टेरामक्स र एमडीएमएसमा मुद्दा लगे एनटीएमा ड्राइभर र सहयोगी मात्रै बाँकी रहने !


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)भित्र भएका अर्बौंका उपकरण खरिदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गरिरहेको छ । बहुचर्चित टेरामक्स प्रविधि, एमडीएमएस, मिलेमतोमा इन्टरनेट सेवा प्रदायकबाट करछलीलगायतका विषयमा अहिले अख्तियारले  विस्तृत र गहन अनुसन्धान गरिरहेको पाइन्छ । अख्तियारले निर्णय प्रक्रियामा सहभागी व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याएर बयान समेत लिइसकेको बुझिन्छ ।

अख्तियारले टेरामक्स र एमडीएमएसमा मात्रै विशेष अदालतमा भ्रष्टाचार मुद्दा लाने हो भने एनटीएभित्र सवारी चालक(ड्राइभर) र कार्यालय सहयोगी मात्र बाँकी रहने चर्चा हुन थालेको छ । अझ व्यापक भ्रष्टाचार भएको भनिएको विद्यालय आईटी ल्याबमा भ्रष्टाचार मुद्दा लाग्ने हो भने टेरामक्स र एमडीएमएसको खरिद तथा निर्णय प्रक्रियामा छुटेका केही पनि बाँकी नरहने टिप्पणी हुन थालेको हो ।

अख्तियारले टेरामक्स प्रविधि खरिद अनियमिततामा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको बताइन्छ । उक्त खरिद प्रक्रियामा झन्डै दुई दर्जन एनटीएका कर्मचारी पर्ने देखिन्छ । एमडीएमएसमा पनि धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा जाकिने अवस्था आएको छ । करछलीमा इन्टरनेट सेवा प्रदायकसँग मिलेमतो गरेको आरोपमा पनि एनटीएका कर्मचारी अख्तियारको फन्दामा परेका छन् । ओम्नी-म्याक्स जेभीले ३ अर्ब बढीमा लिएको विद्यालय आईटी ल्याब एनटीएभित्र ठूलो घोटाला भएको चर्चामा छ । यी घोटालामा भ्रष्टाचार मुद्दा दायर हुने हो भने एनटीएमा ड्राइभर र कार्यालय सहयोगी(पिएन) मात्र रहने अवस्था आउन सक्छ ।

एनटीएका नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीबाहेक एनटीएमा कार्यरत कर्मचारी तथा उच्च अधिकारी कुनै न कुनै अनियमिततामा मुछिएका छन् । उनीहरु बयानका लागि लगातार अख्तियार धाइरहेका छन् । दूरसञ्चार क्षेत्रमा भएका अनियमिततामा अख्तियार निर्मम रूपमा प्रस्तुत हुन थालेको छ । त्यसैले एनटीएभित्र छिट्टै यो दिन र अवस्था नआउँला भन्न सकिन्न ।

 

क्याटेगोरी : समाचार
ट्याग : #एमडीएमएस, #ओम्नी, #टेरामक्स प्रविधि, #नेपाल दूरसञ्चार प्राधिकरण, #विद्यालय आईटी ल्याब

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com