टीकापुरको सरकारी जग्गा हिनामिना काण्डमा हात हाल्दै सिआईबी, आरजु र रेशम निगरानीमा


काठमाडौं । कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा हिनामिना काण्डमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले हात हाल्ने तयारी थालेको छ । सिआईबीको निर्देशकमा एआईजी श्यामलाल ज्ञवाली आइसकेपछि टीकापुर जग्गा घोटाला काण्डले प्राथमिकता पाएको हो । टीकापुर जग्गा घोटाला काण्डमा सिआईबीले विशेष अपरेशन सञ्चालन गर्न लागेको चर्चा छ ।

टीकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर विकास समिति र पहुँचवालाहरुको मिलेमतोमा उक्त क्षेत्रमा ठूलो मात्रामा सरकारी जग्गा हिनामिना भएको पाइन्छ । उक्त काण्डमा कांग्रेस नेतृ डा. आरजु राणादेखि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसम्म संलग्न रहेको सिआईबी स्रोतको दाबी छ । आरजु र रेशम सिआईबीको निगरानीमा रहेको स्रोतले बतायो ।

टीकापुर बजार क्षेत्रमा करिब ६ सय रोपनी सरकारी जग्गा हिनामिना भएको प्रारम्भिक निष्कर्ष छ । उक्त जग्गा राजनीतिक पहुँच र मिलेमतोमा हिनामिना भएको आरोप लाग्ने गरेको हो । राजनीतिक र सामाजिक पहुँचका आधारमा आरजुको नाममा करिब ४ कठ्ठा र रेशमको नाममा ५ कठ्ठा सरकारी जग्गा पुगेको सिआईबी स्रोतको दाबी छ ।

टीकापुरमा पञ्चायत कालदेखि प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रकालसम्म आइपुग्दा पहुँच र प्रभाववालाले सरकारी जग्गा हिनामिना गरेको देखिन्छ । प्रभावशाली व्यक्तिहरु कै नाममा समेत उक्त सरकारी जग्गा पुगेकाले सिआईबीको अपरेशन रोचक मोडमा पुग्न सक्ने अनुमान लगाउन सकिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत टीकापुरको सरकारी जग्गा घोटाला काण्डमा एक चरणको भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अख्तियार अर्को चरणमा प्रवेश गर्न लाग्दा उक्त काण्डमा सिआईबी तातेको हो । सिआईबीको टोली टीकापुर पुगेरै स्थलगत अध्ययन गर्ने तयारी गरिरहेको छ । त्यसका लागि एआईजी ज्ञवाली सक्रिय भएको स्रोतले बतायो ।

पछिल्लो समय नक्कली लाइसेन्स र बालमन्दिरको जग्गा किर्ते काण्डमा हात हालेको सिआईबीले टीकापुरको सरकारी जग्गा हिनामिना काण्डमा समेत अग्रसरता देखाएको छ । नक्कली भुटानी शरणार्थी काण्डलाई पटाक्षेप गरेका एआईजी ज्ञवाली नक्कली लाइसेन्स काण्डदेखि टीकापुर काण्डको जरोकिलो पत्ता लगाउन लागिपरेका छन् ।  उनकै नेतृत्वमा सिआईबीले टीकापुरको सरकारी जग्गा हिनामिना काण्ड निष्कर्षमा पुग्ने विश्वास लिइएको छ ।

टीकापुरको सरकारी जग्गा हिनामिना काण्डमा केही दिनभित्रै ‘ठूला माछा’ समातिए अचम्म नहुने टिप्पणी हुन थालेको छ । त्यसका लागि एआईजी ज्ञवालीले सक्रियता बढाएको बुझ्न सकिन्छ । ज्ञवालीलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको पनि बलियो साथ रहेको बुझिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #एआईजी श्यामलाल ज्ञवाली, #टीकापुरको सरकारी जग्गा हिनामिना काण्ड, #डा. आरजु राणा देउवा, #नक्कली लाइसेन्स, #रेशम चौधरी, #सिआईबी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ