प्रधानमन्त्री ओलीले लिलादेवीको नाममा अडान राख्दा बेपत्ता आयोगको अध्यक्षबाट भण्डारी नाम ‘बेपत्ता’

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग गठनको प्रक्रिया अघि बढेको छ। सरकारले द्वन्द्वकालीन घटनाका मुद्दा टुंग्याउन सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनको प्रक्रिया अघि बढाएको हो।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले दुबै आयोगमा पदाधिकारीको नाम सिफारिस गरेको छ। टिआरीको अध्यक्षमा पूर्वनायबमहान्यायाधिवक्ता एवं पूर्वन्यायाधीश महेश थापा र बेपत्ताको अध्यक्षमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस भएको हो। वामपन्थी पृष्ठभूमिका संखुवासभाली थापा र त्यहिँ लाइनकी तेह्रथुमकी गड्तौला दुई आयोगको नेतृत्व गर्ने तरखरमा छन्।
नेपाली कांग्रेसले टिआरसीको अध्यक्षमा नेपाल बार एसोसिएसनका वरिष्ठ अधिवक्ता सिताराम केसीलाई बनाउन खोजेको थियो। तर, उनले कर्णेल कुमार लामाको तर्फबाट बहस गरेको विवाद सतहमा आएपछि सिफारिसमा पर्न सकेनन्। केसीको नाममा द्वन्द्व पीडितले ‘आगो ओकल्ने’ थाहा पाएपछि डेमोक्र्याट पृष्ठभूमि कै पूर्वनायबमहान्यायाधिवक्ता विश्वराज कोइरालालाई अघि सार्न खोजियो। कोइराला अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सुदूरपश्चिमको कार्यालय प्रमुख हुँदा तत्कालीन जिविसबाट मदिरापानको बिल तिराएको उजुरी परेको थियो। त्योभन्दा पनि जनकपुरमा सरकारी वकिल हुँदाको बलत्कार ‘केस’लाई लिएर कोइरालाविरुद्ध गम्भीर प्रकृतिको उजुरी परेको थियो। कोइरालाले तत्कालीन गृहमन्त्री रवि लामिछाने कै शैलीमा हालसालै महान्यायाधिवक्ता कार्यालयबाट ‘क्लिन चिट’ लिएको विषय अहिले चर्चामा छ।
केसी र कोइरालाको नाममा विवाद भएपछि टिआरसीको अध्यक्षमा थापाको नाम सिफारिस भएको थियो। थापा सूर्यनाथ उपाध्याय अख्तियार प्रमुख हुँदा उनको विश्वासपात्र भएर काम गरेका थिए। यद्यपि थापाप्रति कसैको नकारात्मक टिप्पणी सुनिँदैन।
टिआरसीको अध्यक्षमा थापाको नाम सिफारिस भएपछि बेपत्ताको अध्यक्षमा अच्युतप्रसाद भण्डारीलाई सिफारिस गर्ने कसरत थियाे। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमुख्यसचिव लिलादेवी गड्तौलालाई बेपत्ता आयोगको अध्यक्षमा सिफारिस भएपछि भण्डारी हेरेको हेरै भए। प्रधानमन्त्री ओलीले गड्तौलालाई बरियता मिचेर मुख्यसचिव बनाएका थिए। अहिले फेरि उनैलाई बेपत्ताको अध्यक्ष बनाउने अड्डी कस्दा भण्डारीको नाम बेपत्ता आयोगको अध्यक्षबाट बेपत्ता भएको चर्चा छ। नेकपा माओवादी केन्द्रसँग निकट मानिने भण्डारीको नाम बेपत्ता आयोगको अध्यक्षबाट बेपत्ता बनाएर टिआरसीको सदस्यमा पुऱ्याएको पाइन्छ। प्रधानमन्त्री ओलीको कोपभाजनमा उच्च अदालतका पूर्वन्यायाधीश भण्डारी परेको हल्ला अहिले सिंहदरबारभित्र गाइगुइ चल्न थालेको छ। आगामी मन्त्रिपरिषद्को बैठकले द्वन्द्वकालीन दुई आयोगका पदाधिकारी नियुक्त गर्ने उच्च सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #अच्युतप्रसाद भण्डारी, #बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, #महेश थापा, #लिलादेवी गडतौला, #सत्य निरुपण तथा मेलमिलाप आयोग
तपाईको प्रतिक्रिया दिनुहोस