गृहमन्त्री लेखकले मार्सल पन्तलाई दोस्रोपटक ‘टिआईए’ पठाएर विमल पौडेललाई सचिवालयमा भित्र्याएको खुलासा

काठमाडौं। एकपटक भिजिट भिसा प्रकरणमा मुछिएका शाखा अधिकृत विमल पौडेललाई सचिवालयमा राखेको तथ्य सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखक समस्यामा परे। गृहमन्त्री लेखकलाई आपत्त परेपछि विमल रातारात ‘ब्याक डेट’मा विपद्मा ‘व्यवस्थापन’ भएका छन्। करिब ८ महिना अघि गृहमन्त्री रमेश लेखकको निजी सचिवालयमा रहेका विमलको रातारात अख्तियारको अनुसन्धानमा रहेका तिर्थराज भट्टराई कै शैलीमा सरूवा भएको पाइन्छ। गृहमन्त्री लेखकको सचिवालयमा रहेका शाखा अधिकृत मार्सल पन्तलाई दोहोऱ्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) अध्यागमन पठाएर सेटिङमा पोख्त विमललाई ल्याइएको हो।
करिब ८ महिना अघि गृहमन्त्री लेखकले निजी सचिव (उपसचिव) रहेका धर्मराज जोशीलाई अध्यागमन विभाग पठाएर बद्री तिवारीलाई निजी सचिवमा भित्र्याए। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय हुँदै भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा ३ वर्ष ‘मोज’ गरेर फर्किएका तिवारीलाई निजी सचिवमा भित्र्याएर जोशीलाई ‘आउट’ गरिएको थियो। जोशी आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएलगत्तै बाँकेको सिडिओ भएर गएका छन्।
पर्वते तिवारी गृहमन्त्री लेखकको निजी सचिव बन्नेवित्तिकै डेढ वर्ष अघि मात्र लिखत किर्ते तथा संगठित अपराधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएका विमललाई पन्तको ठाउँमा लगियो। फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने सेटिङ धन्दामा तत्कालीन अध्यागमन अधिकृत नरवीर खड्का समातिएपछि विमल पनि तानिएका थिए। जिल्ला अदालतबाट सफाइ पाएका पौडेले अहिले गृहमन्त्री रमेश लेखकको सचिवालयमा बसेर लाइन मिलाउन सक्रिय रहेको चर्चा थियो। अख्तियारदेखि गृहसचिव हुँदा महेश्वर न्यौपानेको सचिवालयमा बसेका पौडेल गृहमन्त्री लेखकको सचिवालयका चल्तापुर्जा कर्मचारी हुन्। अध्यागमनमा भिजिट भिसा काण्ड दोहोरिएपछि पौडेल गृहमन्त्री लेखकको आपत्त टार्न विपद्मा पुगेका छन्।

रमेश लेखक श्रममन्त्री हुँदा निजी सचिव रहेका पर्वते तिवारीको अन्डरमा बाग्लुङ्गे विमल पनि पुगे। विमललाई गृहमन्त्री लेखकको सचिवालय राखेर सेटिङमा उनका विश्वासपात्र शाखा अधिकृत मार्सल पन्तलाई दोहोऱ्याएर ‘टिआईए’ अध्यागमन पठाएको खुल्न आएको छ। अहिले गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख छविलाल रिजाल, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख रामचन्द्र तिवारी पनि पर्वत कै हुन्।
गृहमन्त्री लेखकको निजी सचिवालयका शाखा अधिकृत मार्सल पन्त मात्र होइन कर्मचारी प्रशासन शाखाका कार्यरत शाखा अधिकृत लोकेन्द्र विष्ट पनि दोहोऱ्याएर ‘टिआईए’ अध्यागमन पुगेको पाइन्छ। गणेशदत्त ओझासँगै कर्मचारी प्रशासन शाखामा बसेर काम गरेका अधिकृत विष्ट सेटिङमा दोहोऱ्याएर ‘टिआईए’ अध्यागमन पुगेका खुल्न आएको छ। २ महिना अघि मात्र विष्ट गृहको क.प्र.बाट तरमार्न अध्यागमन पुगेका हुन्। आफ्नो टिम अध्यागमन पठाएर विष्ट पनि त्यतै पुगेको खुल्न आएको हो।
अख्तियार अनुसन्धानमा रहेका सहसचिव तिर्थराज भट्टराईको कोर टिममा बसेर काम गरिरहेका दीपक पाण्डे, लक्ष्मी भुषाल, सरोज खनाल, कमलराज उपाध्याय, शम्भु ठगुन्ना, यज्ञराज अर्याल, भिष्मराज अर्याल, प्रभा अर्याल पनि दोहोऱ्याएर अध्यागमन जानेमा पर्छन्। दुर्गा थापा, नरबहादुर बुढालगायत आधा दर्जन बढी शाखा अधिकृत तेस्रोपटक ‘टिआईए’ अध्यागमन जाने शक्तिशाली कर्मचारी देखिएका छन्। विमलसँगै भिजिट भिसाको मुद्दा खेपेका शैलेन्द्र ढकाल पनि तेस्रोपटक अध्यागमन पुगेको ‘रेकर्ड’ छ।
मुना कुँवर, चञ्चल खड्का, हेमराज जोशी, ज्योत्सना भट्ट, गणेशबिक्रम शाह, टिकाराम निरौला, हरि पोखरेल, दिपेन्द्र शाही, रेश्मा बुढा, सीताराम शर्मा, सुन्दर वान्तवा, देवी चालिसे, लोकहरि थापा, कुमारी जानकी, सुरेन्द्र थापा, प्रमोद चन्द, नरेन्द्र कुँवर, सुवास पौडेल, दिपेश बिडारी, आनन्द विष्ट, चिरञ्जीवी जिसीलगायत झन्डै ४ दर्जन शाखा अधिकृतहरू पटकपटक ‘टिआईए’ अध्यागमन पुगेको पाइन्छ। दोहोऱ्याएर, तेहऱ्याएर अध्यागमन जाने मात्र होइन गृहमन्त्रीको निजी सचिवालयमा बसेर समेत तिर्थराज भट्टराईलाई ‘कम्पनी’ दिन पुग्नुले निकै शंका जन्माएको छ। पटक गणना गरेर त्यहिँ अनुसारको ‘आर्थिक शुभलाभ’ प्राप्त गरी ति व्यक्तिहरूलाई अध्यागमन अधिकृत बनाएर पठाइएको गृह मन्त्रालयमा चर्चा छ। यतातिर पनि अख्तियारको ध्यान जान जरूरी देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #धर्मराज जोशी, #बद्री तिवारी, #भिजिट भिसा, #मार्सल पन्त, #लोकेन्द्र विष्ट, #विमल पौडेल
तपाईको प्रतिक्रिया दिनुहोस