१ लाख बढी अवैध स्मार्ट लाइसेन्स धन्दामा स्वास्थ्यका गौतम पनि तानिने सम्भावना


काठमाडौं । यातायात व्यवस्था विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको प्रतिवेदनमा १ लाख बढी शंकास्पद लाइसेन्स जारी भएको देखाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले आइतबार अख्तियारलाई बुझाएको प्रतिवेदनमा ७३ हजार ५ सय ८४ थान लाइसेन्स शंकास्पद रहेको जनाइएको छ ।

विभागले २९ हजार १ सय २७ थान अवैध लाइसेन्स खारेज गर्न सिफारिस समेत गरेको अख्तियार स्रोतको भनाइ छ । यातायात व्यवस्था विभागले अवैध लाइसेन्स छानबिनका लागि गठन गरेको समितिले दिएको प्रतिवेदन अख्तियारमा पुगेको हो ।

स्रोतका अनुसार यातायात व्यवस्था विभाग, विभिन्न यातायात कार्यलयमा कार्यरत कर्मचारी र बिचौलिया गिरोहको मिलेमतोमा स्मार्ट लाइसेन्स वितरणमा बदमासी र अवैध धन्दा चलाइएको प्रतिवेदनले औंल्याएको छ । यातायात व्यवस्था विभागको महानिर्देशकमा लावण्यराज ढकाल आएदेखि हालसम्म अवैध लाइसेन्स वितरण गर्ने धन्दा जारी रहेको पाइएको हो । १९ दिन यातायात व्यवस्था विभागको महानिर्देशक भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गएका तुलसीनाथ गौतम समेत अख्तियारको छानबिनमा तानिने सम्भावना छ ।

कुमारप्रसाद दाहाल, गोगनकुमार हामाल, नमराज घिमिरे, सुरेश राउत, टोकराज पाण्डे, तुलसीनाथ गौतम,  नारायणप्रसाद भट्टराई  यातायात व्यवस्था विभागका महानिर्देशक हुँदा ती शंकास्पद लाइसेन्स जारी भएको पाइन्छ । उक्त लाइसेन्स बेच्ने अवैध धन्दामा ती महानिर्देशकहरुको कुन हदसम्मको संलग्नता थियो भन्ने कुरा अब अख्तियारले निर्क्यौल गर्ने छ ।

यातायात व्यवस्था विभागका सूचना प्रविधि निर्देशक मुकेश रेग्मीको नेतृत्वमा बनेको छानबिन समितिले बुझाएको प्रतिवेदन अख्तियार पुगेसँगै यसले थप तरंग ल्याएको छ । सीआईबीको प्रतिनिधिसहितको छानबिन समितिले दिएको प्रतिवेदनका धेरै कुरा उल्लेख रहेको अख्तियार स्रोतको दाबी छ । यातायात व्यवस्था विभागका महानिर्देशक रिजालले अख्तियारमा उक्त प्रतिवेदन बुझाएर फर्किएपछि अख्तियारले विस्तृत छानबिन गर्न लागेको हो ।

अवैध लाईसेन्स जारी भएको अवधिमा यातायात व्यवस्था विभागको सूचना प्रविधि शाखामा सूचना प्रविधि निर्देशकको पदमा श्रीचन्द्र साह र पवित्र डंगोल कार्यरत रहेका थिए । कम्प्यूटर ईन्जिनियरको पदमा राजकुमार महर्जन, केशवराज गौतम, कपिला श्रेष्ठ थैव, सन्तोष पोखेरल र सुरज प्रकाश अर्याल कार्यरत रहेका थिए । अवैध लाईसेन्स जारी भएको अवधिमा विगत १ वर्षदेखि विभागको सूचना प्रविधि शाखाको कम्प्यूटर ईन्जिनियरको पदमा भानुभक्त जोशी कार्यरत रहेकाे अख्तियार स्रोतले  जनाएको छ ।

स्रोतले दिएको जानकारी अनुसार छानबिन समितिले विभागको सूचना प्रविधि शाखामा विगतमा कार्यरत सबै प्राविधिक कर्मचारीहरुलाई बयानका लागि बोलाएको भएतापनि कम्पयुटर ईन्जिनियर सन्तोष पोखरेल, निर्देशक पवित्र डंगोल र ईन्जिनियर सुरज प्रकाश अर्याल मात्रै समितिले बोलाएको समयमा समितिमा उपस्थित भएका थिए । निर्देशक शाह, ईन्जिनियर गौतम र श्रेष्ठ समितिको वैठकमा उपस्थित भएनन् । आफूले गरेको बदमासीको पोल खुल्ने भएपछि उनीहरू उल्टै प्रतिवेदन रोक्न चलखेलमा लागेको खुल्न आएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशकहरु उक्त धन्दामा संलग्न भएको स्पष्ट आधार फेला पर्न नसके पनि प्राविधिक कर्मचारीहरूको संलग्नता बिना यस्तो बदमासी हुन नसक्ने अख्तियारका अधिकारीहरू सुनाउँछन् । यो विषयको वास्तविकता अख्तियारको छानबिनपछि पटाक्षेप हुने छ ।

 

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com