स्मार्ट लाइसेन्स घोटालामा हरिश भट्टविरुद्ध सिआईबीको दोस्रो मुद्दा


काठमाडौं । स्मार्ट लाइसेन्स घोटालामा यातायात व्यवस्था विभागका पूर्वकम्प्युटर अधिकृत हरिश भट्टविरुद्ध काठमाडौं जिल्ला अदालतमा दोस्रो किर्ते मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले भट्टविरुद्ध लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा दोस्रो मुद्दा दर्ता गराएको हो ।

सिआईबीले एक हप्ता अगाडि मात्र भट्ट र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरजप्रकाश अर्याल, यातायात व्यवस्था कार्यालय, बुटवलका कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेसहितलाई विपक्षी बनाएर किर्ते मुद्दा दर्ता गराएको थियो । गाडीले हानेर मान्छे मार्ने स्याङजाका शशांक बस्याललाई नक्कली लाइसेन्स दिएको अभियोगमा भट्ट, अर्याल र पाण्डेसहित ७ जना व्यक्तिलाई प्रतिवादी बनाएर सिआईबीले किर्ते मुद्दा दायर गरेको हो । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले भट्टलाई २ लाख र अर्याल र पाण्डेलाई ५/५ लाख रुपैयाँ धरौटी माग गरेको छ । अर्याल र पाण्डे ५/५ लाख धरौटी बुझाएर छुटेपनि भट्ट सिआईबी कै हिरासतमा छन् ।

‘फास्ट प्रिन्टर’को नाममा नक्कली कागजात पेस गरेर ५ हजारदेखि १५ हजार रुपैयाँसम्म घुस लिएर लाइसेन्स छापेको अभियोगमा भट्टसहित ७ जनाविरुद्ध सिआईबीले काठमाडौं जिल्ला अदालतमा लिखत सम्बन्धी कसुरमा अर्को मुद्दा दर्ता  गराएको हो । ललितपुरको एकान्तकुनास्थित सुजुकी ड्राइभिङ सेन्टरका सञ्चालक समेत रहेका भट्टसहित यातायात व्यवस्था विभागका करार सेवामा कार्यरत पूर्व कम्प्युटर अपरेटर बसन्त पाण्डे, यातायात व्यवस्था विभागमा करार सेवामा कार्यरत सहायक कम्प्युटर अपरेटर दीपा न्यौपाने र विभाग कै अर्का करार सेवाका अर्का सहायक कम्प्युटर अपरेटर बिर्जुकुमार चौधरीविरुद्ध किर्ते मुद्दा दर्ता भएको छ ।

यातायात व्यवस्था विभागका पूर्व कम्प्युटर अपरेटर हाल जिल्ला प्रशासन कार्यालय, सल्यानमा कार्यरत गणेश भण्डारी, एकान्तकुनास्थित वेलकम ड्राइभिङ सेन्टरका बिचौलिया प्रदीप सुनार र यातायात व्यवस्था विभाग, बानेश्वर नजिकै रहेको यातायात साइबरका सञ्चालक मिलन बाँस्तोलालाई पनि सिआईबीले उक्त मुद्दामा प्रतिवादी बनाएको छ । उनीहरु सेवाग्राहीबाट पैसा लिइ नक्कली कागजात तयार पारेर पेस गरी तत्काल लाइसेन्स छापेर उपलब्ध गराउने कार्यमा संलग्न रहेको सिआईबीको अभियोग उल्लेख छ । त्यो बापत उनीहरुले मोटो रकम लिएको खुल्न आएको हो । सिआईबीले यो विषयमा थप अनुसन्धान गरिरहेको र भ्रष्टाचार मुद्दा समेत चलाउनका लागि अख्तियारमा समेत लेखी पठाउने निर्णय भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #इन्जिनियर हरिश भट्ट, #दीपा न्यौपाने, #नक्कली लाइसेन्स, #नारायण पाण्डे नक्कली लाइसेन्स, #बसन्त पाण्डे, #सुरज प्रकाश अर्याल, #हरिश भट्ट कम्प्युटर इन्जिनियर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ