मुख्यसचिवकी दाबेदार देवकुमारी स्वास्थ्यमा हाटा मात्रै गर्छिन्


काठमाडौं । पहिलो महिला मुख्यसचिवको रूपमा प्रचारित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी (जनसंख्या) सचिव देवकुमारी गुरागाईं हाजिर गरेर टाप ठोक्ने (हाटा) गर्दै आएकी छिन् । त्यो पनि हप्ताको एक दिन मात्र मन्त्रालय गएर । उनी मन्त्रीलाई भेटेपिच्छे जगेडामा राखिदिन आग्रह गर्छिन् ।

तत्कालीन मुख्यसचिव शंकरदास बैरागी खनालले समय अगावै राजीनामा नदिएको भए देवकुमारीलाई नेपालको पहिलो महिला मुख्यसचिवको रूपमा हेरिएको थियो । टेरामक्स काण्ड, नेपाल आयल निगमको अवैध बोनस काण्डलगायतका ठूल्ठूला अनियमिततामा मुख्यसचिव डा. बैकुण्ठपसाद अर्याल मुछिएकाले उनको चान्स गइसकेको भने छैन । फागुन २६ गते ५ वर्षे कार्यकाल कारण अवकाशमा जान लागेकी सचिव देवकुमारी अहिले भने स्वास्थ्य मन्त्रालयमा कामै गर्न छाडेकी छिन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सचिव देवकुमारीले पछिल्लो समय स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटेर सरुवा गरिदिन आग्रह गरेकी हुन् । स्वास्थ्यमा प्रशासन र कर्मचारी खटनपटनको जिम्मेवारी समेत लिएकी उनी हाजिर गर्न मात्र मन्त्रालय आएपछि प्रशासन सेवा कै बदनाम हुन थालेको छ । सचिव देवकुमारीले कामको माखो नमारेपछि स्वास्थ्य मन्त्रालयमा लठीभद्र अवस्था हुन थालेको देखिन्छ ।

स्वास्थ्यको प्रशासन हेर्ने सचिव देवकुमारीले यस्तो भद्रगोल अवस्थामा केही गर्दिन भनेर हात झिकेपछि स्वास्थ्यको अवस्था झन् भद्रगोल हुन पुगेको छ । उनलाई मन्त्रालयमा नभेटेपछि कर्मचारीहरू समेत हैरानी खेप्न बाध्य छन् । ‘सचिव देवकुमारी हप्तामा १ दिन आउछिन् हाजिर गर्छिन र फेरि बिदा लिएर बस्छिन् यस्तो तालले मन्त्रालय कसरी चल्छ ।’, स्वास्थ्यका एक उच्च अधिकारीले स्वास्थ्य लाइभसँग टिप्पणी गरे ।

मुख्यसचिवकाे दाबेदार स्वास्थ्य सचिव देवकुमारी जगेडामा  बस्न चाहना राखेपछि उनको क्षमतामाथि समेत प्रश्न उठेको छ । सचिवको जिम्मेवारीमा बसेर केही काम नगर्ने भएपछि उनको क्षमतामा प्रश्न उठ्नु समेत स्वभाविक हो । मन्त्रालयको सुब्बा- खरिदारले समेत जिम्मेवार भएर काम गर्दा सचिव जस्तो मान्छेको गैरजिम्मेवारपूर्ण व्यवहारले स्वास्थ्यका उच्च अधिकारीहरू आजित बनेका छन् । जिम्मेवारी लिने माखो नमार्न, कार्यकक्षमा नभेटिने सचिव देवकुमारीको पाराले निजामती सेवाको नूर र साख गिरेको छ । उनको बारेमा अनावश्यक टिकाटिप्पणी गर्ने अवस्था आएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : ## सचिव, #देवकुमारी गुरागाईं, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य सचिव देवकुमारी गुरागाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com