स्वास्थ्य मन्त्रालयबाट मधुसुदनको फरमान, चिकित्सकहरू त्राहिमाम


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन तर्फका सचिव मधुसुदन बुर्लाकोटी अहिले निकै चर्चामा छन् । उनी आलोचना र प्रशंसा दुबैको पात्र बनेका छन् । कठोर र अड्डी स्वभावका सचिव मधुसुदनद्वारा हस्ताक्षरित पत्रले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा तरंग ल्याएको छ ।

बैशाख ६ गते सचिव मधुसुदनले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई निजी स्वास्थ्य संस्थामा पूर्णकालीन रुपमा काम नगर्न ध्यानाकर्षण गराए । त्यसको भोलिपल्ट बैशाख ७ गते कार्यालय समयमा आफ्नो कार्यकक्षमा नबस्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पनि त्यस्तो नगर्न लिखित ध्यानाकर्षण गराए । यो दुईवटै पत्रले निजी स्वास्थ संस्थामा पूर्णकालीन काम गर्ने र कार्यालय समयमा कार्यकक्षमा नभेटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको देखिन्छ ।

 

स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरु बिदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरु तथा विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरूमा पूर्णकालीन रुपमा काम नगर्न मन्त्रालयले अनुरोध गरेको हो । यो अनुरोधसँगै निजीका पूर्णकालीन रुपमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरु त्राहिमाम बनेको पाइन्छ । स्वास्थ्यमा यस्ता चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु ठूलो संख्यामा रहेको बताइन्छ ।

कर्मचारी प्रशासनलाई अनुशासनमा हिँडाउने सचिव मधुसुदनको यो कदम प्रशंसा योग्य रहेको छ । कामचोर र सरकारीमा हाजिर गरेर अर्को ठाउँमा काम गर्न जाने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई लगाम लगाउन उनले चालेको कदम  राज्यको हितमा देखिन्छ । तर, केही चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले भने छलफल नै नगरी एकपक्षीय ढंगले अघि बढ्न खोजेको भन्दै सचिवको कदमको विरोध समेत गरेका छन् ।

सचिव मधुसुदनले प्रचलित कानुन र विधि, नैतिकता र वैयक्तिक आचरण अनुसार स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायका कर्मचारीहरुलाई चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई डोऱ्याउन खोजेको पाइन्छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रमुख हुँदा परामर्शदाता डिजी मार्केट र त्यसका मालिक क्यानडियन नागरिक आदित्य झाको सिण्डिकेट तोडेका सचिव मधुसुदनले स्वास्थ्यमा सुधारको प्रयास थालेका छन् ।

स्वास्थ्य जस्तो प्राविधिक र संवेदनशील क्षेत्रमा सरोकारवालाहरुसँग छलफल गरेर निर्णय गरेको भए त्यसलाई कार्यान्वयन गर्न सहज हुने कतिपय स्वास्थ्यका अधिकारीहरूको टिप्पणी रहेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको आवश्यकता र समस्यालाई समेत मध्यनजर गरेर सचिव मधुसुदनले कदम चाल्न उपयुक्त हुने  कतिपयको सुझाव छ ।

स्वास्थ्य मन्त्रालयमै सहसचिवको हैसियतमा काम गरिसकेका मधुसुदनलाई स्वास्थ्य बुझैकै व्यक्तिको रूपमा लिइन्छ । स्वास्थ्य मन्त्रालयबाट मधुसुदनको जारी गरेका पछिल्ला दुईवटा फरमानबाट चिकित्सकहरू त्राहिमाम बनेको चर्चा छ ।स्वास्थ्यमा निर्देशन र व्यवहारिक पाटोलाई व्यवस्थापन गरेर अगाडि बढ्न भने चुनाैतीपूर्ण देखिन्छ । केही गरौं भन्ने हुटहुटी बोकेका स्वास्थ्यका प्रशासन तर्फका सचिव मधुसुदनले चालेको पछिल्ला कदमले कस्तो परिणाम दिन्छ हेर्न बाँकी छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #फरमान, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com