देशभर स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी


काठमाडौं । नेपाल चिकित्सक संघले देशभर स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ । संघले आज पत्रकार सम्मेलन गर्दै उक्त चेतावनी दिएको हो ।

हेटौंडामा डाक्टर कुटेको घटना बाहिरेसँगै नेपाल चिकित्सक संघ आक्रामक बनेको हो । संघले हेटौंडामा डाक्टर कुट्ने घटनामा संलग्न दोषीलाई ७२ घण्टाभित्र कानुनी कारबाही नगरे देशभर आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिएको छ ।

 

सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. प्रशान्त बिडारी र डा. विकास थापामाथि आक्रमण गरी घाइते बनाएको र दोषीहरू कारबाहीको दायरामा नआएको भन्दै चिकित्सक संघ आक्रामक बनेको हो । पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको चिकित्सक संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

संघका महासचिव डा.सञ्जीव तिवारीले एक समूहले डा. थापा र बिडारी माथि ज्यान मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाएको विषयमा ७२ घण्टाभित्र कारबाही गर्न माग गरेका हुन् । सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्ने भन्दै उनले त्यसपछि पनि कारबाही नभए देशभर आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिए ।

भदौ २७ गते सन्चो अस्पताल हेटौँडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा धरपकड गरेर डाक्टरमाथि आक्रमण गरेपछि चिकित्सक संघ तातेको हो । ज्यान मार्ने किसिमको घटनालाई अस्पतालको सिसिटिभीमा कैद भई सामाजिक सञ्जालभर सार्वजनिक भइरहँदा समेत सुरक्षा निकायले गम्भीरतापूर्वक नलिएको भन्दै संघले आपत्ति समेत जनाएको छ ।

नेपाल चिकित्सक संघले हेटौंडा घटनामा संलग्न दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नका लागि प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी संशोधन ऐन, २०७९ बमोजिम चिकित्सकमाथि कुटपिट गर्नेहरूलाई कानुनी कारबाही गर्न संघले आजै सरकारको ध्यानाकर्षण गराएको हो । ७२ घण्टाभित्र पनि माग पूरा नभए देशभर स्वास्थ्य सेवा ठप्प पार्ने संघको चेतावनी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com