वीर र न्याम्सको सम्बन्ध ‘इजरायल-प्यालेस्टाइन’को स्थितिमा पुग्ने खतरा


समाचार टिप्पणी

काठमाडौं । आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले २२ औं स्थापना दिवस मनाउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा न्याम्सले पहिलोपटक स्थापना दिवस मनाउन लागेको हो । राष्ट्रिय सभा गृहमा बिहान ९ :१५ मा न्याम्सको २२ औं स्थापना दिवसको कार्यक्रम सुरु हुने उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

आजै ११ बजे प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा वीर अस्पताल र न्याम्सलाई अलग्याउने विषयमा छलफल हुँदैछ । एकातिर न्याम्सको स्थापना दिवस मनाउँदै गर्दा अर्कातर्फ न्याम्सलाई अप्ठ्यारो पार्ने गरी निर्णय हुने सम्भावना बढेको छ ।

वीर र न्याम्सलाई छुट्याउने गरी तयार पारिएको विधेयक संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिमा घनिभूत छलफलका क्रममा छ । समितिको आज कै बैठकले वीर र न्याम्सको भाग्य र भविष्यको फैसला गर्ने सम्भावना बढेको देखिन्छ । न्याम्सको अभिन्न अंग भइसकेको वीरलाई न्याम्सबाट छुट्याएर अंगभंग गर्ने कदम चालिँदैछ । न यसले वीर अस्पताल उभो लाग्छ न त न्याम्सले नै त्राण पाउँछ ।

डा. उपेन्द्र देवकोटा स्वास्थ्यमन्त्री भएका बेला वीरमा न्याम्स स्थापना गरेका थिए । उपेन्द्र यादव स्वास्थ्यमन्त्री भएकाबेला वीरबाट न्याम्सलाई विस्थापित गर्ने काम हुन लागेको छ । उपेन्द्रले नै स्थापित गरेको न्याम्सलाई उपेन्द्रले नै विस्थापित गर्नु खोज्नुले संयोगमाथि वियोग थपिएको छ ।

वीर अस्पतालको नाममा पुरानो भवन छ । नयाँ सर्जिकल भवन न्याम्सका नाममा देखिन्छ । न्याम्सको दुवाकोटस्थित जग्गामा आवश्यक संरचना बनिसकेको छैन । आवश्यक पूर्वाधार र व्यवस्थापन बिनै वीर र न्याम्सलाई छुट्याउँदा भद्रगोल हुने निश्चित छ । यहीं भद्रगोलमा गोल हान्न केही स्वार्थ समूह लागेको पाइन्छ । ‘धमिलो पानीमा माछा मार्न’ पल्किएकाहरु वीर र न्याम्सलाई छुट्याएर ‘तातै खाउँ चल्दै मरौं’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्न लागेका छन् । त्यो स्वार्थ समूहले ‘भुईँको टिप्न खोज्दा पोल्टाको पोखिने’ कुराको भने मध्यनजर र आँकलन गरेको देखिँदैन ।

डा. उपेन्द्र देवकोटाले विशेष भिजनका साथ अध्यादेश वीरमा न्याम्स स्थापना गरेका हुन् । वीर र न्याम्स छुट्याउन निकै तयारी गर्नुपर्ने देखिन्छ । पृथ्वीनारायण शाहले ‘सानो दु:खले आर्ज्या मुलुक होइन’ भनेझैँ वीर र न्याम्स पनि सानो दुःखले स्थापित स्तरोन्नति भएको संस्था होइन । सरकारले वीरलाई केन्द्रीय अस्पताल बनाउन खोजेको देखिन्छ । न्याम्सकाले मात्र खाने भनेर सरकारी चिकित्सकहरु वीरलाई न्याम्सबाट अलग गराउनु पर्ने ‘लबिइङ’मा लागेको देखिन्छ । तर, तत्काल यस्तो हुँदा न्याम्सभन्दा वीरलाई नै बढी घाटा हुनसक्छ ।

न्याम्सको नाममा रहेको सर्जिकल भवन वीरलाई प्रयोग गर्न नदिन सक्छ । ‘अहिले नै न्याम्सबाट वीर अस्पताल छुट्याउँदा डिग्रीकै मान्यता र वैधानिकतामा प्रभाव पर्छ, विद्यार्थीको भविष्यमा समेत असर पर्न सक्छ’ भनेर न्याम्सका भिसी बस्नेतले सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । यस्तो अवस्था आए वीर र न्याम्सको सम्बन्ध ‘इजरायल-प्यालेस्टाइन’को स्थितिमा नपुग्ला भन्न सकिन्न ।

स्वास्थ्य प्रतिष्ठानलाई पढाउनका लागि आफ्नै एउटा अस्पताल आवश्यक पर्छ । वीरबाट न्याम्सलाई तत्काल छुट्याउने हो भने न्याम्सको आफ्नो अस्पताल नहुने  र उसले दिने तालिमले वैधानिकता र मान्यता पाउँदैन । न्याम्सले पनि आफ्ना कर्मचारी र पूर्वाधार वीरलाई दिन बाध्य छैन । यस्तो अवस्थामा न्याम्स र वीरको सम्बन्ध ‘इजरायल-प्यालेस्टाइन’ कै स्थितिमा पुग्ने टिप्पणी हुन थालेको छ ।

न्याम्सको दुवाकोटमा पन्ध्र सय शय्याको अस्पताल बन्ने भनिएको छ । तर कुनै सुरसार छैन ।  पाँच-पाँच सय गरी तीन चरणमा पन्ध्र सय शय्याको अस्पताल बनाउने योजना रहेको न्याम्सका भिसी बस्नेतले सुनाए । तर, केही बन्ने हो निश्चित छैन । यस्तो अवस्थामा वीर र न्याम्स छुट्याउने हो भने पानीबिनाको माछाको हालत हुने देखिन्छ । न्यासबाट तत्काल छुट्टिदाँ वीरले पनि धेरै कुरा गुमाउनु पर्ने स्थिति आउँछ । २०५९ सालमा अध्यादेश ल्याएर वीरसँग जोडिएको न्याम्स २०८१ मा विधेयक प्रस्तुत गरेर तोड्ने प्रयास भइरहेको छ । वीर र न्याम्सलाई अलग गर्नुपर्छ भनेर न्याम्सबाट विशेषज्ञ बनेकाहरु बढी लागेकाे चर्चा सुनिन्छ ।

वीर र न्याम्सलाई अलग गराउनै हुन्न भन्ने पनि छैन । तर त्यसका लागि दुबै संस्थाको अस्तित्व रहने गरी गर्नुपर्ने विज्ञहरु बताउँछन् । न्याम्सको आवश्यक पूर्वाधार बनेपछि महांकालबाट दुवाकोट सारेर मात्र न्याम्स र वीर अलग गर्दा उपयुक्त हुने विज्ञहरुको सुझाव छ । तर, ‘घोडा भन्दा गाडा’ अगाडि भनेजस्तै अहिले नै वीर र न्याम्स छुट्याएर ‘टसल’ निम्ताउने कदम चाल्न खोजिएको छ । यो विषयमा सरोकारवालाहरु गम्भीर बन्नुपर्ने देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## वीर अस्पताल, #चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स )

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com