स्वास्थ्य सचिव भइसकेका कोइराला घर गए, थपलिया यही महिना घर जाँदै


काठमाडौं । स्वास्थ्य सचिव समेत भइसकेका यादवप्रसाद कोइराला आजबाट घर गएका छन् । सचिवको ५ वर्षे सेवा अवधि पूरा गरेर उनले आजबाट अनिवार्य अवकाश पाएका हुन् ।

कोइराला २०७५ साल असार ४ गते नेपाल सरकारको सचिवमा बढुवा भएका हुन् ।  कोशी प्रदेश, काठमाडौं महानगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुँदै उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।

स्वास्थ्य सचिव हुँदा विवादास्पद मेडिकल सामग्री खरिद (ओम्नी काण्ड) मा मुछिएका कोइराला त्यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए । उनी त्यहाँबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव हुँदै राष्ट्रपति कार्यालयको सचिव भए । सरुवा हुने बेलामा भने कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै तानिएको थियो ।

२०५९ मंसिर ११ गते नेपाल सरकारको अधिकृत बनेका पूर्वस्वास्थ्य सचिव कोइराला सहसचिवमा सबैभन्दा बढी गृह मन्त्रालय बसे । सचिव भएपछि भने उनी गृह जान पाएनन् । गृह मन्त्रालय जस्तै गरी स्वास्थ्य मन्त्रालय चलाउन खोज्दा सचिव कोइराला विवादित बनेका थिए । कोभिडको उच्च संकटमा टेकु अस्पतालमा करारमा कार्यरत डा. शेरबहादुर पुनलाई मन्त्रालय तानेपछि तत्कालीन स्वास्थ्यसचिव कोइराला चरम विवादमा आएका हुन् ।

२०२३ साल असोज ५ गते जन्मिएका सचिव कोइराला ५७ वर्षको उमेरमा सरकारी सेवाबाट बिदाइ भएका छन् । अवकाशपछि कुनै नियुक्ति नखाने उनले स्पष्ट रुपमा भन्ने गरेका थिए । अब के गर्छन् त्यो भने हेर्न बाँकी छ ।

कोइरालाको अवकाशपछि सचिव बढुवाको लाइनमा लक्ष्मी कुमारी बस्नेत, धनश्याम उपाध्याय, दिनेशकुमार घिमिरेलगायत रहेका छन् । लोकसेवा आयोग अध्यक्षको संयोजकत्वमा रहेको बढुवा समितिले सिफारिस गरेपछि उनीहरूमध्ये एकजनाले मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गर्ने छ ।

यही असार २४ गते  अर्का पूर्वस्वास्थ्य सचिव रामप्रसाद थपलिया ५ वर्षे सेवा अवधिका कारण घर जाँदैछन् । उनी अहिले राष्ट्रिय तथ्यांक कार्यालयमा कार्यरत छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #यादव कोइराला, #रामप्रसाद थपलिया

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com