स्वास्थ्यमन्त्री बस्नेतलाई किन खोजिरहेका छन् धरानका मेयर हर्क साम्पाङले ?


काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ राईले पछिल्लो समय स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई खोजिरहेका छन् । स्वास्थ्यमन्त्री बस्नेतलाई उनले सामाजिक सञ्जालमार्फत धरान आउने निम्तो समेत दिएका छन् ।

‘स्वास्थ्यमन्त्रीज्यू धरान आउनु परो ! डेङ्गुको लार्भा मार्न पर्छ ! बीपी अस्पतालको घुम्न पर्छ एक चोटि सिनिक्कै पारेर !’, मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । सुनसरी जिल्लाको धरान अहिले डेंगी महामारीको चपेटमा छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्यासेजमै डेंगीका बिरामीहरू राखेर उपचार गरिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको देखिन्छ

डेंगी रोगको महामारी नियन्त्रणबाहिर पुगेका बेला धरानका मेयर हर्क साम्पाङले स्वास्थ्यमन्त्री बस्नेतलाई सामाजिक सञ्जालमार्फत खोजेका हुन् ।

साम्पाङले फेरि र अर्को स्टाटस लेख्दै ‘बीपी अस्पतालभित्र यस्तो उस्तो बेथिति छ भनेर फेसबुकमा भनिरहनुभन्दा लिखतमा सप्रमाण पत्र लिएर म कहाँ आउनु म टिप्पणी उठाएरै एक्सन लिन्छु ! दोषी पाइएको हदसम्म सम्बन्धितहरुलाई कारबाही गरिनेछ !’, भनेका छन् । यो फेसबुके स्टाटस बीपी प्रतिष्ठानभित्र पक्कै केही न केही गडबडी रहेको र त्यसमा धराने जनताले सुधार खोजिरहेको भान हुन्छ ।

स्वास्थ्यमन्त्री बस्नेतले राष्ट्रिय सभा गृहमा मन्त्री बनेको सयदिने उपलब्धि सार्वजनिक गरिरहँदा धरानमा डेंगीका बिरामी छटपटाइरहेका थिए । स्वास्थ्यमन्त्री बस्नेतले डेंगी नियन्त्रणका लागि यो गरे र उ गरे भनिरहँदा मेयर साम्पाङ डेंगी फैल्याउने लामखुट्टेको लार्भा नष्ट गर्न कम्मर कसेर लागिरहेका थिए । अब भने उनी स्वास्थ्यमन्त्री गुहार्नु पर्ने अवस्थामा पुगेका छन् ।

उपलब्धिको हर्ष बढाई गरिरहेका स्वास्थ्यमन्त्री बस्नेत मेयर साम्पाङको निम्तो मान्न धरान गए उनले देशको वास्तविक स्वास्थ्य सेवाको अवस्था देख्थे की !

क्याटेगोरी : समाचार
ट्याग : #धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ राई, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com