले स्वास्थ्य लाइभसँग भने ।

डा. शेखर कांग्रेस संसदीय दलको नेता उठेमा गगनको संसदीय दलको नेता हुँदै प्रधानमन्त्री हुने सपना चक्नाचुर हुनेछ । यस्तो अवस्थामा फेरि शेरबहादुर देउवा कै भाग्य चम्किने देखिन्छ ।

संख्याको हिसाबले सजिलै बहुमतमा रहेका शेरबहादुर गगन र शेखरलाई फुटाएर राज गर्ने रणनीतिमा लागेका छन् ।  शेखरलाई परराष्ट्रमन्त्री बनाएर आफ्नो सरकारमा सहभागी गराउने प्रयासमा उनी छन् । डा. शशांक कोइरालाले कृषिमन्त्री मागेर शेरबहादुरलाई संसदीय दलको नेतामा समर्थन गर्ने भइसकेका छन् । पूर्ण बहादुर खड्काले मन्त्री नबन्ने घोषणा गरेकाले प्रकाशमान सिंहलाई गृहमन्त्री बनाएर संसदीय दलमा आफ्नो पक्षमा उभ्याउने देउवाको प्रयास रहेको बालुवाटार स्रोत बताउँछ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा, #डा. शेखर कोइराला, #प्रकाशमान सिंह, #प्रधानमन्त्री, #शेरबहादुर देउवा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com