जिल्ला प्रशासन कार्यालयमा दरबन्दी राखेर सिंहदरबारमा अड्डा जमाउने उपसचिवहरू

काठमाडौं। विभिन्न जिल्ला प्रशासन कार्यालयमा दरबन्दी राखेर काजमा सिंहदरबार बस्ने उपसचिवहरूको काज फिर्ता भएको छ। त्यसरी काज फिर्ता हुने उपसचिवहरू भिमकान्त शर्मा, सन्ध्या सिग्देल, रामबहादुर केसी, ज्ञाननाथ ढकाल, नारायण खतिवडा र बेदनिधि खनाल रहेका छन्।
जिल्ला प्रशासन कार्यालय डोटी दरबन्दी रहेका भिमकान्त शर्मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा काजमा बसेका उपसचिव हुन्। जिल्ला प्रशासन कार्यालय रोल्पा दरबन्दी भएकी उपसचिव सन्ध्या सिग्देल, जिल्ला प्रशासन कार्यालय, दैलेख दरबन्दी भएका उपसचिव रामबहादुर केसी र जिल्ला प्रशासन कार्यालय, बैतडी दरबन्दी भएका उपसचिव बेदनिधि खनाल पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमै काजमा अड्डा जमाएर बसाएका थिए। त्यस्तै जिल्ला प्रशासन कार्यालय, जुम्ला दरबन्दी भएका उपसचिव नारायण खतिवडा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा काजमा रमाइरहेका थिए। उनीहरूलाई गृह मन्त्रालयले एकैपटक काज फिर्ता गरिदिएको हो। जिल्ला नगई सिंहदरबारमा मस्ती मारिरहेका उपसचिवलाई साविकको दरबन्दीमै काज फिर्ता पठाउन गृह मन्त्रालय बाध्य भएको छ।
गृह मन्त्रालयले सिंहदरबारमा डेरा जमाएर बसेका १६ शाखा अधिकृत र १५ जना नायब सुब्बालाई पनि एकैचोटी जिल्लातिर लखेटेको छ। उनीहरूको पनि साबिकको दरबन्दीमा काज फिर्ता भएको हो।
क्याटेगोरी : समाचारट्याग : #ज्ञाननाथ ढकाल, #नारायण खतिवडा, #बेदनिधि खनाल, #भिमकान्त शर्मा, #रामबहादुर केसी, #सन्ध्या सिग्देल
तपाईको प्रतिक्रिया दिनुहोस