डेढ वर्ष वित्त आयोग बसेर बाहिरिएका सचिव भरतमणि सुवेदी फेरि फर्किए

काठमाडौं। डेढ वर्ष बढी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग बसेर बाहिरिएका सचिव भरतमणि सुवेदी जागिरे जीवनको उत्तरार्धमा वित्त आयोग नै फर्किएका छन्। वित्त आयोगका सचिव महादेव पन्थलाई निर्वाचन आयोग पठाएर सुवेदीलाई निर्वाचन आयोगबाट वित्त आयोग फर्काइएको हो।
गोकर्णमणि दुवाडी वित्त आयोगको सचिवबाट हटेपछि भरतमणि सुवेदीले २०७८ मंसिर १५ गतेदेखि २०८० साउन ८ गतेसम्म करिब १ वर्ष ८ महिना वित्त आयोगको सचिवको भूमिकामा काम गरेका थिए। शिक्षा सेवा, पुरातत्त्व समूहका सहसचिव हुँदै सचिवमा बढुवा भएका सुवेदी पाँच वर्ष सचिव चलाएर घर जाने बेलामा फेरि वित्त आयोगमै आइपुगेका छन्।
निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेपछि सुवेदी आयोगबाट हटाइएका हुन्। करिब साढे ६ महिना जागिर बाँकी रहेका सुवेदी प्रयाप्त वित्त नै नभएको वित्त आयोगमा पुगेका छन्। यस अघि लामो समय वित्त आयोगमा टिक्ने सचिवमा उनी पर्छन्।
सुवेदी लुम्बिनी प्रदेशको प्रमुख सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव, राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगको सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदै निर्वाचन आयोग हुँदै वित्त आयोग आइपुगेका हुन्।
क्याटेगोरी : समाचारट्याग : #निर्वाचन आयोग, #भरतमणि सुवेदी, #राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग
तपाईको प्रतिक्रिया दिनुहोस