बागमती प्रदेश सरकारमा पनि पेलिए महामन्त्री गगन थापा


काठमाडौं । केन्द्रीय ससारको स्वास्थ्यमन्त्री बनाउन नसकेका पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा बागमती प्रदेश सरकारमा पनि पेलिएका छन् ।

आफ्नै प्रदेश बागमतीमा कांग्रेस महामन्त्री समेत रहेका थापालाई पेलेर डा. शेखर कोइराला निकट उत्तम जोशीलाई स्वास्थ्यमन्त्री बनाइएको छ ।

डा. शेखरले बागमतीमा गगनको मान्छे मन्त्री बनाउन बाटो छोडिदिन्छन् भन्ने धेरैको अनुमान थियो । किनकी शेखरको गृह जिल्ला, क्षेत्र कोशी र गगनको बागमती हो । तर, शेखरले उनलाई बागमतीमा पनि लोप्पा खुवाइदिएर आफू निकट जोशीलाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेका छन् ।

कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्माले प्रदीप पौडेललाई स्वास्थ्यमन्त्री बनाउन लबिइङ गरेका थिए । पार्टी सभापति शेरबहादुर देउवा निकट मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री बनेपछि गगन-विश्व हेरेको हेरै भए । शेखर-गगनको भागमा परेका संघका ३ मन्त्रालयमा पनि शेखरले एकलौटी गरे ।

शेखरको सिफारिसमा उपसभापति धनराज गुरुङ कानुन, न्याय संसदीय व्यवस्था र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बने । बाँकी एउटा मन्त्रालयमा पनि राष्ट्रपति रामचन्द्र पौडेललाई देखाउँदै शेखर निकट सुरेन्द्र आचार्य महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बने । संघीय सरकारमा ३ वटा कोटा पाउँदा पनि एउटा मन्त्री बनाउन नसकेका गगनको बागमती प्रदेशमा पनि मन्त्री बनाउने हुत्ति देखिएन ।

कांग्रेस बागमतीका धेरैले गगन निकट श्रीराम लामिछाने बागमती प्रदेशको स्वास्थ्यमन्त्री बन्छन् भन्ने चर्चा गर्थे । तर, बन्ने बेलामा डा. शेखर निकट जोशीले स्वास्थ्यमन्त्री पड्काईदिए । बागमती प्रदेशमा समेत डा. शेखरले गगनलाई हेपेर आफू निकटलाई मन्त्री बनाएको चर्चा छ । डा. शेखरको महामन्त्री थापाको हैसियत देखाइदिएको टिप्पणी हुन् थालेको छ ।

महामन्त्री गगनभन्दा शक्तिशाली स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत देखिएका छन् । उनी आफू निकट मसिना खड्कालाई वन तथा वातावरणमन्त्री बनउन सफल भएका हुन् ।

यता कांग्रेस नेता प्रकाशमान सिंहको प्रदेश क्षेत्रबाट निर्वाचित सुरज लामिछाने मन्त्री बन्न दौडधुपमा लागेका थिए । तर, उनको कोटाबाट पुकार महर्जन उद्योग, पर्यटन तथा सहकारी मन्त्री बनेका छन् । महर्जनलाई मन्त्री बनाएर प्रकाशमानले आफू क्षेत्रमा मात्र सीमित नभएको नेताको रूपमा म्यासेज दिएका हुन् ।

बागमती प्रदेशका कांग्रेस सभापति इन्द्रबहादुर बानियाँ पनि मन्त्रीको भागबण्डामा हुस्सिएका छन् । उनले मिनकृष्ण महर्जनलाई मन्त्री बनाउन खोजेका थिए । तर, बनियाँसँग संसदीय दलमा प्रतिस्पर्धा गरेर निर्वाचित भएका बहादुर सिंह लामा (तमाङ)ले रामकृष्ण चित्रकारलाई विनाविभागीय मन्त्री बनाइदिएका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)का कारण बानियाँलाई पनि पेलेर राखिएको छ ।

बागमती प्रदेश संसदीय दलका नेता लामाले पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेर गएका छन् । लामाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । आफू निकट तिर्थ लामालाई खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री बनाउन उनी सफल भएका छन् । तर,गगन थापा भने आफ्नै प्रदेशमा हेरेको हेरै भएका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #इन्द्र बहादुर बानियाँ, #गगन थापा, #डा. शेखर कोइराला, #प्रकाशमान सिंह, #प्रदिप पौडेल, #बहादुर सिंह लामा, #स्वास्थ्यमन्त्री उत्तम जोशी बागमती प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com