एनएचआरसीको ९ औं शिखर सम्मेलन सुरु, स्वास्थ्य क्षेत्रको सुधारमा भुमिका खेल्ने अपेक्षा


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको नवौं शिखर सम्मेलन आजबाट काठमाडौंमा सुुरु भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा सुरु भएको सम्मेलनमा नेपालको स्वास्थ्य क्षेत्रमा आवद्ध भएका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन शत्रमा सम्बोधन गर्दै परिषद्का सदस्य सचिव डा.प्रदिप ज्ञवालीले क्लिनिक र अस्पताल वेस अनुसन्धानमा बढावा दिएको भन्दै कोभिडले अनुसन्धानमा थप सिक्ने अवसर मिलेको बताए ।

आयुर्वेदिक क्षेत्रमा अनुसन्धान बढाउने भन्दै उनले स्वास्थ्य क्षेत्रको सुधारमा भुमिका खेल्ने अपेक्षा रहेको बताए ।

उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारी राष्ट्रिय शिखर सम्मेलन गर्दै आएको र विगतका वर्षहरूमा झैँ यसवर्ष पनि परिषद्ले “स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण” भन्ने नाराका साथ नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौँ राष्ट्रिय शिखर सम्मेलन आयोजना गरेको उल्लेख गरे ।

स्वास्थ्य अनुसन्धानको दायरा फराकिलो बनाउने अभिप्रायले विभिन्न रोगहरूका लागि अध्ययन अनुसन्धानका सेन्टर फर एक्सिलेन्सको अवधारणालाई अङ्गिकार गर्दै विभिन्न शैक्षिक संस्थाहरू, प्रतिष्ठानहरू, केन्द्रहरूसँग सहकार्य र सम्झौता गरी अनुसन्धान सञ्चालन गर्ने र गराउने कार्य गरीरहेको उनले बताए ।

डा.ज्ञवालीले देश भित्र अनुसन्धानको परम्परालाई बढाउदै जाने परिषद्को योजना अनुरुप हरेक विश्वविद्यालयहरूमा अनुसन्धान शाखा, प्रकाशन शाखा तथा इथिकल रिभ्यू शाखा हुनु पर्छ भनी निरन्तर आवाज उठाइरहेको पनि बताए ।

स्वाथ्य अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि गर्ने र गराउने साथै स्नातकोत्तरको अनुसन्धान कार्यमा सबै विद्यार्थीहरूलाई अनिवार्य रुपमा अनुसन्धानसँग सम्बन्धित प्रशिक्षणहरू प्रदान गर्ने योजनामा रहेको उनले जानकारी गराए ।

डा.ज्ञवालीले विश्वव्यापी रुपमा वद्लिदो परिवेश बमोजिम अनुसन्धानलाई थप परिष्कृत र सबल बनाउन वायोमेडिकल्जेनोमिक रिसर्च लगायतको क्षेत्रमा अनुसन्धानात्मक कार्य अगाडी बढाउने परिषद्को योजना रहेको भन्दै त्यसका लागि आवश्यक अनुसन्धानसँग सम्बिन्धत प्रयोगशाला निर्माण कार्य, क्लिनिकल ट्रायल रजिस्ट्रीका साथ अन्य रोगहरूको विषयगत रजिष्ट्रीको व्यवस्थित सञ्चालन जस्ता विषयमा परिषद्ले विषेश जोड दिँदै जाने बताए ।

उनले हाम्रो पहिचानको रुपमा रहेको औषधिजन्य जडिबुटिको अध्ययन अनुसन्धानका लागि ड्रग डेभलपमेन्ट लगायतका अनुसन्धानात्मक कार्यलाई प्राथमिकतामा राखिएको भन्दै साथै परिषद्ले देशमा पाईने विभिन्न प्रकारका जडिबुडीको बारेमा अध्ययन अनुसन्धान गरी आयुर्वेद चिकित्सा पद्धतिमा थप टेवा पुर्याउने कोसिश गरिरहेको उल्लेख गरे ।

नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउने, नवप्रर्वतनलाई प्रोत्साहित गर्नुको साथै व्यावहारिक समस्या समाधानहरूमा रुपान्तरण गर्न शौक्षिक संस्थाहरू, उद्मोगहरूबीचको सहकार्यलाई सम्मेलनले बढावा दिने उनले बताए ।

सम्मेलनबाट प्राप्त नतिजाहरूलाई एकै ठाउमा राखी विज्ञहरूसँग पुनः छलफल गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत सरकारलाई पठाइने र आगामी दिनमा सरकारलाई नीति निर्माणमा सहज हुने पनि उनको भनाइ छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा.प्रदिप ज्ञवाली, #नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, #स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com