सहकारी प्राधिकरणबाट ‘हराएका’ राष्ट्रपति पौडेलका भतिज अनिलराज युवा स्वरोजगार कोषमा भेटिए

काठमाडौं। सहकारी नियमन प्राधिकरणबाट सम्पर्कविहीन भएका राष्ट्रपति रामचन्द्र पौडेलका भतिज अनिलराज पौडेल युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा भेटिएका छन्। लोक सेवा आयोगले सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदमा अन्तर्वार्ताका लागि खोज्दा फेला नपरेका अनिलराज युवा स्वरोजगार कोषमा भेटिएका हुन्। उनलाई गत साउन १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा नियुक्त गरेको पाइएको हो। राष्ट्रपति पौडेलका भतिज अनिलराजलाई उनी निकट युवा तथा खेलकुदमन्त्री एवं कोषका अध्यक्ष समेत रहेका तेजुलाल चौधरीको जोडबलमा युवा स्वरोजगार कोषको उपाध्यक्ष बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बतायो।
राष्ट्रपति पौडेलका भतिज अनिलराज राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदकको अन्तर्वार्ता प्रक्रियामा सहभागी नहुँदा नियुक्ति प्रक्रिया नै लामो समय धकेलिएको थियो। उनी कतै फेला नपरेपछि लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नेतृत्वको सिफारिस समितिले सूचना नै निकालेर खोजी गरेको थियो। सहकारी नियमन प्राधिकरणको अध्यक्ष सिफारिस समितिले सार्वजनिक सूचना नै निकालेर खोजी गर्दा पनि नभेटिएका राष्ट्रपतिका भतिज अनिलाज युवा स्वरोजगार कोषमा फेला परेका हुन्।
राष्ट्रपति पौडेलका भतिजा अनिललाई ठाडो निवेदनका आधारमा तत्कालीन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्त गर्न खोजेका थिए। उक्त विषय सार्वजनिक भएपछि उनी ‘ब्याक’ भए। त्यसपछि सहकारी नियमन प्राधिकरणको अध्यक्षमा आवेदन हालेर नियुक्तिका लागि दौडधुपमा लागेका थिए। अन्तर्वार्ताको चरणमा पुगेपछि एकाएक लापत्ता भएका अनिलराज युवा स्वरोजगार कोषमा भेटिएका हुन्।
सहकारी विकास बोर्डको वरिष्ठ अधिकृत (निर्देशक) तहको जागिरबाट स्वेच्छिक अवकाश लिएका राष्ट्रपति पौडेलका भतिज अनिलराज समाज कल्याण परिषद्को उपाध्यक्ष बन्न नसके पनि युवा स्वरोजगार कोषमा खुसुक्क नियुक्ति लिन सफल भएका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक नियुक्तिको निर्णय सुनाउने मिति तोकेकाले त्यसपछि नियुक्ति खान उनले सहकारी नियमन प्राधिकरणको नियुक्तिमा अर्घेल्याइ गरिरहेको चर्चा चलेको थियो। उक्त नियुक्तिलाई सर्वोच्चले सदर गरेपछि अनिलराजको सपना चकनाचुर भएको थियो। तर, उनले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्ष पड्काइ छाडेको पाइएको छ। अन्तर्वार्ताको चरणमा प्रवेश गरेपछि मैदान छाडेर हराएका व्यक्तिलाई सरकारले कालोसूचीमा राखेर सरकारी नियुक्तिका लागि अयोग्य घोषणा गर्नुपर्ने हो। तर, सरकारले ‘भगौडा’ अनिलराजलाई उल्टै आकर्षक सरकारी र राजनीतिक नियुक्ति दिलाएको पाइएको छ। उक्त कदमले सरकारको सुशासन हावादारी साबित भएको देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #अनिलराज पौडेल, #युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष अनिलराज पौडेल, #राष्ट्रपति रामचन्द्र पौडेल, #राष्ट्रिय सहकारी नियमन प्राधिकरण, #समाज कल्याण परिषद् उपाध्यक्ष
तपाईको प्रतिक्रिया दिनुहोस