लम्सालले राजदूत चलाउँदा सचिव सुवेदीलाई किन जिम्मेवारी दिइएन?
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक सचिवलाई साढे ४ वर्षदेखि जगेडामा राखिएको छ। दिमाग चल्छ, कलम समात्ने हात चल्छ, कागजी निर्णय पनि गराउन सक्छन्, फरक क्षमता भएका नेपालसँग निर्णय गर्न सक्ने क्षमता छ। तर, उनलाई साढे ४ वर्षदेखि जगेडामा राखिएको हो। उनी हुन् खगेन्द्रप्रसाद नेपाल।
सचिव नेपालको दुबै खुट्टा चल्दैन। खुट्टाबाहेक सबै चल्छ। तर, उनलाई कुनै काम र जिम्मेवारी नदिई राज्यले साढे ४ वर्षदेखि राखिरहेको छ। सचिव नेपाल ५ वर्ष सेवा अवधि पूरा गरेर अहिलेका मुख्यसचिव सुमनाराज अर्यालभन्दा दुई दिनपछि (२०८३ असार २७ गते) घर जाँदैछन्। सचिवमा नियमित बढुवा गरेर जिम्मेवारी दिँदा हुने नेपाललाई विशेष दरबन्दी सिर्जना गरी सचिवमा बढुवा गरेर प्रधानमन्त्री कार्यालयको जगेडामा राखिएको हो। बढुवा खानेहरूले खुराफात गरेर उनलाई जगेडामा पुऱ्याएका हुन्।
नेपालले केही गर्न नसक्ने भए उनलाई ‘गोल्डेन ह्यान्डसेक’ दिएर सरकारी सेवाबाट अवकाश दिनुपर्थ्यो। राज्यको स्रोत साधन अनावश्यक प्रयोग हुँदैन थियो। तर, नेपाललाई सम्मानजनक बहिर्गमन नगराएर राज्यले नै उनीमाथि अन्याय गरेको हो।
त्यस्तै अवस्थामा रहेका इजिप्टका राजदूत सुशीलकुमार लम्सालले तोकिएको जिम्मेवारी राम्रैसँग पूरा गरिरहेका छन्। दिमागी हिसाबले लम्साल परराष्ट्रका अहिलेका ‘क्याडर’भन्दा अब्बल छन्। उनको कलम पनि राम्रै चल्छ। लम्सालले पूरा समय परराष्ट्र सचिव चलाउने देखिन्छ। के उनलाई पनि विशेष दरबन्दी सिर्जना गरेर जगेडामा थन्क्यादिने हो?
सचिव भनेको कम्फू कराते खेल्न जाने पद होइन। खुट्टाबाहेक सबै चल्ने लम्सालले जस्तै नेपालले पनि काम गर्न सक्छन्। उनलाई पनि राज्यले उचित जिम्मेवारी दिनुपर्छ। एउटा कर्मचारीलाई राज्यले सके जिम्मेवारी दिएर काममा लगाउनु पर्छ। जिम्मेवारी र काम नै नदिई राख्नु भनेको अन्याय हो। त्यसैले सचिव नेपाललाई उचित जिम्मेवारी दिन मुख्यसचिव सुमनराज अर्यालले ध्यान दिन जरूरी छ।
क्याटेगोरी : समाचारट्याग : #खगेन्द्रप्रसाद नेपाल, #सुशीलकुमार लम्साल



तपाईको प्रतिक्रिया दिनुहोस