वीपी प्रतिष्ठानको सरसफाइमा डेढ करोड घोटाला


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले सरसफाइमा डेढ करोड घोटेर गरेको तथ्य फेला परेको छ । वीपी प्रतिष्ठानले सम्झौताविपरीत अपुश्री इन्टरप्राइजेजलाई झन्डै डेढ करोड अतिरिक्त भुक्तानी गरेर घोटाला गरेको तथ्य फेला परेको हो ।

महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक प्रतिवेदनले वीपी प्रतिष्ठानले सम्झौताविपरीत १ करोड ४८ लाख ९६ हजार ७२० रुपैयाँ बढी भुक्तानी गरेको औँल्याएको छ ।

वीपी प्रतिष्ठान र अपुश्री इन्टरप्राइजेजबीच सरसफाइसम्बन्धी भएको सम्झौताको बुँदा नम्बर ८ (ग)मा हाल प्रतिष्ठानभित्र रहेको भौतिक संरचना ( आवास, अस्पताल, छात्रवास, कार्यालय भवन आदि)बाहेक भविष्यमा कुनै थप संरचना निर्माण भएमा थप भएको संरचनाको सरसफाइ समेत आवश्यक परेका थप जनशक्ति तथा सामग्रीको प्रयोग गरि गर्नुपर्ने छ भन्ने उल्लेख छ । उक्त थप जनशक्ति तथा सरसफाइ सामग्रीको लागि अतिरिक्त रकम उपलब्ध हुने छैन भन्ने प्रस्ट लेखिएको छ । तर, वीपी प्रतिष्ठानले अस्पताल परिसरमा रहेको भवन तथा दन्त चिकित्सा महाविद्यालयको ट्वाइलेट तथा कोर्डिनेटर सरफाइ गर्न १ करोड २ लाख ५० हजार ५४४ रुपैयाँ अतिरिक्त भुक्तानी गरेको पाइएको छ ।

त्यस्तै विस्तारित क्षेत्रमा निर्माण भएको कन्ट्री क्लव तथा त्यहाँ रहेका १० वटा गेष्ट हाउसमा सरसफाइ गर्न सम्झौताविपरीत ४६ लाख ४६ हजार १७६ रुपैयाँ भुक्तानी गरेको पाइएको हो ।

सम्झौताको सर्त अनुसार ती ठाउँको सरसफाइमा लाग्ने जनशक्ति र सागम्रीहरुको अतिरिक्त खर्च अपुश्रीले बेहोर्नु पर्ने थियो । तर, विभिन्न भौचरबाट वीपी प्रतिष्ठानले सम्झौताविपरीत १ करोड ४८ लाख ९६ हजार ७२० रुपैयाँ बढी भुक्तानी गरेर घोटाला गरेको तथ्य फेला परेको हो ।

प्रतिष्ठान हाताभित्र सरसफाइ गर्न अपुश्री र वीपी प्रतिष्ठानबीच ३ वर्षका लागि सम्झौता भएको थियो । उक्त कम्पनीको सरसफाइ काम पनि सन्तोषजनक देखिँदैन ।

अपुश्री र वीपी प्रतिष्ठानबीच भएको सम्झौतामा अस्पताल क्षेत्र र सबै क्षेत्र वरिपरी खाली रहेको ठाउँहरु, आवास गृह, कार्यालय र भवन भएको क्षेत्रहरू दैनिक रुपमा सरसफाइ गर्ने भनिएको छ ।

त्यस्तै मेडिकल कलेज, डेण्टल कलेज, कलेज अफ नर्सिङ, स्कुल अफ पब्लिक हेल्थलगायत सबै शैक्षिक क्षेत्रहरू सडक पेटीहरू, नालाहरू, खुला चौरहरू, खेल मैदानहरू, स्विमिङ पुल, चिल्ड्रेन पार्क, त्यस वरपरका क्षेत्रहरु सबै दैनिक रुपमा सरसफाइ गर्ने उल्लेख छ ।

संकलन भएका फोहोरहरू दैनिक रुपमा प्रतिष्ठानले तोकेको डम्पिङ साइटसम्म पुर्याउने तथा फोहोर फाल्नका लागि आवश्यकता अनुसार कुहिने र नकुहिने वर्गीकरण गर्नु पर्ने सम्झैतामा सर्त राखिएको छ । आवश्यकता अनुसार फाल्ने, पुर्ने वा जलाउने कार्य गर्दा वातावरण प्रदुषण नहुने गरी गर्ने भन्ने अपुश्री र वीपी प्रतिष्ठानबीच भएको सम्झौतामा सर्त छ । तर, अपुश्रीले उक्त सर्त समेत पालना नगरी फोहोरमैला व्यवस्थापनको काम गरिरहेको छ ।

वीपी प्रतिष्ठानमा सरसफाइको नाममा झन्डै डेढ करोड घोटाला भएको तथ्य फेला परेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानबिन गरी सम्झौताविपरीत अतिरिक्त भुक्तानीमा संलग्न अधिकारीलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । वीपी प्रतिष्ठानलाई बेथिति र घोटाला प्रतिष्ठान हुनबाट अख्तियारले जोगाउनु पर्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #घोटाला, #वीपा कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com