बालेनले मन्त्र दिएपछि प्रयोग गर्दै स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दिएको मन्त्र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्रयोग गर्न थालेका छन् । उनले बालेनको मन्त्र अनुसार काम गर्दै विपन्न वर्गको निःशुल्क स्वास्थ्य उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

स्वास्थ्यमन्त्री बस्नेतले मेडिकेयर अस्पताल र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रक  स्थलगत अनुगमन गर्दै विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १० प्रतिशत नागरिकको निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

बालेनले केही दिन अगाडि स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर छुट सुविधासम्बन्धी विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको सूची बुझाएर नियमन र कारबाही गर्न अनुरोध गरेका थिए । बालेनको मन्त्र अनुसार स्वास्थ्यमन्त्री बस्नेतले आजदेखि स्वास्थ्य संस्थाको अनुगमन सुरु गरेका छन् ।

स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ । काठमाडौं महानगरपालिकाका अनुसार महानगरभित्रका ६८ वटा स्वास्थ्य संस्थाले उक्त सुविधा उपलब्ध गराएका छैनन् ।

बालेनले ७ दिनभित्र छुट सुविधा उपलब्ध नगराउने स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने चेतावनी दिएका थिए । बालेनको उक्त चेतावनीपछि त्यो मन्त्र स्वास्थ्यमन्त्री बस्नेतले पनि प्रयोग गरेका छन् । उनले अनुगमनका क्रममा अस्पतालहरूसँग एक आर्थिक वर्षमा विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण समेत मागेका हुन् ।

स्वास्थ्यमन्त्री बस्नेतले निःशुल्क उपचार दिने र नदिने अस्पतालहरूलाई सरकारले त्यही अनुरूप हेर्ने बताउँदै  अस्पतालमा शय्या उपलब्ध छ/छैन भन्ने पनि अनलाइनमार्फत सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

आगमी दिनमा अस्पतालमा शय्या पाउनका लागि मन्त्री वा सांसदहरूले सिफारिस गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने स्वास्थ्यमन्त्री बस्नेतको उद्‌घोष छ । उनले अनुगमनका क्रममा अस्पताल र बिरामीको अवस्था समेत बुझ्न भ्याएका छन् ।

स्वास्थ्य मन्त्रालयले आफ्नो काम गर्न नजान्दा र नसक्दा बालेनले यसरी गर भनेर सिकाइदिनु परेको छ । यो विषयलाई स्वास्थ्यका जिम्मेवार अधिकारीले कसरी लिएका छन् त्यो हेर्न लायक कुरा छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com