यातायातको अस्वस्थ लाइसेन्स धन्दामा पूर्व डिजीहरूलाई त्राहीमाम पार्ने रिजाल को हुन् ?


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताला लगाएर पदाधिकारीहरूलाई त्राहीमाम पारेका छन् । हर्कको कदम अहिले संघीय सरकारका लागि टाउको दुःखाईको विषय बनेको छ । उनले संघीय स्वास्थ्यमन्त्रीलाई बेला-बेला ‘लेटर बम’ प्रहार गर्दै आएका छन् ।

हर्कले वीपी प्रतिष्ठान धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरे सहज तरिकाले चलाएर देखाउने भन्दै संघीय सरकारलाई चुनौती दिन थालेका छन् । उनको नगरका प्रमुख प्रशासकीय अधिकृत रहेका उद्धवप्रसाद रिजालले पनि यातायात व्यवस्था विभागमा आएर हर्कको जस्तै त्राहीमाम सिर्जना गरेका छन् । धरानका मेयर हर्क साम्पाङसँग १ वर्ष १ महिना सहकार्य गरेर यातायात व्यवस्था विभाग छिरेका रिजालले ४ महिनामै पूर्वमहानिर्देशक (डिजी)हरूलाई त्राहीमाम बनाएका हुन् ।

यातायात व्यवस्था विभागले विगत ८ वर्षको अवधिमा १ लाख बढी अवैध लाइसेन्स जारी भएको तथ्य सार्वजनिक गरेको छ । उक्त रिपोर्टमाथि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । अवैध लाइसेन्स जारी धन्दाको रिपोर्ट सार्वजनिक भएसँगै यातायातका पूर्वमहानिर्देशकहरू त्राहीमाम मात्र भएका छैनन् उक्त कुराको पर्दाफास गर्ने रिजाल र उनको टिमविरुद्ध संगठित रुपमा लागेको समेत देखिन्छ । उनीहरू रिजालमाथि ‘ब्लेन गेम’मा समेत लागेको पाइन्छ । रिपोर्ट बाहिर आउन नदिन अनेकन दबाब आउँदा पनि हर्क साम्पाङ ‘स्टाइल’ हिम्मतका साथ बदमासी बाहिर ल्याएपछि रिजालको चर्चा एकाएक चुलिएको हो ।

यातायातको अवैध लाइसेन्सको धन्दा बाहिर ल्याउने रिजालको टिमको साहस, हिम्मत र आँटलाई सलाम गर्नु पर्ने टिप्पणी हुन थालेको छ । यातायातबाट नाम र फोटो परिवर्तन गरेर एउटाको नाममा रहेको लाइसेन्स अर्काको नाममा गएको र जेलमा रहेको मान्छेले समेत स्मार्ट लाइसेन्स पाएको सुईको महानिर्देशक रिजालले पाए । त्यसलगत्तै उनले विभागका सूचना प्रविधि निर्देशक मुकेश रेग्मीको नेतृत्वमा सीआईबीको प्रतिनिधि समेत राखेर छानबिन समिति बनाए । उक्त समितिले १ लाख बढी अवैध लाइसेन्सको धन्दा पर्दाफास गरेपछि अहिले तहल्का मच्चिएको छ ।

यातायातमा भएको अवैध लाइसेन्स धन्दाको प्रतिवेदन बाहिर आउँदैछ भनेर सुईको पाएपछि पूर्व  महानिर्देशकहरू र आईटीका प्राविधिक कर्मचारी रोक्नका लागि एकजुट भएर लागेका थिए । तर, रिजालले उक्त प्रतिवेदन तालुकदार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइदिएपछि अहिले अवैध लाइसेन्स धन्दा बजारमा छताछुल्ल भएको छ । यसले धेरैको निदहराम र त्राहीमाम भएको देखिन्छ ।

अख्तियार स्रोतबाट स्वास्थ्य लाइभलाई प्राप्त छानबिन प्रतिवेदनमा यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखामा विगतमा कार्यरत सूचना प्रविधि निर्देशक श्रीचन्द्र शाह, पवित्र डंगोलको नामै किटान गरिएको छ । कम्प्युटर इन्जिनियरहरू राजकुमार महर्जन, केशवराज गौतम, सन्तोष पोखरेल, कपिला श्रेष्ठ थैव र सुरज प्रकाश अर्यालको नाम पनि उक्त प्रतिवेदनमा बकाइदा उल्लेख गरिएको छ । तीमध्ये श्रीचन्द्र, केशव र कपिला सोधपुछका लागि उपस्थित नरहेको पनि प्रतिवेदनमा खुलाइएको छ । उनीहरूले स्वास्थ्य लाइभमा प्रकाशित समाचारले आफ्नो चरित्रहत्या भएको जिकिर गरेका छन् । तर, विभागले नै अख्तियारमा बुझाएको प्रतिवेदनमा उनीहरूको नाम समेटिएको छ । छानबिन प्रतिवेदनमै नाम उल्लेख भएपछि त्यसलाई बाहिर ल्याउनु मिडियाको धर्म समेत हो । अझ् उनीहरूले एक कदम अगाडि बढेर छनबिन प्रक्रियालाई प्रभावित नपार्न समेत चेतावनी दिने खालको भाषा प्रयोग गरेका छन् । उक्त प्रतिवेदन स्वास्थ्य लाइभसँग सुरक्षित छ ।

छानबिन प्रतिवेदनमा यातायात व्यवस्था विभागका कर्मचारी हरिष भट्टले आर्थिक लाभ लिएर छिटो कार्ड प्रिन्ट गरेर उपलब्ध गराउने गरेको कुरा समेत उल्लेख भएको खुल्न आएको छ । विशेषतः मेनपावर व्यवसायीसँग उनको सेटिङ रहेको आरोप लागेको हो ।

यातायातका पूर्वमहानिर्देशकहरू र प्राविधिकहरू एकढिक्का भएर लागे पन दह्रोसँग खुट्टा टेकेका रिजाल मुखियाबाट सरकारी जागिरे जीवनको सुरुवात गरेका हुन् । २०४७ साल असोज ५ गते नेपाल प्रशासन सेवाको मुखिया पदमा नियुक्ति लिएर जिल्ला शिक्षा कार्यालय, ओखलढंगामा हाजिर भएका उनी १ वर्षपछि जिल्ला शिक्षा कार्यालय सिराहा पुगेका थिए । सिराहामा साढे ४ वर्ष काम गरेपछि रिजालले लेखापालमा नाम निकालेका थिए ।

२०५२ फागुन ३ गते लेखापालको नियुक्ति लिएर बेसिन कार्यालय, सुनसरी पुगे । बेसिन कार्यालयमा ७ वर्ष बसेपछि उनको महालेखा नियन्त्रक कार्यालय, काठमाडौंमा सरुवा भयो । मलेनिका, काठमाडौं आएको ३ वर्षपछि रिजालले प्रशासन सेवाको शाखा अधिकृतमा नाम निकालेर लेखापालबाट अवकाश लिए । २०६० माघ २८ गते शाखा अधिकृतमा पुनर्नियुक्ति लिएर उनी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह हुँदै शिक्षा मन्त्रालय पुगे । झन्डै १ वर्ष शिक्षा मन्त्रालय बसेपछि रिजाल क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चल, हेटौंडा, मकवानपुर सरुवा भए । त्यहाँ ४ वर्ष बसेपछि उनी राष्ट्रिय योजना आयोगको सचिवालय आए ।

शाखा अधिकृत भएर झन्डै ७ वर्ष काम गरेपछि रिजाल २०६७ जेठ २४ गते उपसचिव बने । उपसचिव भएपछि करिब डेढ वर्ष सामान्य प्रशासन मन्त्रालय बसेर उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगे । त्यहाँ काजमा गएको ४ महिनापछि रिजाल उद्योग मन्त्रालय सरुवा भए । उद्योगमा ४ वर्ष बसेपछि उनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय हुँदै भक्तपुर नगरपालिकाको कार्यकारी बन्न सफल भए । भक्तपुर नगरपालिकामा १ वर्ष बढी बसेपछि रिजाल भूमिसुधार तथा व्यवस्था मन्त्रालय हुँदै भूमिसुधार कार्यालय, झापा पुगे । झापा पुगेको ६ महिनामै उपसचिव रिजाल संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय काजमा आए । स्थानीय विकास मन्त्रालयमा १ वर्ष बसेपछि उनी भूमिसुधार कार्यालय, झापामै काज फिर्ता भए ।  झापामा थप १ वर्ष बिताएपछि उपसचिव रिजालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा भएको देखिन्छ ।

श्रम मन्त्रालयमा करिब १ वर्ष बसेपछि उपसचिव रिजाल कामकाजका लागि कालिकोट जिल्लास्थित तिलागुफा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गए । तिलागुफामा २ वर्ष बढी बसेपछि उनी मध्यपुर ठिमी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नै भएर आए । मध्यपुरमा ७ महिना बसेपछि रिजाल गृह मन्त्रालय छिरे । गृहमा १ वर्ष बस्दा उनले बाराको सहायक प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको उपसचिवको भूमिकामा काम गरे ।

गृहमा रहेकै बेला २०७८ माघ १० गते सहसचिवमा बढुवा भएका रिजाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर पुगे । मुख्यमन्त्री कार्यालय, विराटनगरमा उनी ६ महिना बसे । त्यहीँ समयमा धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ राई निर्वाचित भए । हर्क मेयर भएको २ महिनापछि रिजाल धरानको प्रमुख प्रशासकीय अधिकृत बनेर गए । हर्कको १ वर्ष बढी संगत गरेर २०८० भदौ १२ गते यातायात व्यवस्था विभाग छिरेका रिजालले संगत गुनको फल भने जस्तै अवैध लाइसेन्स धन्दाको फर्दाफास गरेर तरंग ल्याइदिएका छन् । निजामती सेवाको ३४ वर्षे अनुभवलाई उनले अहिले भने खरो रुपमा उतार्ने कोशिश् गरेको देखिन्छ ।

महानिर्देशक नै नटिक्ने यातायात व्यवस्था विभागको महानिर्देशक बनेका खोटाङे रिजालको विगतको पृष्ठभूमि जे, जस्तोसुकै भएपनि अहिले चालेको कदम प्रशंशा योग्य नै रहेको सार्वजनिक रुपमा टिप्पणी हुन थालेको छ । यातायातका धमिराहरू पहिचान गर्न र पर्दाफास गर्न सक्षम रिजालको आगामी कदम कस्तो हुन्छ त्यो भने हेर्न बाँकी छ । यो प्रतिवेदन कार्यान्वयनमा ल्याउन सके उनी यातायातका कुलमान बन्ने सम्भावना रहेको यातायात क्षेत्रमा चर्चा हुन थालेको हो । रिजालको सफलता, असफलता उक्त प्रतिवेदन कार्यान्वयनसँग जोडिएको छ । अवैध लाइसेन्स धन्दामा रिजालले जस्तै अख्तियार र अदालतले पनि राम्रै चिरफार गर्ने अवस्था आएको छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #अवैध लाइसेन्स धन्दा, #उद्धवप्रसाद रिजाल, #यातायात व्यवस्था विभाग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com