अदालतबाट सफाइ पाएपछि गृह प्रशासन चलाइरहेका दुई अधिकृत

काठमाडौं। प्रमुख अध्यागमन अधिकृत भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमामा नक्कली भिजिट भिसाको सेटिङ चलाइरहेका सहसचिव तीर्थराज भट्टराई रातघरमा बयान दिइरहेका छन्। नक्कली भिजिट भिसा सेटिङ गरेर दिनप्रतिदिन राम्रै असुली गरिरहेको सूचना र प्रमाण भेटेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीका विश्वासपात्र भट्टराईलाई ‘कऱ्यापझ्याप’ पारेको हो। भट्टराईको गिरोहले नक्कली भिजिट भिसाको लाइन चलाएको अख्तियार स्रोतको दाबी छ।
स्रोतका अनुसार दीपक पाण्डे, लक्ष्मी भुषाल, दुर्गा थापा, सरोज खनाल, कमलराज उपाध्याय, शम्भु ठगुन्ना, यज्ञराज अर्याल, भिष्मराज अर्याल, प्रभा अर्याललगायतका कर्मचारी उच्च निगरानीमा छन्। उनीहरूले चलाएको सेटिङको लाइन मन्त्रालयसम्म पुगेको आशंका गरिएको छ। गृहमन्त्री लेखक र सचिव दुवाडीका विश्वासपात्र कर्मचारी प्रशासन शाखाका अधिकृत गणेशदत्त ओझाले अध्यागमनको लाइन मिलाउने गरेको आरोप लाग्ने गरेको छ। त्यो विषय अख्तियारसम्म पुगेको पाइन्छ।
गृह मन्त्रालयका हर्ताकर्ता शाखा अधिकृत ओझा पहिला पनि भ्रष्टाचार मुद्दा लागेका व्यक्ति हुन्। कैलालीको मोहन्याल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा उनीमाथि भ्रष्टाचार मुद्दा लागेको अख्तियारको ‘रकर्ड’बाट देखिन्छ।
अख्तियारले ०७४/७५ मा ढुंगा, गिटी, बालुवा उत्खनन र बिक्रीको ठेक्कामा कार्यपालिकाबाट निर्णय गराएर राजस्व छुट दिएको आरोपमा गाउँपालिका अध्यक्ष, कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। ५४ लाख १८ हजार रुपैयाँ कार्यपालिकाबाट निर्णय गराएर गैरकानुनी रूपमा छुट दिइएको पुष्टि भएपछि अख्तियारले मुद्दा चलाएको थियो। तत्कालीन प्रमुख प्रशाकीय अधिकृत ओझाले पहिलो किस्ताबापतको कबोल अंक रकम ठेकेदारबाट सर्तबमोजिम सम्झौताका बखत नगद जम्मा गर्न नलगाई सम्झौता गरेको अख्तियारको आरोपमा उल्लेख छ।
अख्तियारले हालेको उक्त भ्रष्टाचार मुद्दामा प्रमुख प्रशासकीय अधिकृत ओझालगायताका प्रतिवादीले सफाइ पाए। उक्त भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालत पुगेको छ। सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेका शाखा अधिकृत ओझा अहिले गृह मन्त्रालयको हर्ताकर्ता रहेको पाइन्छ।
ओझा मात्र होइन अध्यागमन अधिकृत हुँदा नक्कली भिजिट भिसा सेटिङमा मुद्दा लागेका विमल पौडेल पनि अहिले गृहमन्त्रीको सचिवालयमा रहेको खुल्न आएको छ। लिखत किर्ते तथा संगठित अपराधसम्बन्धी कसुरमा पौडेललाई काठमाडौं जिल्ला अदालतमा फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने सेटिङ धन्दामा तत्कालीन अध्यागमन अधिकृत नरवीर खड्का समातिएपछि पौडेल पनि तानिएका थिए। जिल्ला अदालतबाट सफाइ पाएका पौडेले अहिले गृहमन्त्री रमेश लेखकको सचिवालयमा बसेर लाइन मिलाउन सक्रिय रहेको चर्चा छ।
अख्तियारदेखि गृहसचिव हुँदा महेश्वर न्यौपानेको सचिवालयमा बसेका पौडेल गृहमन्त्री लेखकको सचिवालयका चल्तापुर्जा बनेका छन्। अध्यागमनमा नक्कली भिजिट भिसा काण्ड दोहोरिएपछि पौडेल पनि चर्चामा आएका हुन्।
क्याटेगोरी : समाचारट्याग : #गणेशदत्त ओझा, #विमल पौडेल
तपाईको प्रतिक्रिया दिनुहोस