कांग्रेसभित्र कुरा नमिल्दा रास्वपाले स्वास्थ्य मन्त्राउने उछिट्याउने सम्भावना


काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक कुरा मिलेको भए उपनिर्वाचन अगाडि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाइसकेको थियो । उक्त मन्त्रालयको नेतृत्वमा मोहनबहादुर बस्नेत वा प्रदीप पौडेल आइसकेका हुने थिए । तर, उपनिर्वाचन पछाडिको परिस्थिति फरक बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा तनहुँ-१ र चितवन-२ बाट चुनाव जितेपछि परिस्थिति फेरिएको हो । तनहुँ-१ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उक्त क्षेत्र कांग्रेसले गुमाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )ले पाएको छ । कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले भारी मतले विजयी भएपछि सत्ता गठबन्धन दबावमा परेको छ ।

रास्वपका सभापति रवि लामिछाने गृहसहित शक्तिशाली मन्त्रालय पाए सरकारमा जाने भएको छ । उनको पार्टीले गृह, स्वास्थ्य तथा जनसंख्या र श्रम मन्त्रालयतर्फ आँखा सोझ्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पनि रास्वपालाई गृह, स्वास्थ्यसहित ३ मन्त्रालय दिएर सरकारमा सहभागी गराउन सकारात्मक रहेको बुझिन्छ ।

कांग्रेसका आन्तरिक किचलोले रिक्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रास्वपालाई दिन प्रधानमन्त्री दाहाललाई सहज भएको छ । प्रधानमन्त्री दाहाल निकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री रास्वपालाई गृह, स्वास्थ्यसहित ३ मन्त्रालय दिएर सरकारमा सहभागी गराउने मनस्थितिमा पुगेका छन् । यसमा रास्वपाका सभापति लामिछाने पनि तयार रहेकाले माओवादीको भागमा रहेको गृह र कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालय रास्वपाको पोल्टामा जाने सम्भावना छ ।

रास्वपाले स्वास्थ्य मन्त्रालय ताकेपछि स्वास्थ्यमन्त्री बन्न र बनाउन हानथाप गरिरहेका कांग्रेसका दुई गुटलाई ‘कुकुर-बिरालो झगडा गरे खिर कागले खाइदियो’ भने जस्तै हुने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #मोहनबहादुर बस्नेत- प्रदीप पौडेल, #रवि लामिछाने, #राष्ट्रपति रामचन्द्र पौडेल, #राष्ट्रिय स्वतन्त्र पार्टी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com