बागमतीको स्वास्थ्यमन्त्रीमा निमाको सपथ रोक्ने प्रयास गरेका मोहन आफैं रोकिए


काठमाडौं । २०७८ कार्तिक १५ गते नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा बनेको बागमती प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा कांग्रेसले निमा लामाको नाम सिफारिस गर्‍यो । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सिन्धुपाल्चोक २(२) बाट निर्वाचित निमालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेको थियो । तर, कांग्रेस केन्द्रीय सदस्य समेत रहेका मोहनबहादुर बस्नेत निमालाई स्वास्थ्यमन्त्री हुन नदिन सुरिएर लागे ।

स्वास्थ्यमन्त्रीमा निमाको सपथ रोक्न डेंगु लागेर गलेका बस्नेत पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । उनले आफूलाई नसोधी निमालाई इन्द्रले स्वास्थ्यमन्त्री बनाउन खोजेको भन्दै सपथ रोक्न देउवालाई अनुरोध गरे । मोहनले चेतावनी दिएपछि देउवाको निर्देशनमा निमाको सपथ रोकियो ।

२०७८ कार्तिक ११ पाण्डेको नेतृत्वमा बनेको सरकारमा कांग्रेसका कृष्णलाल भँडेल मात्र थियो । त्यसको ४ दिनपछि कांग्रेसले निमालाई स्वास्थ्यमन्त्रीमा पठाएको थियो ।   देउवाले निमालाई सपथ नगराउन इन्द्रलाई निर्देशन दिएपछि सपथ बिथोलियो । सञ्चार माध्यममा समेत निमाले स्वास्थ्यमन्त्रीको सपथ खाँदै भनेर समाचार दिइसकेका थिए । बालुवाटारबाटै हस्तक्षेप भएपछि बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बानियाँ र उपनेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री भँडेल हतार-हतार देउवालाई भेट्न बालुवाटार पुगे । सपथ रोकिए पार्टी कै बेइज्जत हुन्छ भनेपछि देउवा सकारात्मक भए । देउवा राजी भएपछि निमाले निर्धारित समयभन्दा ३ घण्टापछि मात्र स्वास्थ्यमन्त्रीमा सपथ खान पाए ।

इन्द्रले निमालाई जसरी पनि मन्त्री बनाएपछि मोहन रुष्ट भए । मोहनले निर्वाचित सांसद निमालाई टिकट नदिएर सिन्धुपाल्चोक २(२) बाट कृष्ण कुमार तामाङ दिए । निर्वाचित सांसद र बहालवाल स्वास्थ्यमन्त्री निमा हेरेको हेरै भए । मोहनको तुष त्यत्तिमै मेटिएन उनी इन्द्रलाई संसदीय दलको नेता हुन नदिन खुलेरै लागे । हराएरै छाडे । मोहन कस्सिएर लागेपछि कांग्रेस प्रदेश संसदीय दलको नेतामा इन्द्रलाई बहादुर सिंह लामाले बाजी मारे ।

स्वास्थ्यमन्त्रीमा निमाको सपथ रोक्न लागेका मोहन हिजो संघीय स्वास्थ्यमन्त्रीको सपथ खानबाट आफैं बञ्चित भए । निमाको नजिर आफैंतिर फर्किएपछि स्वास्थ्यमन्त्री बन्न खोजेका मोहन अहिले तिल्मिल्याएका छन् । उनी जसरी पनि स्वास्थ्यमन्त्री बन्न लागिपरेका छन् । तर, उक्त मन्त्रालयमा प्रदीप पौडेल, दीपक खड्का, बद्री पाण्डे, मोहन र एनपी साउदमध्ये को आउँछ हेर्न बाँकी नै छ ।

मन्त्रिपरिषद्को नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, वन, कानुन र युवा तथा खेलकुद र खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसको भागमा स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, कानुन र युवा तथा खेलकुद मन्त्रालय परेको छ । जनमत पार्टीले खानेपानी मन्त्रालय छाडेर हिँडेपछि उक्त मन्त्रालय कांग्रेसले ‘बोनस’ पाउने अवस्था देखिन्छ ।

कांग्रेसले सुदुरपश्चिम प्रदेशबाट प्रचण्ड सरकारमा प्रतिनिधित्व गराएको छैन । उक्त प्रदेशबाट एनपी साउद खानेपानी मन्त्री बनेर जाने सम्भावना छ । देउवाले खानेपानी मन्त्रालय दिए आफ्नोे पार्टीलाई सहज हुने प्रस्ताव गरेका छन् । यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको कांग्रेस नेताहरू बताउँछन् ।

कांग्रेसबाट मोहनको स्वास्थ्यमन्त्री बन्ने सम्भावना क्षिण हुँदै गएको छ । स्वास्थ्यमा प्रदीप पौडेल, जीवन परियार, धनराज गुरुङमध्ये शेखर-गगन समूहबाटै  हुने सम्भावना बढेको छ । कांग्रेसभित्र स्वास्थ्यमन्त्री बन्न मारामार देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #प्रदीप पौडेल, #मोहन बस्नेत, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री निमा लामा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com