अर्थ मन्त्रालयको प्रशासन महाशाखामा सापकोटा आए, डा. पाण्डे हटाइए


काठमाडौं । अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी नारायणप्रसाद सापकोटाले पाएका छन् । गत चैत १२ मा अर्थ मन्त्रालय भित्रिएका सहसचिव सापकोटाले साढे दुई महिनापछि बल्लबल्ल जिम्मेवारी पाएका हुन् । अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी रहेका विवादित पृष्ठभूमिका डा. टोकराज पाण्डेलाई जगेडामा पुऱ्याइएको छ ।

तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतका पालामा अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनेका सहसचिव डा. पाण्डे उनी हटेपनि डेरा जमाएर बसेका थिए । वर्षमान पुन अर्थमन्त्री भएपछि अर्थ भित्रिएका सहसचिव सापकोटाले डा. पाण्डेलाई विस्थापित गरेर प्रशासन महाशाखामा स्थापित भएका हुन् ।

झन्डै एक वर्षदेखि ‘पेण्डुलम’ बनेका वरिष्ठ सहसचिव सापकोटाले बल्लतल्ल जिम्मेवारी पाएका छन् ।  गत वर्ष १२ असारमा राजस्व अनुसन्धान विभागको महानिर्देशकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका सहसचिव सापकोटा त्यसयता जिम्मेवारीविहीन अवस्थामा थिए । नवराज ढुंगानाले सापकोटालाई विस्थापित गरेर राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेपछि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका थिए । ९ महिनासम्म उनी प्रधानमन्त्री कार्यालयको बरण्डामा बस्न बाध्य भए । त्यसपछि अर्थ मन्त्रालय पुगेका सहसचिव सापकोटाले साढे दुई महिनापछि मात्र जिम्मेवारी पाएका हुन् ।

साढे दुई महिनासम्म सहसचिव सापकोटालाई अर्थ मन्त्रालयमा बस्ने कोठा र कुर्ची पनि व्यवस्था गरिएन । मन्त्रालयमा हाजिर मात्र गरेर जिम्मेवारी निर्वाह गर्न नपाएका उनी कोठा र कुर्चीको पनि व्यवस्थापन गर्ने प्रशासन महाशाखाको प्रमुख बनेका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##अर्थ मन्त्रालय, #डा. टोकराज पाण्डे, #नवराज ढुंगाना सहसचिव, #नारायणप्रसाद सापकोटा, #प्रशासन महाशाखा, #राजस्व अनुसन्धान विभाग

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ