मणिपालको ठगी नरोकिए आयोगविरूद्ध आन्दोलन गर्ने चेतावनी


काठमाडौं । नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसन सेन्ट्रल कमिटीले मणिपाल शिक्षण अस्पताललगायतका निजी मेडिकल कलेजहरूले विद्यार्थीमाथि गरेको ठगी नरोकिए चिकित्सा शिक्षा आयोगविरूद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

एसोसिएसनका अध्यक्ष डा. सुजन कडरियाको नेतृत्वमा  गएको एसोसिएसनको टोलीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई उक्त चेतावनी दिएको हो ।

आयोगलाई दिएको निवेदनमा एसोसिएसनले विद्यार्थीहरुलाई तनाव र लुटबाट बचाई, अध्ययन गर्ने वातावरण मिलाउनका निम्ति कडा कदम चाल्न आग्रह गरेको छ । त्यस्तो नभएमा चिकित्सा शिक्षा आयोगविरुद्ध पनि आन्दोलित हुन विवश हुने नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसन सेन्ट्रल कमिटीले स्पष्ट पारेको छ ।

यस शैक्षिक क्षेत्रमा एम.बी.बी एस/ वि.डि.एसमा भर्ना भएका विद्यार्थीहरुलाई मणिपाल शिक्षण अस्पताल लगायतका निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क ज्यादतीपूर्ण हिसाबमा उठाइरहेको एसोसिएसनले आयोगलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । सो तथ्य पीडित विद्यार्थी विद्यार्थीहरुमार्फत जानकारीमा आउनुका साथै विभिन्न समाचारपत्रमा पनि प्रकाशन भइसकेको एसोसिएसनले आयोगलाई भनेको छ ।

‘चिकित्सा शिक्षामा एकरूपता र नियमितता आउने हेतुले डा. गोविन्द केसीको ठूलो योगदानसहित स्थापना भएको चिकित्सा शिक्षा आयोग यस्ता अन्यायपूर्ण कार्यहरू हुँरा पनि टुलुटुलु हेरेको बसेका लज्जास्पद देखिन्छ ।’,एसोसिएसनले आयोगलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हामीले उक्त कलेजमा ध्यानकर्षण र विरोधका कार्यक्रम अघि सारिसकेका छौं ।’,

यस अनियमितता र ज्यादतीपूर्ण लुट मच्चाउने निजी कलेजले भने सो चिकित्सा शिक्षा आयोगको नियमविपरीत जाँदछ भने कलेजहरुलाई कारबाही गर्ने अख्तियारी आयोगले राख्ने एसोसिएसनले स्पष्ट पारेको छ ।  आफ्नो कर्तव्यबाट भाग्न खोजेमा चिकित्सा शिक्षा आयोग सो अपराधको सहयोगी ठहर हुने मेडिकल स्टुडेन्ट एसोसिएसनले जनाएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ