पथरी शनिश्चरेका जनताको स्वास्थ्यका लागि मरिमेटेका बाबुराम राई


मोरङ । भोजपुरको बोयामा जन्मिएका बाबुराम राई मोरङको पथरी शनिश्चरेमा भेटिए । न कुनै स्वार्थ, न कुनै सम्पत्तिको लोभ उनको एउटै चाहना र उद्देश्य छ त्यो भेगका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने । उनले पथरी शनिश्चरेको नगर अस्पताल बनाउन जग्गा मात्र दान दिएका छैनन् । त्यो जग्गामा बन्दै गरेको १५ शय्याको पथरी शनिश्चरे नगर अस्पताल भवनको नियमित अनुगमन गर्छन् ।

उनी बिहानै उठेर १८ करोड लागतमा बन्दै गरेको नगर अस्पताल भवनको अवस्था बुझ्छन् । पानी हाल्छन् । ठेकेदार र कामदारलाई हौसला दिन्छन् र गुणस्तरीय काम गर्न प्रोत्साहन गर्छन् । भोजपुरे बाबुरामको पथरी शनिश्चरेमा यो दैनिकी बनिसकेको छ ।

बाबुराम पथरी शनिश्चरेमा सुविधासम्पन्न अस्पताल बनाएर त्यहाँका जनतालाई विराटनगर र काठमाडौंमा हुने उपचार त्यहाँबाट उपलब्ध होस् भन्ने चाहन्छन् ।

पथरी शनिश्चरे नगर अस्पताल अहिले पनि सञ्चालनमा रहेको छ । त्यो अस्पताल भवन निर्माणका लागि पनि बाबुरामले जग्गा दान दिएका हुन् । उक्त अस्पतालको आकास्मिक सेवा सञ्चालन भएको एक वर्षमा ७ सय स्थानीय बिरामीले सेवा लिइसकेका छन् । सामान्य उपचारका लागि बाहिर जानु नपरेको बाबुराम सुनाउँछन् ।

बाबुरामले अस्पतालबाट कुनै तलब खाँदैनन् । निस्वार्थ भावले जनताको सेवा गरिरहेका छन् । अस्पतालको प्रशासनिक काममा पनि सहयोग गर्छन् । सरकारको नाममा रहेको लालपूर्जा सुरक्षित राखिदिएका छन् । बन्दै गरेको १५ शय्याको पथरी शनिश्चरे नगर अस्पतालको भवन बिओक्यू अनुसार काम भएको छ कि छैन भनेर नियमित बिओक्यू बोकेर हेर्ने गर्छन् । त्यहीं अनुसार काम गराउँछन् ।

भोजपुरको प्याउली स्कुलमा पढेर मोरङ झरेका बाबुरामको एउटै सपना छ शनिश्चरेमा गतिलो अस्पताल सञ्चालन गर्ने । आफू बोयामा पनि समाजसेवा गरेर हुर्किएको स्वास्थ्य लाइभसँग उनी गर्वका साथ सुनाउँछन् । बाबुरामले सरकारलाई जग्गा दान दिनुको उद्देश्य पनि त्यहीँ हो ।

उनको सपना साकार पार्न  जनस्वास्थ्य निरीक्षक एवं पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी पनि बाबुरामसँगै दिनरात खटिएका छन् । मुरारीले आफ्नो ज्यान र ध्यान सबै पथरी शनिश्चरे नगर अस्पताल निर्माण र सञ्चालनमा केन्द्रित गरेका छन् । जात र जिन नमिलेपनि बाबुराम र मुरारीको सम्बन्धन कुनै बाबुछोराको भन्दा कम छैन । बाबुरामले आफ्ना दुई सन्तानलाई जस्तै मुरारीलाई माया र व्यवहार गर्ने गरेका छन् ।

बाबुरामले मुरारीलाई अस्पतालमै बस्ने क्वार्टर व्यवस्था गरिदिएको छ । ‘काम गर्नेलाई हामी विशेष माया गर्छौं, सबै सेवा सुविधा र बासको व्यवस्थापन मिलाउँछौं’, जनस्वास्थ्य निरीक्षक मुरारीतिर हेरेर मुसुक्क हाँस्दै बाबुरामले भने । १८ करोडको पथरी शनिश्चरे नगर अस्पताल बनाउन मुरारीको सबैभन्दा ठूलो भूमिका छ । बजेट हाल्न लगाउन उनी निकै लागिपरेर पार लगाएको बाबुराम सुनाउँछन् ।

तत्कालीन निमित्त स्वास्थ्य सचिव शुशिलनाथ प्याकुरेलले पथरी शनिश्चरे नगर अस्पतालको भवन बनाउन बजेट व्यवस्थापनको चाँजोपाँचो मिलाएका हुन् । ‘उहाँले एकै बचनमा मान्छे खटाएर ठाउँ हेरेर बजेट व्यवस्थापन गरिदिनु भयो । यो अस्पताल बन्नुमा उहाँको विशेष भूमिका छन्’, मुरारीले शुशिलनाथलाई सम्झिँदै सुनाए ।

पथरी शनिश्चरे नगर अस्पताललाई यो अवस्थामा पुर्‍याउन डा. भुपेन्द्र कुमार बस्नेतको पनि विशेष भूमिका रहेको बाबुराम सुनाउँछन् । कोभिड-१९ को समयमा विराटनगरका ठूला अस्पतालमा स्वास्थ्य सामग्री नहुँदा पनि भुपेन्द्रले पथरी शनिश्चरे नगर अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिडमा सेवा दिन सकिएको उनले बताए ।

डा. भुपेन्द्रले अमेरिका नेपाल मेडिकल फाउण्डेसनमार्फत उक्त अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए । भुपेन्द्र वीर अस्पतालको नेतृत्वमा पुगेपनि आफ्नो गाउँको अस्पताल बनाउन निरन्तर रुपमा लागिपरेका छन् ।

कोभिडको समयमा त्यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भानुभक्त ढकाल स्वास्थ्य मन्त्री भएपनि अस्पताललाई केही सहयोग नगरेको बाबुरामको गुनासो छ । उनी भन्छन्, ‘ अनुरोध गर्दा पनि तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालजीले केही गर्नु भएन तर एकै बचनमा डा. भुपेन्द्रले प्रयाप्त स्वास्थ्य सामग्री उपलब्ध गराइदिनु भयो ।’,

पथरी शनिश्चरे नगर अस्पताललाई सुविधासम्पन्न बनाउन बाबुराम र मुरारीको खटाईमा डा. भुपेन्द्रको ठूलो आड भरोसा देखिन्छ । उनले दुबैजनाको कामको खुलेर प्रशंसा गरे । यो अस्पतालमा हरेक किसिमका उपकरण र जनशक्ति व्यवस्थापन गर्न सक्ने बाबुराम र मुरारीको इच्छाशक्ति देखिन्छ ।

पथरी शनिश्चरे नगर अस्पतालमा बिदाको दिन पनि थप तलब दिएर स्वास्थ्य बीमाका कर्मचारीलाई काममा खटाइएको छ । बाबुरामले स्वास्थ्य बीमाका कर्मचारीलाई देखाउँदै भने, ‘ल हेर्नुहोस् त हाम्रा कर्मचारी बिदाका दिन पनि यसरी खटेर काम गरिरहेका छन् ।’, नजिकैको कोठामा दुईजना कर्मचारी धमाधम काम गरिरहेका थिए । बाबुरामका अनुसार ती कर्मचारीले स्वास्थ्य बीमाको काम गरिरहेका रहेछन् । 

पथरी शनिश्चरे नगर अस्पतालले कुनैबेला कोशी प्रादेशिक अस्पताललाई टक्कर नदेला भन्न सकिन्न । निस्वार्थ समाजसेवी बाबुराम र निस्वार्थ स्वास्थ्यसेवी मुरारीको पथरी शनिश्चरे नगर अस्पताल बनाउन काम र खटाई साँच्चिकै लोभलाग्दो छ । कुनै किसिमको अनियमितता नहोस् भनेर बाबुराम दिनरात निर्माणाधीन अस्पताल भवन स्थलमै घुमिरहेका हुन्छन् ।

भोजपुर कै प्याउली विजयवासका सापकोटा थरमा एक व्यक्ति ठेकेदारको तर्फबाट भवन निर्माणका लागि खटिएका रहेछन् । बाबुरामले ‘सोर्स’ लगाइहाले ‘यो तपाईं कै ठाउँको मान्छे रहेछ । राम्रोसँग छिटो काम गर्न भन्दिनुहोस् त !’, उनको जागर र काम गर्ने शैली जोस्याउने खाल कै रहेछ ।

समाजसेवी बाबुरामको कामको प्रशंशा शब्दमा गर्नै सकिन्न । त्यस्ता व्यक्तिलाई राज्यले चिन्दैन । राष्ट्रपतिले दिने पदक भेट्दैन । तर, उनले गरेको सेवाको पदक जनताले दिइरहेका छन् । उनको काम र खटाई देखेर पथरी शनिश्चरेका धेरैलाई समाजसेवा गर्न उत्प्रेरणा मिलेको हुनुपर्छ ।

राज्यले थोरै मात्र चासो दिने हो भने पथरी शनिश्चरे नगर अस्पताल मुलुककै नमूना नगर अस्पताल बन्ने देखिन्छ । यो पूर्व कै एउटा गतिलो अस्पताल बन्ने अवस्था रहेकाले संघीय स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारले पनि विशेष ध्यान दिन जरुरी छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #अहेब मुरारी आचार्य, #डा. भुपेन्द्र बस्नेत, #पथरी शनिश्चरे नगर अस्पताल, #बाबुराम राई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com