को बन्ला चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष ?


काठमाडौं । चर्चित चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको बन्छ भनेर सर्वत्र चासो छ । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदमा ९ जनाको दरखास्त परेको छ । प्रा.डा. श्रीकृष्ण गिरी कार्यकाल सकिएपछि आयोगमा नयाँ उपाध्यक्षको खोजी सुरू भएको छ ।

उपाध्यक्षको दौडमा निर्वतमान उपाध्यक्ष प्रा.डा. गिरीदेखि पूर्वस्वास्थ्य सचिव डा. प्रविण मिश्रसम्म रहेका छन् ।  चिकित्सा शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खोल्ने चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न निकै रस्साकस्सी चलिरहेका देखिन्छ ।

चिकित्सा शिक्षा आयोग उपाध्यक्ष बन्न प्रा. डा. गिरी, मिश्र, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का पूर्वअध्यक्ष प्रा.डा. अन्जनी कुमार झा, सिभिल अस्पतालमा कार्यकारी निर्देशक प्रा.डा विधाननिधि पौडेलको आवेदन परेको छ ।  त्यस्तै प्रा.डा. पियुस दाहाल, डा. प्रमोदकुमार यादव, प्रा.डा. संगीता सिंह भण्डारी, प्रा. डा. सुमनकुमार श्रेष्ठ र प्रा.डा.मनेनप्रसाद गोर्खालीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्ने इच्छा जाहेर गरेका छन् ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्ने दौडमा सबैभन्दा अगाडि निर्वतमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी र प्रा. डा. अन्जनी कुमार झा देखिन्छन् । गिरी सरकारले नेतृत्व गरिरहेको पार्टी नेकपा माओवादी केन्द्र निकट मानिन्छन् । झा नेपाली कांग्रेस कै क्याडर हुन भन्दा फरक पर्दैन ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसी ‘फ्याटर’ महत्त्वपूर्ण मानिने भएकाले पनि गिरी र झाबाहेक अरुको सम्भावना न्यून छ । पहिलो कार्यकालको सुरूवाती चरणमा गिरीकोविरुद्धमा उभिएका केसी पछि उनी निकट बने । त्यसपछि डा. केसीलाई नसोधी गिरीले कुनै कदम चालेनन् । यता झा. नेपाल चिकित्सक संघको अध्यक्ष हुँदा र त्यसपछि डा. केसीको तर्फबाट सरकारसँग वार्ता गर्नेमा पर्छन् । डा. केसीको आमरण अनसन तोडाउन र सरकार झुकाउन उनको विशेष भूमिका रहँदै आएको छ ।

सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेको र त्यसलाई महत्त्वपूर्ण टेवा दिने पार्टी नेपाली कांग्रेसबाट मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री रहेका छन् । चिकित्सा शिक्षा आयोग महत्त्वपूर्ण हुने शिक्षामन्त्री जसपाका अशोककुमार राई रहेपनि आयोगको उपाध्यक्ष नियुक्तिमा उनको खासै दम देखिँदैन ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्यान्स)को पदाधिकारी नियुक्ति गर्दा कांग्रेस र माओवादीको सहमतिमै निर्णय भएको हो । नेपाली कांग्रेस निकट भूपेन्द्रकुमार बस्नेतलाई न्याम्सको उपकुलपति बनाइएको छ । यता आयोगमा पनि कांग्रेसको तर्फबाट झाले ग्रीन सिंग्नल पाएका छन् । उता गिरीलाई माओवादीले उपाध्यक्षमा दोहोर्‍याउन चाहेको छ । त्यसैलै चिकित्सा शिक्षा आयोगमा झा र गिरीमध्ये एकजना उपाध्यक्ष बन्ने प्रवल सम्भावना देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #उपाध्यक्ष चिसिआ, #चिकित्सा शिक्षा आयोग, #प्रा.डा. अन्जनीकुमार झा, #प्रा.डा. श्रीकृष्ण गिरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com