प्रकाशमान स्वास्थ्यमा जालान् की सहरी विकास खालान् ?


काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गरेर सरकारमा जानेमा प्रकाशनमान सिंह सबैभन्दा अगाडि देखिएका छन् ।

पार्टी सभापतिमा शेरबहादुर देउवालाई जिताउन भूमिका खेलेका सिंहलाई नेतृत्व गरेर सरकारमा पठाउनु पर्ने मत बलियो छ । पार्टी सभापतिमा देउवालाई सहयोग गरेपछि उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्न उनलाई त्योबेला ‘अफर’ गरिएको थियो । तर, प्रकाशमानले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएको कांग्रेस वृत्तमा चर्चा छ ।

प्रकाशमानलाई गृहमन्त्री छाड्न तयार रहेका बालकृष्ण खाँण, सभापतिमा देउवाको पक्षमा उभिने वीरबहादुर बलायर, रमेश लेखक, प्रकाशशरण महतहरू अहिले पनि देउवा समूहका बलिया खम्बा हुन् । देउवालाई पार्टी सभापतिमा सहयोग गरेको ‘चार्ज’ लागेर प्रकाशमानले प्रतिनिधिसभा सदस्यको चुनावमा झन्डै हार बेहोर्नु परेको थियो । अधिकांश मतदातालाई देउवालाई सहयोग गरेकाले भोट नदिने सार्वजनिक अभिव्यक्ति दिए । सबै प्रहार सहेर देउवाको पक्षमा उभिएका प्रकाशमानलाई देउवाले गुन तिर्नु पर्ने चर्चा सुरु भएको छ ।

प्रकाशमानसहित पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधिलगायतका नेता नेतृत्व गरेर सरकारमा जाने कसरतमा जुटेका छन् । समानुपातिक सांसदले नेतृत्व गरेर सरकारमा जाँदा राम्रो सन्देश नजाने भएकोले प्रत्यक्ष निर्वाचित सांसदकै नेतृत्वमा सरकारमा पठाउनु पर्ने देउवामाथि दबाव छ ।

सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय आफैंसँग राख्न चाहेकोले उपप्रधानमन्त्रीसहित गृहको नेतृत्व गर्ने प्रकाशमानको चाहना पूरा नहुने देखिन्छ । गृह नपाए स्वास्थ्य मन्त्रालय लिनु पर्ने उनी निकटले सुझाएका छन् । तर, काठमाडौंबाट निर्वाचित भएका प्रकाशमानलाई सहरी विकास मन्त्रालय ‘फिट’ हुने देखिन्छ ।   प्रकाशमानले गृहमा दाबी गर्ने, स्वास्थ्यमा जाने की भौतिक पूर्वाधार वा सहरी विकास मन्त्रालय खाने भन्ने कुरा टुंगोमा पुगिसकेको छैन ।

काठमाडौं उपत्यकका विकास प्राधिकरण, एकीकृत बागमती विकास सभ्यताजस्ता काठमाडौंसँग जोडिएका निकायहरू सहरी विकास मन्त्रालयसँग रहेका छन् । भौतिकले देशभरका सडक र पुल हेर्छ । स्वास्थ्यमा पनि काम गर्ने ठाउँ नभएको हैन । तर, स्वास्थ्यभन्दा सहरी विकासबाट काठमाडौंमा काम गर्ने धेरै ठाउँ देखिन्छ ।

प्रकाशमान जस्तो स्वच्छ छवि अनुभवी व्यक्तिका लागि गृह मन्त्रालय सबैभन्दा उपयुक्त हो । सांसदको भूमिकामा धोबीखोलालगायतका करिडोर निर्माणको अवधारणा ल्याउने उनलाई सहरी विकास पनि उपयुक्त देखिन्छ । बानेश्वर, कोटेश्वर जस्ता स्थानमा अण्डरपास सडक निर्माण गर्नु पर्ने अत्यावश्यक भएकाले प्रकाशमानले भौतिक पूर्वाधार मन्त्रालय पाए काठमाडौंको मुहार फेरिने विश्वास छ ।

कांग्रेसबाट प्रकाशमानले नेतृत्व गरेर सरकारमा गए स्वास्थ्यमा जालान् की सहरी विकास खालान् धेरैको चासोको विषय छ ।

क्याटेगोरी : समाचार
ट्याग : #प्रकाशमान सिंह, #सहरी विकास मन्त्रालय, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com