जीआईजेडको निलो नम्बरप्लेटको गाडी समन्वय महाशाखा प्रमुख भिम सापकोटाको घरमै राखेर प्रयोग गरेको खुलासा


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख भिम प्रसाद सापकोटाले जर्मन सरकारको सहयोग निकाय जीआईजेड (GIZ) को निलो नम्बरप्लेट भएको गाडी व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्दै आएको खुलेको छ। मन्त्रालयभित्र तथा जीआईजेडका स्रोतले पुष्टि गरेअनुसार, सो गाडी (नम्बर १८–०–६८२) सापकोटाले आफ्नो घरमै राखेर विभिन्न भेटघाट तथा निजी कार्यहरूमा प्रयोग गरेका छन्।

सापकाेटाकाे घरमा राखेको गाडी 

जीआईजेडका कर्मचारीहरूका अनुसार उक्त टक्सन गाडी हाम्रो कार्यक्रमका लागि छुट्याइएको हो। सापकोटाले पनि आफूले प्रयोग गरेको स्वीकार गर्दै भनेका छन्, “केही समयअघि मैले प्रयोग गरेको हुँ, टिम लिडर नभएको अवस्थामा मैले उपयोग गरेको थिएँ; अहिले लिडर आइसकेपछि गाडी फर्काइएको छ।” सापकोटाले घुमाउरो रूपमा मन्त्रालयमा धेरै गाडी जलाएको कुरालाई समेत छोएर अब उक्त गाडी सेतो नम्बर प्लेट बनाउने विषयमा सोच भएको बताएका छन्।

सापकोटाले आफू जोगिन उक्त गाडी हालै फिर्ता गरेको बताए पनि विश्वस्त स्रोतहरुले बताए अनुसार केही दिन अगाडि मात्रै सोही गाडी चढेर सापकोटा त्रिभुवन विश्वविद्यालय गएका थिए । अहिले पनि उक्त गाडी सापकोटाको घरमै छ। सुशासनको नारा दिएर आन्दोलन गरेकाे जेन जीले यस्तो अपराध गर्नेमाथि तत्काल कारबाही गर्नु पर्छ । 

कुनै पनि निलो नम्बरप्लेटको गाडी सरकारी कर्मचारीले घरमा राखेर व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नु ऐनविपरीत तथा अनुचित मानिन्छ। यसप्रकारको दुरुपयोग जुनसुकै कर्मचारीले गरे तापनि कारबाहीको दायरामा ल्याउनुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यश विषयमा तत्काल छानबिन गर्ने र तथ्य पत्ता लगाइ कारबाहिकाे दायरामा ल्याउनु पर्छ ।

जीआईजेडका एक वरिष्ठ कर्मचारीले भनेका छन्, “हाम्रा गाडी कुनै पनि कर्मचारीले घरमा लैजान वा व्यक्तिगत रूपमा प्रयोग गर्न पाउँदैनन्,” र यसरी कसरी गाडी सापकोटाको हातमा पुगेको भन्ने प्रश्न अहिले सबैको चासोको विषय बनेको छ। मन्त्रालयका एक अधिकारीले भनेअनुसार तत्कालीन सचिव डा. रोशन पोखरेलको बेलामा सापकोटाले उक्त गाडी हात पारेको हुनसक्ने अनुमान गरिएको छ। सापकोटाले एक पटक आफैं गाडी चलाएर मन्त्रालयमा ल्याएको भन्ने जानकारी पनि अधिकारीहरूले दिएका छन्।

पूर्व प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठले भनेका छन्, निलो नम्बरप्लेटको गाडी सरकारी कर्मचारीको घरमा राख्नु सरासर भ्रष्टाचार हो । सरकारले गाडी कुनै निकायबाट हस्तान्तरण पाउँदा पनि अर्थ मन्त्रालयको अनुमति र आधिकारिक प्रक्रिया पूरा हुनुपर्छ, न कि कागजात नबनाई व्यक्तिगत रुपमा राख्ने र प्रयोग गर्ने।

यस्ता अनियमितताको इतिहास पनि छ — २०६४ सालमा फ्रेन्स प्रोजेक्टबाट हस्तान्तरण भएका केही गाडी तथा उपकरणहरूमा कागजी मिलेमतो गरी बरबजाएको फेला परेपछि सम्बन्धितहरू पक्राउ परेका थिए। त्यो घटनापछि यसै किसिमको यो दोस्रो घटना भएको बताइन्छ। केही स्रोतले कम उमेरमै समन्वय महाशाखाको नेतृत्वमा पुगेका सापकोटालाई छिटो शक्ति आर्जन गर्ने प्रवृत्ति भएको उल्लेख गरेका छन् ।

उक्त घटनासँगै सापकोटाले ग्लोबल फन्डका परियोजना हेर्न नियुक्त गर्ने क्रममा पनि कर्तव्यविमुख व्यक्तिकाे नियुक्ति मिलेमतोमा गरेको आरोपसमेत समाजमा उठिरहेको छ। विगतमा आइएसीको नक्कली सर्टिफिकेट बनाएर चिकित्सक बनाएको आरोपमा कारबाहीमा परेका गजानन्द भण्डारी अहिले सापकोटाको संरक्षणमा युएनडिपीमा रहेका छन् । यदि स्वास्थ्य सचिव विकास देवकोटाको मिलेमतो छैन भने तत्काल सापकोटालाई कानुनी कारबाही गर्नुपर्छ ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ