अख्तियारलाई नटेर्ने स्वास्थ्यमन्त्री बस्नेत पक्राउ पर्ने खतरामा


काठमाडौं । बहुचर्चित टेरामक्स प्रविधि घोटाला काण्डमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत अहिले चर्चामा छन् । बहालवाला मन्त्री नै अख्तियारको फन्दामा परेपछि उनको व्यापक चर्चा भएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको खोजी सूचीमा रहेका उनी अहिले मन्त्रालय कम आउन थालेका हुन् । अख्तियारको नजरमा फरार रहेका स्वास्थ्यमन्त्री बस्नेत गृह जिल्लातिर सेकुवा पोल्नमै व्यस्त रहेको चर्चा छ । टेरामक्स प्रविधि घोटालाको छानबिनलाई अन्तिम चरणमा पुऱ्याएको अख्तियारले बयानका लागि तत्कालीन सञ्चारमन्त्रीको हैसियतमा बस्नेतलाई पनि बोलाएको छ । तर, उनी अख्तियारसँग अटेरी गरिरहेका छन् ।

टेरामक्स प्रविधि घोटाला काण्डमा मुछिएका अर्का तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केही दिन अगाडि अख्तियारमा पुगेर बयान दिइसकेको स्रोतको दाबी छ । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । तर, स्वास्थ्यमन्त्री बस्नेत भने अख्तियार छलेर हिँडिरहेको पाइन्छ ।

टेरामक्स प्रविधि खरिद घोटाला काण्डमा बस्नेतको पालाका सञ्चार सचिव महेन्द्रमान गुरूङ (हाल प्रमुख सूचना आयुक्त) र नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्भर झाले अख्तियार पुगेर बयान दिइसकेका छन् । त्यसपछिका सञ्चारमन्त्री कार्की, सचिव डा. बैकुण्ठप्रसाद अर्याल (हालका मुख्यसचिव), सहसचिव विनोदप्रकाश सिंह ( हाल सामान्य सचिव) र अध्यक्ष पुरूषोत्तम खनाललगायतले पनि बयान दिइसकेको अख्तियार स्रोतले जनाएको छ । तर, टेरामक्सका सूत्रधार तत्कालीन सञ्चारमन्त्री (हालका स्वास्थ्यमन्त्री) बस्नेत भने अख्तियार छलेर भागिरहेको पाइएको छ । उनकै कारण टेरामक्समा मुद्दा लान ढिला भइरहेको बुझिएको छ ।

अख्तियारलाई नटेर्ने स्वास्थ्यमन्त्री बस्नेतलाई पक्राउ गरेर बयान लिने विकल्पमा समेत छलफल हुन थालेको छ । उनी पक्राउ परे अचम्म नमाने हुने रातो घरतिर चर्चा हुन थालेको हो । टेरामक्स प्रविधि घोटालामा अख्तियारले स्वास्थ्यमन्त्री बस्नेतलाई पक्राउ गरेर बयान लिने खतरा पनि उत्तिकै देखिन्छ । जसरी अकुत सम्पत्ति आर्जनको उजुरीमा बयानमा लागि बोलाउँदा नआएपछि आईटी माफिया पौडेलबन्धुद्वय विकल र सुनिललाई पक्राउ गरिएको हो । त्यसैगरी स्वास्थ्यमन्त्री बस्नेत पनि पक्राउ परे आश्चर्य नहुने अख्तियार स्रोतको भनाइ छ ।

क्याटेगोरी : समाचार
ट्याग : #टेरामक्स, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com