भूमि मन्त्रालयबाट गृह छिरेका सचिवलाई नफापेको गृह मन्त्रालय

काठमाडौं। भूमि मन्त्रालय हुँदै गृह छिरेका सचिवहरूलाई गृह मन्त्रालय फापेको पाइँदैन। पछिल्लो कालखण्डमा लोकदर्शन रेग्मीदेखि गोकर्णमणि दुवाडीसम्मलाई हेर्दा भूमिबाट छिरेका सचिवलाई गृह मन्त्रालय खासै फापेको देखिदैन। गृह प्रशासनलाई मालपोत जसरी नै चलाउन खोज्दा यस्तो अवस्थामा आएको विज्ञहरूको बुझाई छ।
भूमिबाट गृहमा छिरेका सचिवहरू लोकदर्शन रेग्मी, टेकनारायण पाण्डे र गोकर्णमणि दुवाडी गृह प्रशासन चलाउँदा विवादमा तानिएका छन्। संयोग यी तीनै जना सचिवहरू कांग्रेसी गृहमन्त्री भएका बेला गृह प्रवेश गरेका हुन्।
भूमि व्यवस्थापन सहकारी तथा गरिबी निवारण मन्त्रालय (तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालय)का सचिव लोकदर्शन रेग्मी अर्थ मन्त्रालय हुँदै गृहसचिव बनेर गएका थिए। कांग्रेसका बिमलेन्द्र निधि गृहमन्त्री हुँदा रेग्मीको गृह प्रवेश जुरेको थियो। त्यहिँ बेला आईजीपी काण्ड मच्चियो। तत्कालीन गृहसचिव रेग्मीको विवादस्पद भूमिकाका कारण तत्कालीन गृहमन्त्री निधिले राजीनामासम्म पुग्नु पर्ने स्थिति आएको थियो। रेग्मीले गृह प्रशासनलाई जथाभावी चलाउन खोज्दा गृह मन्त्रालय विवादको भुमरीमा फसेको थियो। गृहबाटै विभिन्न चलखेल गरेर रेग्मी मुख्यसचिव बनेका थिए। शक्ति केन्द्र रिजाउन सक्ने रेग्मी जनताको नजरमा भने विवादित र नरूचाइएका पात्र हुन्। रेग्मीका गृहमन्त्री निधिको पनि राजनीति ओरालो यात्रामा देखिन्छ। आईजीपी काण्डमा कांग्रेसलाई क्षति पुऱ्याएवापत एमालेबाट राजदूत पुरस्कार पाइरहेका छन्।
रेग्मीपछि भूमिबाट गृहसचिव बनेका टेकनारायण पाण्डेलाई पनि खासै गृह मन्त्रालय फापेको पाइँदैन। कांग्रेस कै बालकृष्ण खाँण गृहमन्त्री हुँदा गृह मन्त्रालय प्रवेश गरेका पाण्डे गृह प्रशासन चलाउन नजान्दा अहिले जेलमा ‘हावा’ खाइरहेका छन्। नक्कली भुटानी शरणार्थी काण्डमा तत्कालीन गृहसचिव पाण्डे प्रहरी हिरासत हुँदै अहिले पुर्पक्षका लागि थुनामा पुगेका हुन्।
पाण्डे गृहसचिव हुँदा सिडिओ सरूवामै आर्थिक चलखेल भएको ‘ओपन-सक्रेट’ जस्तै छ। विद्यालय निरीक्षकबाट सरकारी सेवामा छिरेका पाण्डेले सिडिओ सरूवालाई शिक्षक सरूवामा परिणत गरेपछि गृह प्रशासन भद्रगोल नै बनेको थियो।
आर्थिक प्रलोभनमा उनले विभूषण समेत व्यापारीलाई छानीछानी दिलाएका थिए। विभूषण शाखामै गएर व्यापारी नाम टाइप गर्न लगाएको र अन्तिममा त्यो नाम सूचीमा भए/नभएको एकिन गर्न समेत पुगेको गृहका अधिकारीहरू सुनाउँछन्। भूमिबाट छिरेका सचिव पाण्डेले गृहमा काण्डैकाण्ड मच्चाएर विवादित र बद्नाम भएर सरकारी सेवाबाट अवकाश पाइसकेका छन्। उनलाई गृहसचिव बनाएर लाने तत्कालीन गृहमन्त्री खाँणको समेत राजनीतिमा ग्रहण लागेको छ।
पछिल्लो समय भूमिबाट राष्ट्रिय तथ्याङ्क कार्यालयलाई ‘ट्रान्जिट’ बनाएर आएका गृहसचिव गोकर्णमणि दुवाडीलाई पनि गृह मन्त्रालय असहज बन्दै गएको छ। विपद्को कार्यक्रममा जेनेभा पुगेका गृहसचिव दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अहिले आपत्त नै खेलाएको छ। गृहसचिव दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी पठाएको भन्दै सात दिने स्पष्टीकरण सोधेको हो।
गृहसचिव दुवाडी सिडिओ खटनमा समेत विवादित र असफल देखिएका छन्। उपसचिवको दरबन्दीमा सहसचिव पठाउनेदेखि कार्यविधिविपरीत ‘क’ वर्गको जिल्लाबाट ‘क’ वर्ग कै जिल्लामा सिडिओ पठाउने भूमिकामा भूमिबाट आएका गृहसचिव दुवाडी अग्रस्थानमा देखिएका हुन्। २ महिना बढी कर्मचारीलाई अधिकारविहीन राख्न नपाइनेमा दुवाडीको प्रशासनिक नेतृत्व कमजोर हुँदा ५ महिनादेखि सहसचिवहरू नै गृह मन्त्रालयको जगेडामा हल्लिरहेका छन्।
गृहमन्त्री रमेश लेखक र सचिव दुवाडीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको कमाण्डर बनाएर पठाएका सहसचिव तिर्थराज भट्टराईलाई भिजिट भिसा काण्डले अख्तियार लागेको छ। अख्तियार स्रोतका अनुसार उक्त काण्डमा गृहसचिव दुवाडी पनि निगरानीमा छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा काण्डमा अध्यागमनमा छापा हान्ने सुईको पाएर मन्त्री लेखक र सचिव दुवाडीले हतारहतार प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई मन्त्रालय ल्याएर सुरक्षित गर्न खोजेका थिए। तर, अख्तियारले उनलाई ‘पानी’ पनि भन्न दिएन। भिजिट भिसा काण्डले गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरोध भइरहेको छ भने गृहसचिव दुवाडीको मुटुमा ढ्याङ्ग्रो ठोकेको हुनुपर्छ। भूमिबाट गृह छिरेका सचिव दुवाडी रेग्मी र पाण्डे जस्तै विवादित बनेका छन्। एकपछि अर्को ‘केस’मा विवादमा तानिन थालेपछि भूमिबाट छिरेका सचिवलाई कतै गृह मन्त्रालय पो नफापेको हो कि भन्ने चर्चा पनि चल्न थालेको छ।
क्याटेगोरी : समाचारट्याग : #गोकर्णमणि दुवाडी गृहसचिव, #टेकनारायण पाण्डे, #लोकदर्शन रेग्मी
तपाईको प्रतिक्रिया दिनुहोस