चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण शल्यक्रिया नेपालमा पहिलोपटक सम्पन्न


काठमाडौं । नेपालको चिकित्सा क्षेत्रमा एउटा ठूलो उपलब्धि हासिल गर्न किष्ट शिक्षण अस्पताल सफल भएकोछ । किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण शल्यक्रिया नेपालमा पहिलोपटक सम्पन्न भएको दाबी गरेको छ ।

मिति २०८० असोज २२ गते प्रतिष्ठानले एकै व्यक्तिको शरिरका महत्वपूर्ण अङ्गहरु (कलेजो र मृगौला) दुवैको एक साथ प्रत्यारोपण शल्यक्रिया सम्पन्न गरेकोछ, जुन नेपालको इतिहासमै पहिलो पटक हो ।

यो गहन र जटिल प्रत्यारोपणका लागि किष्ट अस्पतालले  वरिष्ठ प्रत्यारोपण सर्जन, प्रत्यारोपण फिजिसियन, एनेस्थेसियालोजिष्ट, आईसीयू क्रिटिकल केयर विशेषज्ञ,ब्लडबैक विशेषज्ञ, रेडियोलोजिष्ट, विशेषज्ञ फिजिसियन र सर्जनसहित नर्सिङका दक्ष प्राविधिकहरु गरि १०० जना भन्दा बढी प्राविधिक जनशक्ति परिचालित गरेको थियो । यो शल्यक्रिया गर्नका लागि १८ घण्टा भन्दा बढी समय लागेको थियो ।

किष्ट शिक्षण अस्पतालका अनुसार दुबै अङ्ग (कलेजो र मृगौला) ग्रहण गर्ने व्यक्ति भरतपुर, चितवन निवासी ३४ वर्षीय महिला हुन् । उनलाई निजकै ३५ वर्षीय श्रीमानले कलेजो दान गरेका थिए भने उनकी ३२ वर्षीय भाउजुले मृगौला दान गरेकी थिईन् ।

किष्टद्वारा जारी प्रेस विज्ञप्तिमा बिरामी व्यक्तिमा एक प्रकारको जन्मजात रोग ( प्राथमिक Hyperoxaluria, अन्तिम चरणको गुर्दे रोगको साथ टाइप-1) पाईएको जसमा कलेजोको कारणले गर्दा दुवै मृगौला बिग्रिन गएको थियो । यहि समस्याका कारण निजले यस अस्पतालबाट डायलाईसिस सेवा लिई रहेकी थिईन ।

कलेजोले एक प्रकारको टक्सिक केमिकल निरन्तर उत्पादन गरि रहेको र जसको कारणले गर्दा बिरामीको दुवै मृगौला खराब भएको थियो । यही अवस्थाले गर्दा निजको दुवै अङ्गको एकैसाथ प्रत्यारोपण गर्नु परेको हो । अङ्ग ग्रहणकर्ता र अङ्गहरु दान दिने व्यक्तिहरु तीनै जनाको एकै साथ शल्यक्रिया प्रकृया आरम्भ गरीएको थियो ।

उक्त शल्यक्रिया सम्पन्न गर्न भारत स्थीत ईन्दप्रस्थ अपोलो अस्पतालका प्रमुख प्रत्यारोपण सर्जन डा. निरभ गोयल, वरिष्ठ प्रत्यारोपण सर्जन डा. अरुण कुमार भेनुथुरिमिल्लि, र प्रमुख प्रत्यारोपण एनेस्थेसियालोनिष्ट डा. सञ्जिव अनेजालगायतको सहभागिता रहेको थियो । किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्रा. डा. मुकुन्द राज जोशीको नेतृत्वमा नेपाल सरकारबाट लाईसेन्स प्राप्त कलेज प्रत्यारोपण सर्जन डा. एकानन्द सिंह, कलेजो प्रत्यारोपण हेपाटोलोजिष्ट डा. बरुण श्रेष्ठ, मृर्गौला प्रत्यारोपण सर्जन डा. नारायण भुसाल, मृर्गौला प्रत्यारोपण विशेषज्ञ डा. सन्तोष क्षेत्री र, डा. कश्यप दाहाललगायत अन्य बरिष्ठ चिकित्सकहरुको सहभागिता रहेको थियो ।

यो दुर्लभ रोगको पहिचान किष्ट अस्पतालमा नै भएको थियो । यस्तो जटिल अवस्थाको बिरामीलाई प्रत्यारोपण गर्नु अघि निजको विस्तृत स्वास्थ्य परीक्षण तथा शरिरमा कलेजोले पैदा गरिरहेको टक्सिक केमिकलको प्रभाव कम गरी बिरामीलाई शल्यकृयाको लागि तयारी गर्न करिब ६ महिनाको समय लागेको थियो । यस अवधिमा निजलाई हाईफ्लक्स डायलाइसिस /CRRT उपचार सेवा दिइएको थियो ।

यस्तो जटिल र दुर्लभ स्वास्थ्य समस्या प्रति १० लाख जनसंख्यामा १ जनामा हुनसक्ने र यसको उपचार समेत विश्वका केहि सिमित अस्पतालहरुमा मात्र हुनेगरेको पाइन्छ ।

किष्ट शिक्षण अस्पताल नेपालकै प्राइभेट अस्पतालहरुमध्ये मानवका दुवै अङ्गहरु, कलेजो र मृगौला प्रत्यारोपण गर्ने एक मात्र मान्यता प्राप्त अस्पताल हो । छोटो अवधिमा नै यस अस्पतालले ११५ भन्दा धेरै अङ्ग–प्रत्यारोपण शल्यक्रियाहरु पूर्ण सफलताका साथ सम्पन्न गरि सकेकोछ ।

मुलुकमा मृगौला तथा कलेजो सम्बन्धि बिरामीहरुको चाप बढ्दो अवस्थामा भएको परिप्रेक्षमा मृगौला तथा कलेजो प्रत्यारोपण गर्नु पर्ने गम्भीर प्रकृतीका बिरामीहरुका लागि किष्ट शिक्षण अस्पताल एउटा उत्कृष्ट मानव अङ्ग प्रत्यारोपण केन्द्रको रुपमा स्थापित छ । यसले आम मानिसहरुको उपचार प्रणालीमा ठूलो योगदान पु¥याउदै उत्कृष्ट स्वास्थ्य सेवाको गन्तब्य बन्न सफल भएकोछ ।

वि.स. २०६२ सालबाट स्वास्थ सेवाप्रदान गर्दै आइरहेको यस शिक्षण अस्पतालले हरेक प्रकारका स्वास्थ्य समस्याहरुको गुणस्तरीय र सुलभ तरिकाले सर्वसाधरणलाई सेवा दिँदै आइरहेको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com