कीटाणु मार्न बनेका एन्टिबायोटिकले मान्छे मार्न थाले 

दर्जनौं एन्टिबायोटिक माटो बराबर, काम गर्ने पनि अत्याधिक महँगो गरिबको पहुँचमा छैन


उदाहरण १ 

दाङकी कमला (नाम परिवर्तन) रानाभाट उमेरले २१ वर्ष लागिन् । चिकित्सकका अनुसार रानाभाट प्रमाणित क्षयरोगकी बिरामी हुन् । उनको टाउको, फोक्सो, आँखा लगायत शरीरका बिभिन्न भागमा क्षयरोगको कीटाणु देखिएको छ । स्वास्थ्य अवस्था जटिल भएकी उनको हाल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

रानाभाटले विगतमा पनि धेरै एन्टिबायोटिक सेवन गरेकी थिइन् । २२ वटा एन्टिबायोटिक औषधी मध्ये ४ वटा एन्टिबायोटिकले मात्रै रानाभाटको शरीरमा सामान्य काम गरेको छ । १८ वटा एन्टिबायोटिकले उनलाई काम गरेको छैन । रानाभाट एएमआर रेसिस्टेन्स कै कारण हाल मृत्युसँग जुधिरहेकी छन् ।

उदाहरण  २

प्रविण (नाम परिवर्तन) वैद्यलाई विगत साढे तीन महिना देखि निरन्तर ज्वरो आइरहेको छ । यस बिचमा उनले थुप्रै जाँच गराए । काठमाडौं निवासी ६९ वर्षका वैद्यलाई बिस्तारै टाउको समेत दुख्न थाल्यो । यस बिचमा उनलाई छारे रोग देखा पर्ये, उनी शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भए ।

चिकित्सकले बताए अनुसार वैद्यको ढाँडको पानी जाँच गर्दा क्षयरोग देखियो । तीन हप्ता देखि उनलाई शिक्षण अस्पतालको सघन उपचार कक्षमा भर्ना गरेर क्षयरोगको औषधि चलाइएको छ । तर, यस बिचमा अक्सिजनको समेत थप सपोट चाहिएकाले छातीको जाँच गर्दा निमोनिया देखा परेको चिकित्सक बताउँछन् ।

“निमोनिया भएको बिरामीको खकारको जाँच समेत गरिन्छ डाक्टर सन्त कुमार दासले भने, “उहाँको खकारको जाँच गर्दा केही देखिएन । हामीले थप पाइपको माध्यमबाट नमुना झिकी जाँच गर्दा एन्टिबायोटिक रेसिस्टेन्स देखियो ।” वैद्यको शरीरमा २ वटा एन्टिबायोटिकले मात्रै काम गरिरहेको देखिएको छ भने १९ वटा एन्टिबायोटिक  रेसिस्टेन्स भएको छ ।

उदाहरण  ३

गत ०७९ भदौ १९ गते संगीता शर्मा (थर परिवर्तन) उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भइन् । लामो समय देखि बेला बेला ज्वरो आउँने समस्या उनमा देखिएको थियो । सुरुका केही महिना रुघा खोकी ज्वारो आउँदा चिकित्सकको सिफारिस बिना नजिकैको औषधि पसलबाट दबाइ किनेर खाने गरेको उनका बुबा हरि शर्मा बताउँछन् । समस्या बल्झिरहे पछि ०७९ भदौ १९ गते प्रयोगशाला परिक्षण गर्दा इ‍कोलाई देखियो ।

सामान्यतया यो ब्याक्टेरिया मानिसको आन्द्रामा हुन्छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निर्देशक डा श्रवण मिश्रका अनुसार दुई वटा एन्टिबायोटिकले मात्रै उनलाई काम गरेको अवस्था छ । उक्त रोगमा आवश्यक पर्ने बाँकी ११ वटा एन्टिबायोटिक रेसिस्टेन्स भएको छ ।

एन्टिबायोटिकले काम गर्न छाडेर रेसिस्टेन्स भएका तीन वटा घटना प्रतिनिधिका बिम्व मात्रै हुन् । साइलेन्ट महामारीको रुपमा देखा परेको एन्टिमाइक्रोबिएल रेजिस्टेन्सले रानाभाट, वैद्य र शर्मा जस्ता कयौंलाई जीवन र मरणको संघारमा पुर्याएको छ । राज्यलाई एएमआर रेसिस्टेन्स साइलेन्ट महामारीको रुपमा देखा परेको जानकारी भए पनि नियन्त्रण र जनचेतना अभिबृद्धिमा कुनै काम भएको छैन ।

चिकित्सकहरुका अनुसार जथाभाबी बढ्दै गएको एन्टिबायोटिकको सेवनले यी एन्टिबायोटिक औषधिहरु प्रभाव विहिन हुँदै गएका छन् । एन्टिबायोटिकको दुरुपयोगले जन स्वास्थ्यमा गम्भिर चुनौती ल्याएको छ । विगतमा मानिसको शरीरमा भएको ब्याक्टेरिया अर्थात जिवाणु मार्न बनेका एन्टिबायोटिकले अहिले नागरिक मार्न थालेका छन् । दर्जनौं एन्टिबायोटिकहरु माटोसरह भएका छन् । नागरिकको शरीरमा भएको जिवाणु गर्ने भन्दा मलजल गर्ने काम धेरै भएको छ ।

चिकित्सकहरु भन्छन् छिटफुट एन्टिबायोटिकले काम गरेको छ तर, त्यो असाध्यै महँगो छ गरिब जनताको सहज पहुँचमा छैन । सामान्य स्वास्थ्य समस्याहरुमा क्लिनिकल र प्रयोगशाला परीक्षण बिना एन्टिबायोटिकको सेवन, समय अवधि सम्म पूर्ण मात्रा एन्टिबायोटिक नखानु, कम गुणस्तरका एन्टिबायोटिकको प्रयोग, जस्ता थुप्रै समस्याले गर्दा एन्टिबायोटिक “प्रभाव विहिन” बन्न पुगेको हो ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्स वा “प्रतिजैविक प्रतिरोध” विश्वका शीर्ष १० स्वास्थ्य खतराको सूचीमा छ । एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणको विरुद्धमा अहिले नै कुनै कदम चालिएन भने, सन् २०५० सम्ममा १ करोड मानिसहरुको मृत्यु हुने अनुमान छ । साथै विश्वव्यापी वार्षिक १३१० खर्ब नेपाली रुपैयाँको आर्थिक क्षति हुने अनुमान गरिएको छ । त्यस्तै, सन् २०३० सम्ममा एन्टिमाइक्रोबियल रेजिस्टेन्सले २ करोड ४० लाख मानिसलाई चरम गरिबीमा धकेल्ने अनुमान गरिएको छ ।

प्रतिजैविक प्रतिरोध अन्त्य वा न्युनिकरणको लागि एक स्वास्थ्य अन्तर्गतका सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने हुन्छ, तर, नेपालमा भएको छैन । एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् रोग प्रतिरोधी समस्या बढ्दो स्तरमा छ । किलरका रुपमा अगाडी देखिएको एन्टिबायोटिकलाई नजरअन्दाज गर्नु जनस्वास्थ्यका लागि हानिकारक हुन सक्छ । जसरी जीवाणुहरू विकसित हुँदै छन् ती यिनै औषधीप्रति प्रतिरोधी बन्दै गइरहेका छन् ।

शिक्षण अस्पतालका बरिष्ठ छाती रोग विशेषज्ञ चिकित्सक डा सन्त कुमार दास एन्टिबायोटिकले काम नगर्दा विभिन्न ब्याक्टेरियाबाट हुने संक्रामक रोगको उपचारमा समस्या देखिएको बताउँछन् । हरेक अस्पतालमा एएमआरका बिरामी छन् । कयौंको मृत्यु भइरहेको छ तर, यसमा कसैको ध्यान गएको छैन डा दास भन्छन् ।

चिकित्सकहरु भन्छन् ब्याक्टेरियाबाट हुने संक्रमणको उपचारमा एन्टिबायोटिक प्रयोग गरिन्छ तर, यसको जथाभाबी दुरुपयोगले गर्नुपर्ने काम गर्न छाडेको छ । एन्टिबायोटिकले गर्ने काम निकै प्र्रभाव विहिन हुदै गएको सूक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलाल बताउँछन् । विश्वमा विभिन्न किसिमका सुक्ष्म जिवाणुहरु हुन्छन् । उनिहरु धेरै वर्ष अगाडी देखि बाँचिरहेका छन् । यी जिवाणु एकले अर्कालाई मार्नका लागि निकाल्ने वस्तुलाई एन्टिवायोटिक भनिन्छ ।

एन्टिवायोटिकलाई छलेर बाँच्न जिवाणुहरु कोसिस गरिरहेका हुन्छन् । ज्वरो, फ्लू, खोकी, शरीर दुख्ने सामान्य स्वास्थ्य समस्याहरुमा क्लिनिकल र प्रयोगशाला परीक्षण बिना, मानिसहरु एन्टिवायोटिक खान्छन् । तर, एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् रोग प्रतिरोधी समस्याले जुन कीटाणु एन्टिवायोटिकले मनुपर्ने हो, त्यो मर्दैन बरु सो किटाणुले एन्टिवायोटिकको क्षमतालाई कमजोर बनाएर जिवाणु बाच्छ र थप रोग लगाउँछ । यसले गर्दा विश्वमा ठुलो जनको क्षती भइरहेको छ ।

अक्सफोर्ड विश्वविद्यालयको प्रतिवेदन २०२२ अनुसार सन् २०१९ मा विश्वभर अनुमानित १२ लाख ७० हजार मानिसको मृत्यु हुनुमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) प्रत्यक्ष रूपमा जिम्मेवार थियो । यदि यसको नियन्त्रणको विरुद्धमा अहिले नै कुनै कदम चालिएन भने, सन २०५० सम्म एएमआरको कारणले १ करोड मानिसहरुको मृत्यु हुने अनुमान गरिएको छ, डा दुलाल भन्छन् ।

सन् २०३० सम्ममा एन्टिमाइक्रोबियल रेजिस्टेन्सले २ करोड ४० लाख मानिसलाई चरम गरिबीमा धकेल्ने अनुमाने गरिएको छ । औषधिको गुणस्तर कम, फार्मेसीको हेलचेक्राई, पुरा डोज सेवन नगर्नु, चिकित्सकले प्रयोगशाला को निदानको प्रमाण बिना हचुवा मा प्रेस्क्रिसन लेख्ने, ल्याव परिक्षण नगरि एन्टिवायोटिक खान अनुरोध गर्नु, औषधिको जथाभाबी भण्डारण र डम्पिङ जस्ता कमजोरीले एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् रोग प्रतिरोधी समस्या ल्याएको डा दुलाल बताउँछन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ## राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल, ##एन्टिबायोटिक, ##एन्टिमाइक्रोबियल रेजिस्टेन्स, #त्रि वि. शिक्षण अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ