स्वास्थ्यमन्त्री नभएको मौका छोपी खनाललाई नर्सिङ काउन्सिलको रजिष्ट्रार बनाउने खेल


काठमाडौं । कांग्रेसको भागमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियुक्तिका लागि प्रधानमन्त्रीको सचिवालयले चलखेल थालेको छ ।

कांग्रेसको दुई गुटभित्रको लडाईंको फाइदा उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले स्वास्थ्यका राजनीतिक नियुक्तिमा चलखेल थालेको हो । कांग्रेसीहरू आपसमा लडेर स्वास्थ्यमन्त्री नपठाउँदा त्यसको फाइदा प्रधानमन्त्रीको सचिवालयले उठाउन खोजेको हो ।

स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्री दाहालको सचिवालयले नेपाल नर्सिङ काउन्सिलको रजिष्ट्रारलगायत राजनीतिक नियुक्तिमा चासो देखाएको हो । प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीका अनुसार शुक्ला खनाललाई नेपाल नर्सिङ काउन्सिलको रजिष्ट्रार बनाउने तयारी भइरहेको छ । खनाललाई रजिष्ट्रार बनाउने प्रस्ताव स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै क्याबिनेटमा पुगिसकेको ती अधिकारीले बताए ।

स्वास्थ्यमन्त्री नभएको माैका छोपेर खनाललाई नर्सिङ काउन्सिलको रजिष्ट्रार बनाउन प्रधानमन्त्रीको सचिवालय चलखेलमा लागेको हो  । कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालय परेको र उपचुनावलगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएकाले प्रधानमन्त्रीको सचिवालय स्वास्थ्यका नियुक्तिमा हतारिएको देखिन्छ ।  प्रधानमन्त्री सचिवालयको हतारो हेर्दा स्वास्थ्यका महत्त्वपूर्ण नियुक्तिमा नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मीहरू हेरेका हेरै हुनेछन् ।

आफ्नो भागमा परेको स्वास्थ्य मन्त्रालयमा मन्त्री पठाउन नसक्ने कांग्रेसीहरु स्वास्थ्यका महत्त्वपूर्ण नियुक्तिमा जिल्लिने खतरा बढेको छ । कांग्रेस निकट स्वास्थ्यकर्मीहरुले भने एकलौटी रुपमा खनाललाई नर्सिङ काउन्सिलको रजिष्ट्रार बनाउन रोक्नु पर्ने बताउँछन् ।

कांग्रेसका मन्त्रीहरूले आफ्नो भागमा परेको स्वास्थ्य मन्त्रालयको महत्त्वपूर्ण राजनीतिक नियुक्ति क्याविनेटमा आउँदा रोक्ने प्रयास गर्छन् की टुलुटुलु हेरेर बस्छन् हेर्न बाँकी छ । यसले उनीहरूको क्षमता समेत जाँज्ने छ ।

नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्यमा एकलौटी रुपमा हुन लागेका नियुक्ति रोक्न कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेत रमेश लेखकलाई ध्यानाकर्षण गराइसकेको छ । तर, उनीहरूलाई चुनाैती दिँदै प्रधानमन्त्री दाहालको सचिवालले खनाललाई नर्सिङ काउन्सिलको रजिष्ट्रार बनाउन चलखेलमा लागेको हो । यो देउवाका लागि समेत चुनौती भएको संघका अधिकारीहरु बताउँछन् ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. कृष्ण अधिकारी मेडिकल काउन्सिल रजिष्ट्रार, #नेपाल नर्सिङ परिषद्, #नेपाली कांग्रेस, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #शुक्ला खनाल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com