दवाव र प्रभावले गिजोलेको स्वास्थ्य, पावर हुँदा थुपारेका स्वास्थ्यकर्मी धमाधम फिर्ता हुँदै


काठमाडौं । स्वास्थ्य समूह तर्फका कर्मचारीको समायोजन अझै सकेको छैन । बाहिर सकिएको देखिए पनि पूर्ण रुपले स्वास्थ्य समूह तर्फका कर्मचारीको समायोजन अझै बाँकी छ । समायोजन नसकिँदै फेरी समस्या सुरु भएको छ ।

बिगतमा दवाव र प्रभावले आफू अनुकुल स्वास्थ्य संस्थामा पुगेका कर्मचारीलाई अहिले टिक्न धौधौ परेको छ । चुनावको छेउछाउ कार्यकर्ता खुसी पारेर भोट बढाउँन राजनीतिक दलका नेता तथा कार्यकर्ता कर्मचारीले मागेको पालिकामा पठाउँन कम्मर कसेर लागेका थिए । कर्मचारीले पनि शक्तिको दुरुपयोग गराएर राम्रैसँग फाइदा लिए । तर, उक्त फाइदा क्षणिक मात्रै देखिएको छ ।

पालिकामा दरबन्दीभन्दा बढी कर्मचारी भएको भन्दै धमाधम सङ्घमा फिर्ता हुन थालेका छन् । सयौं स्वास्थ्यकर्मीलाई स्थानीय सरकारले काज फिर्ता गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव मोहन निरौला भन्छन्, ‘स्थानीय सरकारले धमाधम काज फिर्ता गर्न थालेका छन् । केही समय पछि यो थेगिनसक्नु हुन्छ ।’

मन्त्रालयल र स्वास्थ्य सेवा विभागमा कर्मचारीको काज फिर्ता हुन थालेको हो । जसरी पनि तलव भत्ता खुवाउने वाचा गरेर लगिएका कर्मचारी अहिले तलब खुवाउन नसकेको भन्दै फिर्ता पठाएका हुन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ५१ जना स्वास्थ्यकर्मीको एकै पटक काज फिर्ता गरेको छ । स्वास्थ्य लाइभले पाएको उक्त पत्रमा चौथो देखि छैठौं तहसम्मका स्वास्थ्यकर्मी रहेका छन् ।

मन्त्रालयलका विभिन्न मितिको निर्णय अनुसार कामकाजका लागि खटाइएका दरवन्दीभन्दा ५१ जना बढी स्वास्थ्य सेवाका कर्मचारी कार्यरत रहेको र उनिहरूको तलव भत्ता यहअघि मन्त्रालयबाट निकासा हुँदै आएको अवस्थामा सो मन्त्रालयको मिति ०७९ साउन ३० को स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीको तलव भत्ता नदिने र त्यसको सबै व्यवस्था पालिकाबाटै हुनुपर्ने भन्दै परिपत्र गरेको थियो । उक्त परिपत्र अनुसार पालिकाबाट दरबन्दीभन्दा बढी कर्मचारीको तलब भत्ता खुवाउन नसकिने भन्दै स्वास्थ्य मन्त्रालयनै फिर्ता पठाइएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

त्यस्तै धनुषाको लक्ष्मीनिया गाउँपालिकाले पनि दरबन्दीभन्दा बढी भएका कर्मचारी स्वास्थ्य मन्त्रालय फिर्ता पठाएको छ । गाउँपालिकामा विभिन्न मितिमा सरुवा भएर आएका स्वास्थ्यकर्मीका लागि तलव भत्ता पालिकाबाट खुवाउन नसक्ने भएकाले सङ्घीय मन्त्रालयमै फिर्ता पठाएको छ । पालिकाले दरबन्दीभन्दा १० जना स्वास्थ्यकर्मी बढी भएको समेत उल्लेख गरेको छ ।

दरबन्दीभन्दा बढी कर्मचारी हिजो के आधारले पालिकाले लिए त्यसको जवाफ सङ्घीय मन्त्रालयले खोज्नु पर्छ । समय अनुकुल हुँदा आफ्नो दुनो सोझ्याउन जस्तो सुकै जोखिम मोल्ने पालिका समय प्रतिकुल भएपछि यसरी कर्मचारी फिर्ता पठाउँनु आफैमा गैर जिम्मेवार हो ।

आफ्नो पालिकामा सयौं कर्मचारी फाजिल हुँदा यस अगाडी किन मौन बसेका थिए ?
स्वास्थ्य क्षेत्र सङ्घीयताले झन् ध्वस्त बनाएको छ । स्वास्थ्य संरचना विगतमा वैज्ञानिक थियो । विगतमा आमासमूह, महिला स्वंयम सेविका, उप स्वास्थ्य चौकी, स्वास्थ्य चौकी, जिल्ला अस्पताल, क्षेत्रीय निर्देशनालय हुदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा समन्वय हुन्थ्यो । तर, देश सङ्घीयतामा गएपछि स्वास्थ्यको संरचना पुरै परिवर्तन भएको छ । सङ्घमार्फत कुनै स्वमन्वय छैन ।

‘कर्मचारी समायोजनले कतिपय पालिकामा दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिएका छन् । कतिपय पालिकामा अहिले पनि अभाव देखिएको छ । विशेषगरी सहरी क्षेत्र र तराईमा चाहिनेभन्दा सयौं गुणा बढी कर्मचारी छन् । तर, हिमाल र पहाडी क्षेत्रका स्वास्थ्य सस्थामा तत्लो तहको कर्मचारी समेत अभाव छ’, मन्त्रालय भन्छ ।

कर्मचारी अभाव भएकाले पुर्ति गर्न स्थानीय सरकार धमाधम लोकसेवामा विज्ञापन गरिरहेका छन् । यता धमाधम पालिकाले दर्बन्दीभन्दा बढी भएको भन्दै सयौं कर्मचारी फिर्ता पठाउँन थालेका छन् । यसले अब स्वास्थ्यमा एक पटक फेरि ठूलै झमेला हुने देखिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com