तत्कालीन मन्त्रीहरू जोगाएर मुख्यसचिवलाई सरकारी साक्षी बनाइ टेरामक्समा मुद्दा लान अख्तियारमाथि दबाब


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको बहुचर्चित टेरामक्स प्रविधि घोटाला रोचक मोडमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स लामो समयदेखि ‘ब्रेक थ्रु’ गर्न सकिरहेको छैन । दूरसञ्चार क्षेत्रको ठूलो घोटालामध्येमा पर्ने टेरामक्स प्रविधि विशेष अदालतमा नपुगी अख्तियारमै अड्किएर बसेको हो ।

टेरामक्समा अख्तियारले मुद्दा लादैछ भनेर हल्ला चलेको पनि महिनौ भयो । संसदको सार्वजनिक लेखा समितिमा अख्तियार प्रमुख प्रेमकुमार राईले टेरामक्स प्रविधिको छानबिन टुंगोमा पुग्न लागेको दाबी गरेको पनि महिनौं भयो । तर, ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझैं हुन पुगेको छ टेरामक्स । उल्टै टेरामक्स प्रविधि घोटालामा जोडिएकाहरु सल्बलाउन थालेका छन् ।

टेरामक्स प्रविधि छोटालामा जोडिएका तत्कालीन दुई सञ्चारमन्त्री र एक सचिव मुद्दाबाट जोगिन तीव्र ‘लबिइङ’मा लागेको स्रोतको दाबी छ । टेरामक्समा तत्कालीन सञ्चारमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतलाई जोगाएर विशेष अदालतमा मुद्दा लान अख्तियारमाथि दबाब आइरहेको चर्चा छ । कार्कीको हकमा त पूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसम्म संरक्षणमा लागेको चर्चा चलेको हो । त्यस्तै तत्कालीन सञ्चार तथा सूचना प्रविधि सचिव (हालका मुख्यसचिव) डा. बैकुण्ठ अर्याललाई पनि जोगाउन चलखेल भइरहेको दाबी गरिएको छ । विश्वस्त स्रोतका अनुसार टेरामक्समा मुख्यसचिव डा. अर्याललाई सरकारी साक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गर्न अख्तियारमाथि दबाब परेको हो ।

मुख्यसचिव अर्याल टेरामक्सलगायतका भ्रष्टाचारका मुद्दाबाट जोगिन प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि सन्यासीहरुसँग पुगेर हारगुहार गरिरहेको कुरा ‘ओपन सेक्रेट’ जस्तै भएको छ । उनी ओशो तपोवनमार्फत सल्बलाउन थालेको पाइन्छ । नेपालका ठूल्ठूला व्यापारिक घरानादेखि स्वामी आनन्द अरुणसँग मुख्यसचिव अर्यालको हिमचिम निकै बढ्न थालेको छ । टेरामक्स र आईटी माफिया विकल पौडेलसँग आर्थिक लेनदेनको तथ्य सार्वजनिक भएपछि एकैपछि सुगर र प्रेसरको औषधि खान थालेका उनी तपोवनको ‘हिलिङ’पछि ‘फिलिङ’मा आइसकेको चर्चा हुन थालेको हो । अख्तियार धाइरहेका अर्याल अहिले शक्तिपीठ धाउन थालेका छन् ।

टेरामक्स काण्डमा मुछिएका अर्याल केही व्यापारी र जोगी सन्यासीसँग नियमित रूपमा एउटै कार्यक्रममा देखिन थालेका छन् । विभिन्न ठाउँबाट उनलाई सरकारी साक्षी बनाएर मुद्दा लान सकिने दबाब आउन थालेपछि अख्तियार समेत अलमलमा परेको देखिन्छ । टेरामक्समा अहिलेसम्म मुद्दा दायर हुन नसक्नुमा मुख्य कारण यहीँ भएको टिप्पणी हुन थालेको छ । अख्तियारले टेरामक्समा भीआईपी आरोपितहरूलाई उन्मुक्ति दिन नहुने आम जनमानसको आवाज छ । टेरामक्सको मुद्दामा ‘रात रह्यो अग्राख पलायो’ भनेजस्तै हुन थालेकाले अख्तियारप्रतिको आम भरोसा दिलाउन चाँडै उपयुक्त निर्णय लिन आवश्यक छ ।

क्याटेगोरी : समाचार
ट्याग : #टेरामक्स, #पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, #मुख्यसचिव डा. बैकुण्ठ अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com