विकल पौडेलसँग ६२ करोड अवैध सम्पत्ति, अख्तियारद्वारा भ्रष्टाचारको चौथो मुद्दा


काठमाडौं । आईटी माफिया भ्रष्टाचारी विकल पौडेलसँग ६२ करोड अवैध सम्पत्ति रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । विकलविरुद्ध अख्तियारले हालेको यो चौथो भ्रष्टाचारको मुद्दा हो ।

विकलले ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको दाबी अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

मंगलबार मात्रै विशेष अदालतले विकल पौडेललाई भ्रष्टाचारी ठहर गरेको छ । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक हुँदा गरेको खरिदमा उनलाई अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विकललाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको हो ।

अमेरिकाको पीआर लिएर नेपालमा सार्वजनिक पद धारण गरेको अभियोगमा विकलविरुद्ध अख्तियारले विशेष अदालतमा दोस्रो भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यसलगत्तै सुरक्षण मुद्रण केन्द्रमा हार्डवेयर र सफ्टवेयर खरिदमा भ्रष्टाचार भएको भन्दै विकलमाथि अख्तियारले तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले विकलविरुद्ध अख्तियारले दायर गरेको भ्रष्टाचारको पहिलो मुद्दामा दोषी ठहर गरेको भोलिपल्टै अख्तियारले अकुत सम्पत्ति आर्जनमा चौथो भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

४ महिनादेखि अख्तियारको हिरासतमा रहेका विकलविरुद्ध अझै केही थान भ्रष्टाचारका मुद्दा दायर हुने अख्तियार स्रोतको दाबी छ । उनीविरुद्ध आधा दर्जन बढी भ्रष्टाचारको मुद्दा लाग्ने अख्तियार स्रोतको भनाइ छ ।

यस्तो अख्तियारको प्रेस विज्ञप्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं
मिति: २०८१।०२।०९ गते ।
प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निजको घरकोठाबाट बरामद भएका विद्युतीय उपकरणहरुबाट प्राप्त प्रमाणहरु र स्वदेश तथा विदेशका बिभिन्न निकायबाट प्राप्त प्रमाणहरुलाई बिश्लेषण गर्दा प्रतिवादी विकल पौडेलले आफू कार्यकारी पदमा रहेको निकायमा आपूर्ति हुने सामग्री खरिदवापत स्वदेशी तथा विदेशी आपूर्तिकर्ता कम्पनीहरुबाट कमिशन रकम प्राप्त गर्ने तथा परिचालन गर्ने क्रममा निजको बिभिन्न व्यक्ति तथा निकायसँग सम्पर्क रहेको, प्राप्त कमिशन रकम लिई सिङ्गापुर स्थित युनाईटेड ओभरसिज बैङ्क र संयुक्त राज्य अमेरिकास्थित बैङ्क अफ अमेरिकामा रकम जम्मा गर्ने गरेको र सोमध्ये केही रकम विदेशमा नै परिचालन गर्ने गरेको तथ्य प्रमाणहरुबाट देखिएको।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएको मिति २०७४/०७५ देखि २०७९/०८० को अवधिमा विकल पौडेल आफैले टेण्डरहरुको कोटेशन (Quotation/Specification) बनाई योजनाबद्ध ढङ्गले आफैले चाहेको स्वदेशी आपूर्तिकर्ता WDN, OBCI, MAX, Nextgen Solution लगायतका कम्पनीहरुसंग ठेक्का सम्झौता गरेको र उक्त स्वदेशी आपूर्तिकर्ताहरुले सोही अवधिमा विदेशी आपूर्तिकर्ता Instasafe Inc र Bancotec Pte Ltd जस्ता कम्पनीहरुसँग साझेदारी गरी सूचना प्रविधिसँग सम्बन्धित सामानहरु स्वदेशमा आपूर्ति गर्ने गरेको र सो साझेदारी बापत विदेशी कम्पनीहरुले कमिशन बापत निज विकल पौडेलको सिङ्गापुर स्थित युनाईटेड ओभरसिज बैङ्क र सँयुक्त राज्य अमेरिका स्थित बैङ्क अफ अमेरिकामा रु. 28,95,75,689।73 जम्मा गरेको देखिएको।

निज राष्ट्रसेवक (सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक) भएको बखत नेपाल सरकारको कुनै स्वीकृति सहमति नलिई सिंगापुरको Bancotec Pte Ltd र Instasafe Inc नामक कम्पनीमा आफू नेपाल सरकारको कर्मचारी भएको व्यहोरा लुकाई निजले अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा नियुक्ति लिई बिक्री एजेण्टको रुपमा काम गरेको, सन् 2019 देखि सन् 2022 सम्ममा Bancotec Pte Ltd बाट मात्र विक्रि कमिशन बापत अमिरीकी डलर 9,09,441।66 लिएको र Instasafe Inc बाट विक्रि कमिशन बापत अमरिकी डलर 1,39,964।40 लिएको व्यहोरा सोही कम्पनीहरुबाट प्राप्त पत्रबाट खुल्न आएको।निज विकल पौडेलले पटकपटक गरी रु. 3,77,91,100।00 रकम सायद ताहिर साह, अकबर हुसेन, मनोज कार्की, ऋचा खनाल समेतलाई ट्रान्सफर गरेको साथै विभिन्न मितिमा सिंगापुरस्थित प्रुडियन्सल एसुरेन्स कम्पनीमा रु. 2,44,63,822।27 बराबरको प्रिमियम भूक्तानी गरी जीवन बीमा समेत गरेको देखिएको।यसका अलाबा सिङ्गापुर स्थित युनाईटेड ओभरसिज बैङ्कको Wealth accumulation plan अन्तर्गतको एउटा स्किम Structure Note मा अमेरिकी डलर २,00,000।00 लगानी गरेको प्रमाण निजले प्रयोग गरिरहेको hotmail ईमेलबाट खुल्न आएको ।

सुरक्षण मुद्रण केन्द्रमा कार्यरत भएको समयमा निज विकल पौडेलले प्रसान्थ जी भन्ने विदेशी व्यक्तिसँग गरेको सञ्चार संवादमा पटकपटक गरी 2,14,300।00 अमेरीकी डलर कमिशन रकम संयुक्त राज्य अमेरिकास्थित बैङ्क अफ अमेरिकाको खातामा जम्मा गरेको खुल्न आएको।निज विकल पौडेलले कमिशन बापत बुझेको रकमबाट सँयुक्त राज्य अमेरिका स्थित Robinhood Securities LLC मा रु.8,47,60,446।88 र Robinhood Markets को बिभिन्न शेयरहरुमा रु.4,62,36,829।22 गरि जम्मा रु.13,09,97,276।10 बराबरको लगानी गरेको नेपाल राष्ट्र बैंक तथा निजको साथबाट बरामद भएको बिद्युतीय उपकरणहरुबाट खुल्न आएको।

प्राप्त सम्पत्ति लुकाउन छिपाउनका लागि नाटकीय रुपमा परिवारसँग बि.स. 2075।08।13 गते अंश बुझेको लिखित भरपाई गरेको देखिएतापनि हालसम्म निज विकल पौडेल आफ्नै आमा, बुबा र भाउजुसँग नै बस्दै आएको, साथै निजको आमाले आफ्नो दुई छोरामध्ये विकल पौडेललाई मात्र शेष पछिको बकस दिएको र विकल पौडेलको गैर कानूनी सम्पत्तिको अनुसन्धान गरिरहेको बखतमा निजको आमाले सो शेषपछिको बकसपत्र रद्द गरेको पनि खुल्न आएको।

निज विकल पौडेलले कमिशन बापत बुझेको रकमबाट अंशबण्डा पश्चात पनि बुबा र आमाको नाममा घर जग्गा, शेयर तथा सवारी साधन खरिद गरेको, निजको आमा र दाइसँगको संयुक्त लगानीमा जिल्ला काठमाडौं साविक महांकाल-८ मा क्षेत्रफल 290.25 वर्गमिटरको जग्गा खरिद गरेको, साथै निजको आमा र दाइको संयुक्त नाममा भक्तपुरको छालिङ्गमा क्षेत्रफल 5-7-0-0 को जग्गा खरिद गरेको देखिएको।

निज विकल पौडेलले भ्रष्टाचार गरी आर्जेको रकमले २४ सेप्टेम्बर २०२१ मा सँयुक्त राज्य अमेरिकामा रहेकी श्रीमती एलिना बस्नेतको नाममा 6370 Tullipwood Lane, Jamesville NY 13078 नाम गरेको स्थानमा अमेरिकी डलर ५,१५,०००.०० लगानी गरी घर खरिद गरेको पारस्पारिक कानूनी सहायता मार्फत विवरण प्राप्त विवरण बाट देखिएको।

(क.) प्रतिवादी विकल पौडेलको हकमा: प्रतिवादी विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएको मिति २०७४/०७५ देखि २०७९/०८० को अवधिलाई जाँच अवधि कायम गरी आयव्ययको विश्लेषण गर्दा आयतर्फ निजको पारिश्रमिक बचत, शेयर बिक्रि आय,बैंक खातामा रहेको रकम, अंश बापत प्राप्त रकम, विप्रेषण आय,ऋण सापटी रकम,बैंकबाट प्राप्त व्याज गरी कुल आम्दानी रु.२,०१,४३,८८८.६८(दुई करोड एक लाख त्रिचालीस हजार आठ सय अठासी रुपैयाँ अठसठ्ठी पैसा) रहेको र व्ययतर्फ विदेशी बैंकमा मौज्दात, Robinhood Securities LLC मा गरेको लगानी, लगानीको लागि विभिन्न व्यक्तिहरुलाई दिएको रकम, स्वदेशी तथा विदेशका बैंक खातामार्फत विद्युतीय माध्यममार्फत गरेको खर्च, United Overseas Bank(UOB) को Structured Note मा गरेको लगानी, विदेश भ्रमण खर्च, बुवा तथा आमाको नाममा गरेको लगानी, श्रीमतिको नामा अमेरिकामा गरेको लगानी, स्वदेशमा सेयर खरिद, श्रीमतिको UOB बैंक खातामा ट्रन्सफर गरेको रकम, अध्ययन खर्च, स्वदेशी विमा भुक्तानी तथा स्वदेशी बैंक मौज्दात र ऋण तिरेको रकम गरी कुल रु. ६४,२०,६२,५७२.९७(चौसठ्ठी करोड बीस लाख बैसठ्ठी हजार पाँच सय बहत्तर रुपैयाँ सन्तानब्बे पैसा) खर्च तथा लगानी गरेको देखिंदा उक्त खर्च तथा लगानीमा आय आर्जन रकम रु.२,०१,४३,८८८.६८ (दुई करोड एक लाख त्रिचालीस हजार आठ सय अठासी) घटाउँदा हुन आउने रु. ६२,१९,१८,६८४.२९(अक्षेरुपी बैंसठ्ठी करोड उन्नाइस लाख अठार हजार छ सय चौरासी रुपैयाँ उनन्तीस पैसा) बराबरको खर्च तथा लगानी (सम्पत्ति) को बैधानिक स्रोत नखुलेको हुँदा निज विकल पौडेलले प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी विकल पौडेल उपर रु.62,19,18,684।29 (अक्षेरुपि बैंसठ्ठी करोड उन्नाइस लाख अठार हजार छ सय चौरासी रुपैयाँ उनन्तीस पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसार कैद र बिगोबमोजिम जरिवानाको सजाय गरी जम्मा विगो रु.62,19,18,684।29 (अक्षेरुपि बैंसठ्ठी करोड उन्नाइस लाख अठार हजार छ सय चौरासी रुपैयाँ उनन्तीस पैसा) जफत/असुल उपर हुन मागदावी लिइएको छ।
प्रतिवादी विकल पौडेलले आफू राष्ट्रसेवक रहेको वखत पेश गरेको सम्पत्ति विवरणमा उल्लेखित विवरणहरु उल्लेख नगरी वास्तविक भए रहेको सम्पत्ति लुकाई छिपाई झुठ्ठा विवरण पेस गरेको पुष्टि भएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा निज प्रतिवादी विकल पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुन समेत मागदावी लिइएको छ।साथै, निज प्रतिवादी नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षण मुद्रण विकास समिति, सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक समेतमा नियुक्त भएको पदाधिकारी भएकोले प्रतिवादी विकल पौडेलले भ्रष्टाचार निवारण ऐन, 2059 को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लेखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादी विकल पौडेललाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजायसमेत हुन मागदावी लिइएको छ।
(ख.) प्रतिवादीहरु एलिना बस्नेत, धर्म प्रसाद शर्मा पौडेल र शितल पौडेलको हकमाः प्रतिवादी विकल पौडेलकी श्रीमती एलिना बस्नेत, बाबु धर्म प्रसाद शर्मा पौडेल, आमा शितल पौडेलले विकल पौडेललाई गैरकानूनी सम्पत्ति आर्जन गर्ने कार्यमा नै सहयोग गरेको अवस्था नदेखिएको, निजले गैरकानूनी रुपले आर्जन गरेको सम्पत्ति कहाँ, के, कुन कार्य गरी आर्जन गरेको हो भन्ने विवरण थाहा हुन सक्ने अवस्था समेत हालसम्मको अनुसन्धानबाट खुल्न सकेको नपाइएको र निजहरूले विकल पौडेलले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति आफ्नो नाममा नगद, जिन्सी, सवारीसाधन, घरजग्गा खरिद गरी राखेको सम्म देखिदा प्रतिवादीहरु एलिना बस्नेत, धर्म प्रसाद शर्मा पौडेल र शितल पौडेललाई निजहरूको नाममा रहेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख), पारस्परिक कानुनी सहायता ऐन, 2070 को दफा १२ बमोजिम जफत तथा असुलउपर गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गर्ने गरी मागदावी लिइएको छ।
(ग.) प्रतिवादी विकल पौडेल र एलिना बस्नेतको नाममा विदेशी बैंकमा रहेका बैंक खाताहरूबाट जफत गर्नुपर्ने स्रोत नखुलेको सम्पत्तिको सम्वन्धमा:
प्रतिवादीहरू विकल पौडेल र एलिना बस्नेतको नाममा युनाइटेड ओभरसिज बैंक, सिंगापुर र बैंक अफ अमेरिका नेशनल एसोसिएसन, संयुक्त राज्य अमेरिकामा रकम जम्मा हुँदाको प्रचलित विनिमयदर अनुसार रु.28,95,75,689।73 (अठ्ठाइस करोड पञ्चानब्बे लाख पचहत्तर हजार छ सय उनानब्बे रुपैयाँ त्रिहत्तर पैसा) जम्मा रहेको।प्रतिवादी एलिना बस्नेतको नाममा जम्मा रहेको रकम समेत संयुक्त राज्य अमेरिकामा रहेको बैंक अफ अमेरिका नेशनल एसोसिएसनमा निज एलिना बस्नेत र विकल पौडेलको संयुक्त खातामा सिंगापुरमा रहेको बैंकोटेक प्रा.लि.बाट सिधै रकम दाखिला भएको हुँदा प्रतिवादीहरु विकल पौडेल र एलिना बस्नेतको नाममा रहेको रकम जम्मा हुँदाको वखतको प्रचलित विनिमय दर अनुसार रु.28,95,75,689।73 (अठ्ठाईस करोड पञ्चानब्बे लाख पचहत्तर हजार छ सय उनानब्बे रुपैयाँ त्रिहत्तर पैसा) रकम माथि उल्लेखित कानुनी व्यवस्था वमोजिम विगो जफत तथा असुल उपर गर्न मागदावी लिइएको छ।
(घ.) प्रतिवादी विकल पौडेलसमेतको लगानी रहेको निजको श्रीमती एलिना बस्नेतको नाममा अमेरिकामा खरिद गरिएको घर/जग्गाको सम्वन्धमाः
प्रतिवादीहरू विकल पौडेल र एलिना बस्नेत एकाघर सगोलका पति पत्‍नी सम्बन्धका व्यक्ति रहेको र एलिना बस्नेतको नामको अमेरिकाको घर खरिद गर्न प्रतिवादी विकल पौडेलले अमेरिकी डलर 1,29,000।- (अमेरिकी डलर एक लाख उनन्तीस हजार) तत्कालीन समयको विनिमयदर अनुसार रु.1,52,70,740।-(एक करोड बाउन्न लाख सत्तरी हजार सात सय चालीस रुपैयाँ) रकम गिफ्टको नामबाट एलिना बस्नेतलाई दिएको, उक्त घर सम्पत्ति विवरणमा शुरुदेखि नै नदेखाई लुकाई छिपाई राखेको एवं प्रतिवादी एलिना बस्नेत आयोगले गरेको तामेली म्यादमा अनुपस्थित रहन गएको र उक्त घर खरिद गर्दाको बाँकी रकम रु.4,52,62,360.०० (चार करोड बाउन्न लाख बैसठ्ठी हजार तीन सय साठी रुपैयाँ) को सम्बन्धमा कुनै स्रोत खुलाउन नसकेको अवस्थामा उक्त घरको बाँकी रकम प्रतिवादी विकल पौडेलले गैरकानूनी रुपमा आर्जित रकम नै प्रयोग भएको अवस्था देखिदा उक्त खरिद मूल्य तत्कालीन विनिमयदर अनुसार रु.6,05,33,100.०० (छ करोड पाँच लाख तेत्तीस हजार एक सय रुपैयाँ) समेत उक्त घर/जग्गा खरिद गरेको देखिन्छ।तसर्थ प्रतिवादी एलिना बस्नेतको नाममा रहेको उक्त मूल्य रु.6,05,33,100।- (छ करोड पाँच लाख तेत्तीस हजार एक सय रुपैयाँ) घरवाट माथि उल्लेखित कानुनी व्यवस्था वमोजिम विगो जफत तथा असुल उपर गर्न मागदावी लिइएको छ।
(ङ) अनुसन्धानको क्रममा रोक्का राखिएको प्रतिवादीहरु विकल पौडेलको शेयर र बैक मौज्दात सम्पत्तिको जफत/असुल उपर तथा रोक्का निरन्तरता सम्वन्धमाः
प्रतिवादी विकल पौडेलको नाममा क्रमश: नेपालमा रहेको शेयर र नेपालको बैंक तथा वित्तीय संस्थामा रहेको बैंक मौज्दात गरी जम्मा विगो रु.38,27,462।05 (अड्तीस लाख सत्ताइस हजार चार सय बैसठ्ठी रुपैयाँ पाँच पैसा) को सम्पत्ति माथि उल्लेखित कानुनी व्यवस्था वमोजिम जफत तथा असुल उपर गर्न मागदावी लिइएको छ।
(च.) प्रतिवादी विकल पौडेलले आर्जन गरेको गैरकानूनी सम्पत्तिबाट निजको आमा शितल पौडेल र र बाबु धर्म प्रसाद शर्मा पौडेलको नाममा खरिद गरेको सम्पत्तिको सम्वन्धमाः
प्रतिवादी विकल पौडेलले गैरकानूनी तवरले आर्जन गरेको गैरकानूनी सम्पत्तिबाट नै आमा शितल पौडेलको नाममा घर जग्गा र बाबु धर्म प्रसाद शर्मा पौडेलको नाममा विभिन्न कम्पनीको शेयर तथा सवारी साधनमा लगानी गरेको देखिएकोले जम्मा विगो रु.7,31,88,900।-(अक्षेरुपि सात करोड एकतिस लाख अठासी हजार नौ सय) को सम्पत्ति माथि उल्लेखित कानुनी व्यवस्था बमोजिम जफत तथा असुल उपर गर्न मागदावी लिइएकोछ।
(छ.) प्रतिवादी विकल पौडेलले शेषपछिको बकसपत्र प्राप्त सम्बन्धमाः
प्रतिवादीहरु शितल पौडेल र धर्म प्रसाद शर्मा पौडेल (दुई सन्तान विकल पौडेल र विवेक पौडेल) का नाममा रहेको सम्पत्ति निजहरुको अंशबण्डा अघि नै खरिद गरेको देखिएकोमा प्रतिवादी विकल पौडेलले मात्र आफ्नो नाममा मिति 2079/05/29 मा निजको आमा शितल पौडेलले अंशबण्डा पश्चात एकल छोरालाई मात्र शेषपछिको बकसपत्र गरी दिएको देखिएको र प्रतिवादीहरु शितल पौडेलसमेतले बयान गर्दा दाजुभाइमा आफूले गरेको कमाइको विषयमा पछि समस्या नहोस् भनेर शेषपछिको बकसपत्र गरेको भनी खुलाएकोबाट उक्त सम्पत्ति प्रतिवादी विकल पौडेलले नै गैरकानूनी आर्जन गरी निजको आमा शितल पौडेलको नाममा लगानी गरी सिर्जित सम्पत्ति भएको पुष्टि भएको अवस्थामा आफ्नो नाममा शेषपछिको बकसपत्र मार्फत प्राप्त गर्ने गरी लिखत पास गरी लिएको उक्त सम्पत्ति लुकाई छिपाई राख्ने नियतले निजउपर गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीको अनुसन्धान चलिरहेको अवस्थामा मिति २०८०/०१/२० गतेको लिखतवाट शेषपछिको बकसपत्र बदर भएको मालपोत कार्यालय र उल्लेखित कित्ताका घर जग्गाहरु खरिद गरेको खर्च रकमका सम्बन्धमा अनुसन्धानको क्रममा प्रतिवादी विकल पौडेलको आमा शितल पौडेलले बयानमा सो खर्च रकम आफ्नो वैध आय हो भन्ने प्रमाण पेश गरेको नदेखिएको र सो जग्गाहरु प्रतिवादी विकल पौडेलले गैरकानूनी तवरले आर्जन गरेको सम्पत्ति लगानीबाट नै खरिद गरेको देखिएको हुँदा विगो रु.1,70,00,000।-(अक्षेरुपि एक करोड सत्तरी लाख) मूल्यको जग्गा माथि उल्लेखित कानुनी व्यवस्था वमोजिम जफत/असुल उपर गर्न मागदावी लिइएको छ।

(ज.) प्रतिवादीहरु विकल पौडेलसमेतको लगानी रहेको बैङ्क मौज्दातको सम्वन्धमाः
प्रतिवादी विकल पौडेलसमेतको लगानी रहेको प्रतिवादीहरु एलिना बस्नेत, धर्म प्रसाद शर्मा पौडेलको नाममा स्वदेशमा रहेको बैंक तथा वित्तीय संस्थामा रहेको बैंक मौज्दात रु.11,65,912।92 (एघार लाख पैंसठ्ठी हजार नौ सय बाह्र रुपैयाँ बयानब्बे पैसा) माथि उल्लेखित कानुनी व्यवस्था वमोजिम जफत/असुल गर्न मागदावी लिइएको छ।
(झ.) अपुग बिगो जफत/असुल उपर गर्ने सम्वन्धमाः
अनुसन्धानवाट संकलित आधार प्रमाणहरुवाट प्रतिवादी विकल पौडेलले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति रु.62,19,18,684।29 (बैंसठ्ठी करोड उन्नाइस लाख अठार हजार छ सय चौरासी रुपैयाँ उनन्तीस पैसा) रहेकोमा हाल सम्मको अनुसन्धानवाट खुलेको निजको जफत/असुल उपर गर्ने सम्पत्ति रु.44,52,91,064।70 (चौवालीस करोड बाउन्न लाख एकानब्बे हजार चौसठ्ठी रुपैयाँ सत्तरी पैसा) बराबर रहेको, सो सम्पत्ति जफत/असुल उपर गर्न मागदावी लिने सम्वन्धमा माथि उल्लेख भई सकेको अवस्था छ। हाल सम्मको अनुसन्धानवाट जफत/असुल उपर गर्न रु.17,66,27,619।59 (सत्र करोड छैंसठ्ठी लाख सत्ताइस हजार छ सय उन्नाइस रुपैयाँ उनन्साठ्ठी पैसा) बराबरको सम्पत्ति अपुग हुन आएको हुँदा उक्त बाँकी अपुग रु.17,66,27,619।59 (सत्र करोड छैंसठ्ठी लाख सत्ताइस हजार छ सय उन्नाइस रुपैयाँ उनन्साठ्ठी पैसा) को विगो जफत/असुल उपर गर्ने सम्वन्धमा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 20 को उपदफा (२), ऐ.ऐनको दफा १६ को उपदफा (२), ऐ.ऐनको दफा ४७, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) र पारस्परिक कानूनी सहायता ऐन, 2070 को दफा 12, कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, 2070 को दफा 10 र 11 समेतको प्रचलित कानूनबमोजिम जफत/असुलउपर हुन मागदावी लिइएको छ।

 

नरहरि घिमिरे
प्रवक्ता

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #विकल पौडेल, #सुरक्षण मुद्रण केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com