तीन अधिकारीको सरूवाले विवादमा तानिए गृहमन्त्री लेखक


काठमाडौं। भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धान गरिहेका बेला गृहमन्त्री रमेश लेखक एकपछि अर्को सरूवामा विवादमा पर्न थालेका छन्। उक्त प्रकरणको नेतृत्व गरिरहेका अख्तियारको प्रहरी महाशाखा प्रमुख हिमालयकुमार श्रेष्ठलाई त्यहाँबाट सरूवा गरेपछि गृहमन्त्री लेखकको भूमिका झनै शंकास्पद देखिएको टिप्पणी हुन थालेको छ।

अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय (टिआईए)मा छापा हान्ने सुईको पाएपछि गृहमन्त्री रमेश लेखकले प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईलाई रातारात गृह मन्त्रालय सरूवा गरेका थिए। लेखकले भट्टराईलाई गृह मन्त्रालय ल्याएकै भोलिपल्ट अख्तियारले ‘टिआईए’ अध्यागमन कार्यालयमा छापा हानेको थियो। अख्तियारले कार्यालयमा मात्र छापा हानेर गृह मन्त्रालयमा सरूवा भइसकेका सहसचिव भट्टराईलाई समेत नियन्त्रणमा लियो। अहिले उनी हाजिर जमानीमा छुटेका छन्। अख्तियारको फन्दामा परेका सहसचिव भट्टराईको सरूवालाई लिएर गृहमन्त्री रमेश लेखक प्रश्नको घेरामा छन्। विपक्षीले उनको राजीनामा मागेर सदन निरन्तर अवरोध गर्दै आएको छ।

भट्टराई मात्र होइन भिजिट भिसा प्रकरणमै मुद्दा खेपेका शाखा अधिकृत विमल पौडेललाई गृहमन्त्री लेखकको सचिवालयमा राखेको तथ्य पनि सार्वजनिक भयो। अदालतबाट सफाइ पाउनु अघि नै गृहमन्त्री लेखकको सचिवालयमा पुगेर र हालै जिल्ला अदालतबाट सफाइ पाएका पौडेलको विषयले पनि उनी निकै समस्यामा परे। सचिवालयमा रहेका विश्वासपात्र विमल पौडेलको विषयलाई लिएर गृहमन्त्री लेखकलाई आपत्त परेपछि उनलाई विपद्मा व्यवस्थापन गरियो। पौडेललाई सुटुक्क सरूवा गरेपछि गृहमन्त्री लेखकमाथि झन् शंका गर्न थालिएको छ। पौडेल अहिले बिदामा बसेका छन्। गृहमन्त्री लेखक उनको बचाउमा देखिन्छन्। सडकदेखि सदनसम्म गृहमन्त्री लेखकमाथि राजीनामा दिएर छानबिनलाई सघाउन दबाब बढिरहेको छ।

भट्टराई र पौडेलको सरूवा प्रकरण सेलाउन नपाउँदै गृहमन्त्री लेखकले अर्को चर्चित सरूवा गरेका छन्। गृहमन्त्री लेखकले गत १३ गते मंगलबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगालका प्रमुख हिमालय कुमार श्रेष्ठको सरूवा गरेको पाइएको छ। भिजिट भिसामाथि विस्तृत अनुसन्धानको नेतृत्व गरिरहेका डिआईजी श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरूवा गरेपछि गृहमन्त्री लेखकमाथि थप प्रश्न उठेको छ। शंका आशंका व्यक्त हुन थालेका छन्। गृहमन्त्री लेखकका पछिल्ला सरूवाहरू एकपछि अर्को गर्दै विवादमा तानिन थालेका हुन्। ‘बाघ कराउनु र पेटारी हराउनु’ कतै संयोग त छैन भन्ने आम जनमानसमा पर्न थालेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ