स्वास्थ्यमन्त्री मोहन बस्नेतसहितको सपथ आज


काठमाडौं । प्रस्तावित स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहितको सपथ आज हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्ने भएका छन् । यसका लागि उनले सबै पार्टीबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम माग्दै छन् ।

प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार आज दिउँसो ३ बजे मन्त्रीहरूलाई सपथ खुवाउने तयारी गरिएको छ । यो विषयमा राष्ट्रपति कार्यालय शीतल निवासलाई जानकारी गराइसकिएको उनको भनाइ छ ।

सत्ता गठबन्धनको बैठकमा कांग्रेसले ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादीले २/२, जनमतले एक मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक-एक मन्त्रालय लिने सहमति बनेको थियो । उक्त सहमति अनुसार प्रधानमन्त्री दाहालले नाम माग्ने तयारी गरेको छ ।

८ मन्त्रालय पाएको कांग्रेसले मन्त्रीमा पठाउनेको नाम लगभग ‘फिक्स’ गरिसकेको छ । कांग्रेसले स्वास्थ्यमन्त्रीमा मोहनबहादुर बस्नेतलाई पठाउने निश्चित भएको छ । कांग्रेसबाट नेतृत्व गरेर उपसभापति पूर्णबहादुर खड्का जाँदैछन् । उनी उपप्रधानमन्त्री एवं रक्षामन्त्री बन्ने सम्भावना छ । तर, खड्काको दाबी परराष्ट्रमा रहेको कांग्रेस नेताहरू बताउँछन् । उनकै कारण हिजो सपथ हुन नसकेको बताइन्छ ।

कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्दैछन् । उनी आएपछि सरुवा, बढुवामा हुने पैसाको चलखेल रोकिने विश्वास गरिएको छ । डा. शेखर कोइरालाका विश्वासपात्र डिगबहादुर लिम्बू कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बन्ने निश्चित भएको छ ।

तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित कांग्रेसकी एक मात्र महिला सांसद सिता गुरूङ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने छिन् । त्यस्तै एनपी साउँद सहरी विकासमन्त्री, प्रकाशशरण महत अर्थमन्त्री र  रमेश रिजाल परराष्ट्रमन्त्री बन्ने गरी नाम तय भएको छ । कांग्रेसबाट मन्त्री बन्नेको नाम पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई बुझाउँदैछन् ।

नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात र बेदुराम भुसाल कृषिमन्त्री बन्ने सम्भावना छ ।

जनता समाजवादी पार्टी नेपालका अशोक राई शिक्षा र लोकतान्त्रिक समाजवादी पार्टीका शरदसिंह भण्डारी श्रममन्त्रीको रुपमा सपथ खाँदैछन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएकी छिन् । नेकपा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री बन्नेछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको गृह र सामान्य प्रशासनमन्त्री बनेका अमनलाल मोदीको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा हुने भएको छ ।

खानेपानीमन्त्री बनेका जनमतका अब्दुल खानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएका छन् । नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव खानेपानीमन्त्री बन्ने निश्चित जस्तै देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com