न्याम्सको उपकुलपतिमा डा. भुपेन्द्रको नाम अगाडि


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति बन्न चिकित्सकहरूबीच दौडधुप सुरू भएको छ ।  न्याम्सको उपकुलपति (भिसी) बन्न नेपाली कांग्रेस निकट चिकित्सक र नेकपा माओवादी केन्द्र निकट चिकित्सकहरू दौडधुपमा लागेका हुन् ।

न्याम्सका तत्कालीन सहकुलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको जोडबलमा न्याम्सको भिसी बनेका डा. डिएन साह ४ वर्षे कार्यकाल सकेर घर गएका छन् । अहिले स्वास्थ्यमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेका छन् । अबको हप्ता दिनमा स्वास्थ्य मन्त्रालयमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री आउने प्रवल सम्भावना देखिन्छ ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका नेकपा एमालेका पदम गिरीले पार्टीको निर्णय अनुसार राजीनामा दिएपछि उक्त मन्त्रालय कांग्रेसले पाउने अवस्था आएको हो । गिरी स्वास्थ्य मन्त्री भइरहेको भए न्याम्सको भिसी जागेश्वर गौतम हुने निश्चित जस्तै थियो । एमाले सरकारबाट बाहिरिएपछि कांग्रेस र माओवादी निकट चिकित्सकहरू न्याम्सको भिसीको ‘रेस’मा देखिएका हुन् ।

न्याम्सको भिसीको ‘रेस’मा पटक-पटक वीर अस्पतालको नेतृत्व गरिसकेका डा. भुपेन्द्र कुमार बस्नेत, डा. बुलन्द थापा, डा. गुणराज लोहनी, डा. रतेन्द्र श्रेष्ठलगायत रहेका छन् । त्यसमा पनि सबैभन्दा अगाडि कांग्रेस निकट भुपेन्द्र र माओवादी निकट लोहनी रहेको चर्चा छ ।

डेमोक्र्याट चिकित्सक डा. भुपेन्द्र त्यो खेमाका एकल प्रतिस्पर्धी हुन् । उनी सबैलाई मिलाएर व्यवस्थापन गर्न सक्ने क्षमता भएको व्यक्तिको रुपमा परिचित छन् । न्याम्सभित्र भुपेन्द्रलाई ल्याउनु पर्छ भन्ने विषयमा एकमत देखिन्छ । अहिलेको अवस्था हेर्दा न्याम्सको भिसीको ‘रेस’मा डा. भुपेन्द्र सबैभन्दा अगाडि देखिएका छन् ।

यता स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट अवकाश प्राप्त डा. गुणराज लोहनी न्याम्सको भिसीको ‘रेस’मा लागेका छन् । वीर अस्पतालको दरबन्दीमा प्रमुख विशेषज्ञ बनेका उनी त्यहाँ जान अनइच्छुक भएर स्वास्थ्य मन्त्रालयमै बिताए । वीर अस्पतालको नेतृत्व गर्ने हिम्मत नगरेका माओवादी स्वास्थ्य विभाग सदस्य डा. लोहनी न्याम्सको भिसी बन्न भने तातिएका छन् । तर, उनलाई डा. भुपेन्द्रले उछिनेको चर्चा छ ।

माओवादी निकट हुँ भन्दै डा. बुलन्द थापा र डा. रतेन्द्र श्रेष्ठ पनि न्याम्सको भिसीको ‘रेस’मा देखिएका छन् । बुलन्दले आफू भिसी बन्न योग्य रहेको दाबी गर्दै माओवादी नेताकहाँ धाइरहेको चर्चा छ । तर, उनीभन्दा अगाडि डा. लोहनी रहेको माओवादी वृत्तमा चर्चा छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, #डा. गुणराज लोहनी, #डा. बुलन्द थापा, #डा. भुपेन्द्र बस्नेत, #न्याम्सको भिसीको 'रेस'मा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com