सचिव बढुवामा पाँच बल्ड्याङ खाएका दुवाडी मुख्यसचिवमा उछिट्टिए
समाचार टिप्पणी
काठमाडौं। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुख्यसचिवमा सुमनराज अर्याललाई बढुवा गरेसँगै गोकर्णमणि दुवाडीको च्याप्टर क्लोज भएको छ। हालका मुख्यसचिव एकनारायण अर्यालसँगै मंगलबार घर जान लागेका सचिव दुवाडी बरियतामा पहिलो नम्बरमा थिए। तर, गृहसचिवको हैसियतमा जेन-जी आन्दोलन दबाउन भूमिका खेलेका दुवाडी उछिट्टिएपछि दोस्रो नम्बरका रक्षा सचिव सुमनराज अर्यालले मुख्यसचिवमा बाजी मारेका छन्। सचिव बन्दा पाँचपटक बल्ड्याङ खाएका दुवाडी मुख्यसचिवमा पनि नराम्रोसँग उछिट्टिएका हुन्।
सहसचिवबाट सचिवमा बढुवा हुने बेलामा पहिलो नम्बरमा रहेका दुवाडीलाई उनीपछिका सहसचिवहरू मानबहादुर विक, विष्णुप्रसाद नेपाल, मधुकुमार मरासिनी, वीरबहादुर राई सचिवमा बढुवा भएका थिए। चन्द्रमान श्रेष्ठलाई विशेष अदालतले सफाइ दिएपछि उनले पनि दुवाडीलाई सचिव बढुवा हुनबाट रोके। यसरी छैटौं प्रयासमा सचिव भएका दुवाडीको मुखमा आएको मुख्यसचिव पद पनि नराम्रोसँग चिप्लिएको छ।
दुवाडीको भाग्यमा मुख्यसचिव भएको भए भिजिट भिसा प्रकरणपछि सरूवा मागेर गृह छाडेर जाने थिए। मधेश प्रदेशको प्रमुख सचिव हुँदा साइकल खरिदमा ‘बालबाल’ बचेका दुवाडीलाई भूमिबाट गृहसचिव बनेपछि मुख्यसचिवको प्रवल दाबेदार रूपमा हेरिएको थियो। तर, त्यहिँ गृहसचिव उनका लागि मुख्यसचिव बन्नका लागि अभिसाप बन्यो।
जेन-जी आन्दोलनमा जोडिएका दानबहादुर कार्की आईजीपी र विश्वराज अधिकारी डिआईजी बनेपछि दुवाडीको मनोबल बढेको चर्चा व्यापक थियो। उनलाई मुख्यसचिव बनाउने गिरोह सक्रिय नभएको पनि होइन। दुवाडीले मुख्यसचिव बन्न अन्तिम समयसम्म पनि निकै दौडधुप गरेका थिए। उनलाई मुख्यसचिव बनाउ ठूलै गिरोह लागेको थियो। तर, प्रधानमन्त्री सुशीला कार्की र उनको टिमले दुवाडीलाई ‘इग्नोर’ गरिदिएपछि दुई नम्बरमा रहेका काठमाडौं जोरपाटीका रैथाने सुमनराज अर्यालले मुख्यसचिव बाजी मारेका हुन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव हुँदा दुवाडी ठूलो ‘नेक्सस’ बनाएका थिए। मुख्यसचिव बन्न सम्पूर्ण अस्त्र प्रयोग गरेका कृष्णहरि पुष्करले भने जस्तै ‘शासकीय सहजकर्ता’ उनका लागि दाहिना थिए। तर, ‘जेन-जी’ सरकारका कारण दुवाडीका शासकीय सहजकर्तालाई असहज स्थिति बन्यो। त्यसैका कारण दुवाडीको मुखमा आएको मुख्यसचिव फुत्किएको छ।
२०५४ साल साउनमा सरकारी सेवामा प्रवेश गरेका दुवाडी १८ वर्ष काम गरेर घर जान लागेका हुन्। २०६७ सालमा सामान्य प्रशासन समूहको आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव बनेका दुवाडी एक वर्ष नपुग्दै २०६७ फागुनमै खुला प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। २०७७ मंसिर १० गते सचिवमा बढुवा भएका दुवाडी मुख्यसचिव हुनबाट उछिट्टिएपछि मंगलबारबाट सेवानिवृत्त हुँदैछन्।
२०३२ साल मंसिर १९ गते धादिङ जिल्लामा जन्मिएका दुवाडी ३ वर्षै मुख्यसचिव चलाउने उमेरका थिए। तर, गौरीबहादुर कार्कीको नेतृत्वमा गठित ‘जेन-जी’ विद्रोहमाथि सरकारी दमनबारे जाँचबुझ आयोगले अनुसन्धान र बयान चलाउने भएपछि उनी मुख्यसचिव नचलाउने अवस्थामा पुगेका हुन्। दुवाडी मुख्यसचिव नबनी मुख्यसचिव एकनारायण अर्यालसँगै मंगलबार ५ वर्ष सचिव चलाएर घर जानेछन्।
क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णमणि दुवाडी


तपाईको प्रतिक्रिया दिनुहोस