जुझारू युवा डाक्टरहरूको टिमले हाँकेको न्याम्स


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को नेतृत्वमा जुझारू युवा डाक्टरहरूको बर्चश्व रहेको छ । न्याम्सका उपकुलपति (भिसी)मा प्रा.डा. भूपेन्द्र बस्नेतसहितका पदाधिकारी युवा अवस्थामै नेतृत्वमा स्थापित भएका छन् । इतिहासमै पहिलोपटक न्याम्सको पदाधिकारीमा युवाहरू हाबी भएकाे देखिन्छ ।

न्याम्सका उपकुलपति(भिसी) रहेका डा. बस्नेतबाहेक सबै पदाधिकारी ५० वर्षमुनिका छन् । शिक्षाध्यक्ष (रेक्टर)- डा. लोचन कार्की, रजिष्ट्रार- ज्ञानेन्द्र बिक्रम शाह, डीन- डा. आशेष ढुंगाना तथा सहायक डीनहरू डा. विकास विक्रम अधिकारी, डा. राजेन्द्र श्रेष्ठ र डा. पवनकुमार हमाल ४० देखि ५० वर्षभित्रको उमेर समूहका रहेका छन् । अझ रोचक त न्याम्स अन्तर्गतको मुलुककै जेठो अस्पताल वीरका निर्देशक डा. सन्तोष पौडेल र सहायक निर्देशक, डा . श्रवणकुमार थापा पनि त्यहिँ उमेर समूहमा पर्छन् ।

जेठो स्वास्थ्य संस्थाको विरासत बोकेको न्याम्सलाई पछिल्ला युवा पुस्ताका चिकित्सकहरुले हाँक्दा छुट्टै रौनक देखिएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा युवा उमेरका बालेन शाहले बाजी मारेपछि अहिले युवाहरूको लहर चलेको छ । न्याम्सका पदाधिकारीमा युवाहरू स्थापित हुनलाई पनि बालेनको उदयसँग जोड्न सकिन्छ ।

बालेनको नगर काठमाडौंभित्रै मुख्य कार्यालय रहेको न्याम्स गौरवमय इतिहास बोकेको संस्था हो । यो संस्थाको उज्ज्वल भविष्यप्रति अहिले युवा नेतृत्व सक्रियतापूर्वक खटिरहेको पाइन्छ । युवालाई नेतृत्वमा पुर्‍याउँदा गर्न सक्छन् हैं भन्ने सन्देश न्याम्सको अहिलेको टिमले दिन सक्नु पर्छ ।

न्याम्सको उपकुलपतिको भूमिकामा रहेका पेट रोग विशेषज्ञ डा. भूपेन्द्र ५३ वर्षका हुन् । मुलुककै जेठो वीर अस्पतालको पटकपटक सफल नेतृत्व गरेर उनी अहिले न्याम्स हाँक्न पुगेका छन् । नेपाल चिकित्सक संघको महासचिव हुँदै वीरको निर्देशक र न्याम्सको भिसीसम्म आइपुग्दा डा. भूपेन्द्रले धेरै भोटो फटाएका छन् । अनुभवका हिसाबले उनी निकै खारिएका छन् । आफूसँग भएको अनुभव र ऊर्जाले न्याम्सलाई प्रगतिपथ र सतमार्गमा हिँडाउन डा. भूपेन्द्रको महत्त्वपूर्ण भूमिका रहन्छ | अनुभवी र स्वच्छ छविको नेतृत्वका रुपमा आफूलाई स्थापित गराउन उनी लागिपरेका छन् ।

न्याम्सको गाडी हाँक्न डा. भूपेन्द्रको मुख्य पिलर बनेर डा. लोचन कार्की खडा भएका छन् । ४५ वर्षको उमेरमै डा. लोचन  न्याम्सको रेक्टर बन्न सफल भएका हुन् ।

नेपाल चिकित्सक संघको महासचिव र अध्यक्ष दुवै पद सफलतापूर्वक चलाएका डा. लोचन जनरल फिजिसियन हुन् । न्याम्सभित्रको प्रशासनिक रोगलाई जनरल फिजिसियनका हिसाबले नै उनले हेर्न सके भने न्याम्सले फड्को मार्ने देखिन्छ । नेपाल चिकित्सक संघमा दिएको जतिको योगदान र जुझारूपन डा. लोचनले न्याम्सलाई दिए भने न्याम्सभित्र उलटपुलट हुन कुनै आइतबार कुर्नु पर्दैन ।

न्याम्सको रजिष्ट्रारको भूमिकामा रहेका डा. ज्ञानेन्द्र बिक्रम शाह ४६ वर्षका हुन् । हार्डजोर्नी रोग विशेषज्ञ डा. ज्ञानेन्द्र डा. भूपेन्द्र र डा. लोचनको ‘स्पिरिट’ र ‘स्पिड’मा फिट देखिएका छन् । न्याम्सको मुख्य पद भिसी, रेक्टर र रजिष्ट्रारमा उस्तै युवा जोश जाँगर र उत्साह बकेका चिकित्सकहरु पुगेका छन् । यसले न्याम्सको मुहार फेर्ने अनुमान लगाउन सकिन्छ ।

न्याम्सका डीन रहेका डा. आशेष ढुंगाना ४० वर्षे लक्का जवान हुन् । वीर अस्पतालको मेडिसिन विभाग प्रमुखको भूमिकामा रहेर काम गरिसकेका डा. आशेषले न्याम्सको डीन सम्हाल्ने सौभाग्य प्राप्त गरेका छन् ।  छातीरोग विशेषज्ञ उनी न्याम्सको छाती छाम्न कतिको सफल हुन्छन् त्यो भने हेर्न बाँकी छ ।

न्याम्सको सहायक डीनको जिम्मेवारी पनि युवा उमेरकै चिकित्सकहरुले पाएका छन् । सहायक डीनहरू डा. विकास विक्रम अधिकारी अहिले ५० वर्षको भए । त्यस्तै अर्का सहायक डीन डा. पवनकुमार हमाल ४१ र डा. राजेन्द्र श्रेष्ठ ४३ वर्षका छन् । यसले न्याम्सको पदाधिकारीको जुझारू युवाहरुको बर्चश्व देखिन्छ । यति हुँदाहुँदै पनि न्याम्सको पदाधिकारीमा पुरुषहरू मात्र एकछत्र छाउनुले दाँतमा ढुंगा लागे जस्तो भान हुन्छ ।

न्याम्स अन्तर्गतको वीर निर्देशक डा. सन्तोष पौडेल र सहायक निर्देशक डा. श्रवणकुमार थापा पनि न्याम्सका पदाधिकारीहरुकै उमेर समूहमा पर्छन् । न्याम्स अन्तर्गत कै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजाल पनि न्याम्सका पदाधिकारीहरुका समकालीन हुन् । युवा चिकित्सकहरूले हाँकेको न्याम्सले दिने परिणामले आगामी दिनमा युवा नेतृत्वलई  हेर्ने दृष्टिकोण नै परिवर्तन हुने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स ), #डीन डा. आशेष ढुंगाना, #न्याम्सका प उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेत, #रजिष्ट्रार ज्ञानेन्द्र बिक्रम शाह, #रेक्टर डा. लोचन कार्की, #वीर निर्देशक डा. सन्तोष पौडेल सहायक निर्देशक डा . श्रवणकुमार थापा, #सहायक डीनहरू डा. विकास विक्रम अधिकारी डा. राजेन्द्र श्रेष्ठ डा. पवनकुमार हमाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com