आर्थिक मन्दीमा आलिसान रिसोर्टमा मानवअंगकाे भतेर, स्वास्थ्य सचिव भतेरमा जाने की हस्तक्षेप गर्ने ?


काठमाडौं । नेपालमा आर्थिक मन्दीले गर्दा कर्मचारीलाई तलब खुवाउन धौं-धौं परेको छ । यो महिनाको तलब पाइन्छ की पाईंदैन भनेर अधिकांश सरकारी कर्मचारीहरु चिन्तित देखिन्छन् । तर, देशको यस्तो अवस्थाको नजरअन्दाज गर्दै भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रले भोजभतेर गर्न खोजेको छ ।

केन्द्रले अस्पतालको सेवा प्रभावित पार्दै रिसोर्टमा वार्षिकोत्सव मनाउन लागेको छ । केन्द्रले सोमबार अस्पताल परिसरमा कार्यक्रम नगरी ललितपुरस्थित एक रिसोर्टमा वार्षिकोत्सव मनाउन लागेको हो ।

स्वास्थ्य लाइभलाई प्राप्त पत्र अनुसार केन्द्रले ललितपुरको पूर्णज म्युजियम रिसोर्टमा कार्यक्रम गर्न लागेको छ । यसका लागि केन्द्रबाट चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई रिसोर्टमा लैजाने तयारी गरेको हो । शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले पूर्णज म्युजियम रिसोर्ट, झरुवारासीमा सोमबार दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म हुने कार्यक्रमको प्रमुख अतिथि बनिदिन आग्रह गरेका छन् । स्वास्थ्यकर्मीहरूले समयमै तलब नपाइरहेको अवस्थामा स्वास्थ्य सचिवलाई रिसोर्टमा बोलाएर पुकारले बेइज्जत गर्न खोजेको स्वास्थ्य मन्त्रालय कै उच्च अधिकारीहरूको टिप्पणी रहेको छ ।

यता शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र कै स्वास्थ्यकर्मी र कर्मचारीले पनि रिसोर्टमा कार्यक्रम राखेकोमा राम्रो मानेका छैनन् । तर, पुकारसामु उनीहरू निरीह देखिछन् ।

‘केन्द्र परिसरमा नै वार्षिकोत्सव मनाउन छाडेर रिसोर्टमा लगेर कार्यक्रम गर्न लागिएको छ,’ केन्द्रका एक कर्मचारीले भने, ‘यहीँ बिरामीसँग वार्षिकोत्सव मनाउँदा राम्रो हुने थियो । तर, खै रिसोर्टमा लगेर यहाँको सेवा किन प्रभावित गर्न खोजेको हो हामीले बुझेका छैनौं।’, रिसोर्टमा कार्यक्रम राखेको विषयमा केन्द्रभित्रै खैलाबैला मच्चिएको छ ।

देशको आर्थिक अवस्था बिग्रदो रहेको बेला केन्द्रको भतेरमा मन्त्रालयका अधिकारीहरु जान्छन् की यस्तो गलत कार्यलाई रोक्न तर्फ लाग्छन् हेर्न बाँकी छ । स्वास्थ्य सचिव डा. राेशन पाेखरेलकाे याे परीक्षा हाे । मन्दिमा मन्त्रालयबाट पैसा माग्दै भतेर लगाउने डा. पुकारकाे कार्यक्रममा जाने की राेक्ने याे सचिव पाेखरेलकाे परीक्षा हाे । केन्द्र कै कर्मचारीहरू रिसोर्टमा कार्यक्रम राख्दा नराम्रो म्यासेज जाने भन्दै यस्तो गलत ठाउँमा हुने कार्य रोकियोस् भन्ने चाहन्छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##भतेर, #कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ, #पूर्णज म्युजियम रिसोर्ट झरुवारासी, #शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, #स्वास्थ्य सचिव डा. रोशन पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com